
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीको दुईदिने नेपाल भ्रमणको पहिलो दिन दौडधुपमा बितेको छ । आइतबार (भदौ १) बिहान करिब ९ बजे काठमाडौं आइपुगेका उनी दिनभर प्रमुख दलका शीर्ष नेतालाई भेट्न दौडधुपमै व्यस्त बने । साँझ भने नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी भएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका सहसचिव तथा दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारीले स्वागत गरेका थिए ।
काठमाडौं आइपुगेलगत्तै भारतीय विदेशसचिव मिश्रीले पहिलो शिष्टाचार भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका थिए । यो भेट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो ।
“प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेशसचिव विक्रम मिश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिनुुभएको छ । प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यवाद दिनुुभएको छ,” प्रधानमन्त्री ओलीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले भदौ ३१ देखि असोज १ गतेसम्म गर्ने भारत भ्रमणको तयारीका लागि विदेशसचिव मिश्री नेपाल आएका थिए । सोहीअनुसार उनले भारतीय प्रधानमन्त्रीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्रीलाई भेटेपछि भारतीय विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलेसँग शिष्टाचार भेट गर्न शीतलनिवास पुगेका थिए । भेटमा राष्ट्रपतिले भारतले लिएको ‘नेइबर फर्स्ट’ नीतिको प्रशंसा गर्दै दुई देशको विशिष्ट सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।
राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेशचन्द्र चालिसेका अनुसार, भेटमा राष्ट्रपतिले भारतीय विदेश नीतिको प्रशंसा गरेका थिए ।
“राष्ट्रपतिज्यूले भारतको ‘नेइबर फर्स्ट’ नीतिको सराहना गर्दै दुई देशबीचको इतिहादेखि रहीआएको विशिष्ट सम्बन्ध अझ उचाइमा जाने विश्वास व्यक्त गर्नुभएको छ,” डा. चालिसेले बाह्रखरीसँग भने, “शिष्टाचार भेट भएकाले धेरै विषय र मुद्दामा प्रवेश हुने कुरा भएन ।”
उनका अनुसार, भारतीय विदेशसचिव मिश्रीले पनि भारत नेपालको विकासमा संलग्न हुँदै आएको भन्दै भोलिका दिनमा त्यसलाई निरन्तरता दिने पक्षमा रहेको बताएका थिए ।
“हाम्रो सम्बन्ध विशिष्ट र ऐतिहासिक पनि छ, भारत सरकार यो सम्बन्ध निरन्तर राख्न चाहन्छ,” विदेशसचिवको भनाइ उद्धृत गर्दै डा. चालिसेले भने, “नेपालको विकासमा भारत हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ ।”
भारतीय विदेशसचिव मिश्रीले आइतबार नै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । मिश्रीलाई आफ्नो निवासमा भेट्न पाउँदा खुसी लागेको प्रतिक्रिया देउवाले दिएका छन् ।
“हाम्रो छलफल पारस्परिक विश्वास, सद्भाव र यस क्षेत्रको समृद्धि र स्थिरताको लागि साझा आकांक्षाद्वारा निर्मित घनिष्ठ र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो,” भेटपछि कांग्रेस सभापति देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।
भारतीय विदेशसचिव मिश्रीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि आइतबार दिउँसो शिष्टाचार भेटवार्ता गरेका थिए । भेट खुमलटारस्थित प्रचण्ड निवासमा भएको थियो ।
“भेटमा नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको छ,” भेटवार्तापछि प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेट्न भारतीय विदेशसचिव सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए ।
“हामीले भारत–नेपाल सम्बन्धको सबै पक्षबारे छलफल गर्यौं, जसमा हाम्रो कनेक्टिभिटी, व्यापार र विकास सहयोगलाई सुदृढ पार्ने कुरामा ध्यान केन्द्रित गरिएको थियो,” भेटपछि परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन्, “नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको सम्मान गर्दछ र द्विपक्षीय सम्बन्धको निरन्तर वृद्धिको अपेक्षा गर्दछ ।”
भारतीय विदेशसचिव मिश्रीसँग परराष्ट्रमन्त्री राणाले नेपाल र भारतबीचको कनेक्टीभिटीमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।
भेटमा कनेक्टिभिटीले नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रूपमा सहयोग पुग्ने बताउँदै उनले दुवै तर्फको पर्यटन एवं आर्थिक क्रियालापहरूका यसले लाभ पुग्ने बताएकी थिइन् । यसका लागि रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाई मार्गहरूको पनि थप विस्तार गरी हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिएकी थिइन् ।
परराष्ट्रमन्त्री राणाले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरूबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउने विषयमा सहयोग गर्न पनि आग्रह गरेकी थिइन् । साथै, नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा उनको जोड थियो ।
भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामहरूको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरूमा कुराकानी भएको थियो ।
सो भेटका क्रममा मन्त्री राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्त्व दिँदै आएको बताउँदै नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका रूपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रहरूमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएकी थिइन् ।
त्यस अवसरमा मन्त्री राणाले दुई देशका बीचमा पछिल्ला समयमा कनेक्टिभिटी बढाउने क्रियाकलापहरूका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक ‘इंगेजमेन्ट’ बढेकामा खुसी व्यक्त गरेकी थिइन् ।
मन्त्री राणाले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीको फाप्ला क्रिकेट स्टेडियमको निर्माणको तदारुकतामा पनि जोड दिएकी थिइन् ।
भेटका क्रममा मन्त्री राणाले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिएकी थिइन् । साथै, पछिल्लो समयमा प्लाईवुड, स्टिल लगायतका उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दाहरू र बीआईएस मापदण्ड तथा यसमा परिरहेका कठिनाइका बारेमा पनि कुरा उठाएकी थिइन् ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभका विषयमा पनि आगामी दिनमा थप कार्यान्वयनका साथ अघि बढ्न तथा बाढी र डुबान नियन्त्रणका बारेमा आपसमा सहकार्यका साथ अघि बढ्न सकिने विषयमा मन्त्री राणाले जोड दिएकी थिइन् ।
राजनीतिक भेटवार्ता सकिएपछि भारतीय विदेशसचिव मिश्री नेपाल–भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुन होटेल सोल्टी पुगेका थिए । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव अमृतबहादुर राई र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेशसचिव मिश्रीले गरेका थिए ।
बैठकमा नेपाल र भारतबीच सबै सम्बन्धको समीक्षा गरिएको थियो । बैठकमा कनेक्टिभिटी, व्यापार र विकास सहयोगलाई विशेष प्राथमिकता दिई छलफल भएको थियो ।
“छलफलमा कनेक्टिभिटी, व्यापार र विकास सहयोग लगायतका मुद्दाहरू समेटिएका थिए, जसले दुई देशहरूबीचको मजबुत सम्बन्धलाई जोड दिएका थिए,” बैठक सकिएपछि परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले बैठकमा नेपाल–भारत सहकार्यमा भएको प्रगतिको समीक्षा गरिएको बताएको छ । भारतीय दूतावासले भनेको छ, “उहाँहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने पहलहरू र पारस्परिक हितका अन्य विषयहरूमा बृहत् छलफल गर्नुभयो ।”
दुईदिने नेपाल भ्रमणको सिलसिलामा भारतीय विदेशमन्त्री मिश्री आइतबार बिहान काठमाडौं आइपुगेका थिए । उनी भोलि (सोमबार) स्वदेश फर्कने कार्यक्रम छ ।