
काठमाडौं । गत साउन ३० गते प्रहरीमा सूचना आयो, ‘गोंगबु मित्रनगरस्थित एक होटलमा शव सडेको अवस्थामा छ ।’
उक्त जानकारी कञ्चन कोशी होटल हाउसका सञ्चालकले दिएका थिए ।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुग्दा शव होटलको कोठा नम्बर २०१ मा पलङको बाकस (बेड बक्स) भित्र फेला पर्यो ।
महिलाको अनुहार ढाकिएको अवस्थामा शव भेटिएको थियो । घटनाको प्रकृति हेर्दा हत्या गरेर शव त्यहाँ राखिएको हुनसक्ने शंका गर्न प्रहरीलाई कुनै गाह्रो परेन । तर, तत्कालै मृतकको पहिचान हुन सकेन ।
त्यसपछि प्रहरीले शव पहचान निम्ति काठमाडौँ उपत्यकाभरि मानिस हराएको सम्बन्धमा आएका निवेदनबारे सर्कुलेसन गरेको थियो ।
गोंगबुमा शव फेला पर्नुभन्दा दुई दिनअघि, बूढानिलकण्ठ–२ का मोतिराम विश्वकर्माले आफ्नी दिदी २७ वर्षीया ललिता विक हराएको भन्दै प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएका थिए ।
विवाहित ललिता हराएकोबारे जानकारी पाएपछि प्रहरीले उनका श्रीमान् २८ वर्षीय सन्तोष सेञ्चुरीलाई पनि बयानका लागि बोलायो । तर, उनले श्रीमती सम्पर्कमा नभएको दाबी गर्दै आफैँ खोज्न सक्रियता देखाए ।
मोतिरामसहित उनी ललिताले काम गर्ने स्थानसम्म पुगेका थिए ।
तर, दुई दिनपछि मित्रनगरको होटलमा शव फेला परेपछि मोतिरामलाई सनाखतका लागि बोलाइयो । उनले शव आफ्नी दिदी ललिता विककै भएको पुष्टि गरे ।
तर, कसले, किन हत्या गर्यो भन्ने खुलेको थिएन । त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा घटनामा श्रीमान् सन्तोषकै संलग्नता शंकास्पद देखिएपछि उनलाई पक्राउ गर्यो ।
कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसीका अनुसार सेन्चुरीलाई शुक्रबार पर्साबाट पक्राउ गरिएको हो ।
एसपी जीसीले भने, “ललिता हराएको निवेदनपछि सन्तोष आफैँ खोजीमा हिँडेको देखिन्छ । तर, अनुसन्धानका क्रममा उनको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेका हौँ । उनले हत्या स्वीकार गरिसकेका छन् ।”
किन गरे हत्या ?
ललिता र सन्तोषबीच करिब दुई वर्षअघि विवाह भएको थियो ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, सन्तोषको अर्को युवतीसँग प्रेम सम्बन्ध रहेको कुरा ललिताले थाहा पाएपछि उनीहरूबीच दाम्पत्य जीवन तनावपूर्ण रह्यो । त्यसपछि आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्ने तयारीसमेत भइरहेको थियो ।
गत साउन २७ गते सन्तोषले ललितालाई ‘सम्बन्ध विच्छेदबारे अन्तिम कुरा गर्ने’ बहानामा गोँगबु बोलाए । उनीहरू होटल पुगेका थिए । त्यही दिन दिउँसो करिब ४ बजे सन्तोषले ललिताको हत्या गरी भागेका थिए । अनुसन्धानमा खुलेझैँ उनले होटल बुकिङ गर्दा फेक नाम र नम्बर प्रयोग गरेका थिए ।
\
हत्या भएको भोलिपल्ट श्रीमती हराएको भन्दै मोतिरामसँगै खोज्न निस्किएका सन्तोष २९ गतेदेखि भने मोबाइल स्विच अफ गरी भागेका थिए । उनी पर्सा पुगेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गर्यो ।
बयानका क्रममा उनले भनेका छन्, “सुरुमा राम्रै कुरा भएको थियो । पछि वादविवाद बढ्दा होटलकै टाबेलले अनुहार छोपेर हत्या गरेको हुँ । हत्या गर्ने कुनै पूर्वयोजना थिएन । त्यसपछि कोठाको भाडा तिरेर भागेको हुँ ।”