
काठमाडौं । ७ अक्टोबर २०२३ अर्थात् विक्रम सम्वत् २०८० असोज २० गते । शनिबारको दिन थियो । हमास नियन्त्रित गाजापट्टीबाट मोटरसाइकल, गाडीसहित हुल बाँधेर हतियारधारी समूह इजरायलको भूमिमा प्रवेश गरे ।
इजरायल र गाजापट्टीको सीमा क्षेत्रभन्दा दुई माइल टाढा नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि पुगेका थिए, १७ विद्यार्थी ।
हुन त, त्यस कार्यक्रममा त्यतिबेला जम्मा २६५ जना नेपाली विद्यार्थीको समूह इजरालयका विभिन्न क्षेत्रमा पुगेका थिए ।
त्यसमध्ये सुदूरपश्चिम विश्वविद्यालयका १७ जना आलुमिम किबुजक्षेत्रमा थिए । उनीहरूलाई लागेकै थिएन त्यहाँ यस्तो हुँदैछ भन्ने । तर बिहानै एकाएक हतियारसहित प्रवेश गरेका हमासका हतियारधारी समूहले इजरायलको भूमिमा प्रवेश गरेर देखे जतिलाई गोली हान्न थाले ।
उनीहरूको आक्रमणबाट १० नेपालीको ज्यान गयो । ६ जना घाइते भए । एकजना अपहरणमा परे । घाइते अवस्थामा रहेका चारजना गम्भीर थिए । दुईजना सामान्य थिए ।
अहपरणमा परेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै केही पत्ता लागेको छैन ।
त्यही दिन घाइते विपिनलाई हमासका हतियारधारी समूहले अपहरण गरी गाजापट्टी पुर्याएको पुष्टि भए पनि त्यसपछि कतैबाट केही जानकारी पाइएको छैन ।
उक्त घटना भएको ६७० दिनपछि नेपाली पत्रकारको टोली आलुमिमस्थित उक्त क्षेत्रमा पुग्दा पनि सुनसान थियो । दुईवटा ठूला ठूला गाइफार्म थिए । ६७० दिनअघि भएको उक्त घटनालाई त्यहाँ कसैले पनि बिर्सन सक्दैनन् ।
सकुन् पनि कसरी ?
त्यही दिनदेखि त्यसका आसपासमा दैनिक बमबारी भइरहेको छ । गाजापट्टी इजरायलले लगातार आक्रमण गरिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, गाजापट्टीमा त्यसयता ६० हजार नागरिकको ज्यान गइसकेको छ ।
तर, इजरायली पत्रकारहरूका अनुसार त्यतिको संख्यामा नभए पनि ३५ देखि ४० हजारसम्म गाजापट्टीका नागरिकको पनि ज्यान गइसकेको छ ।
इजरायलले गाजापट्टी पूर्ण नियन्त्रणमा लिन दैनिक बमबारी गरिरहेको छ । इजरायलस्थित आई ट्वान्टीफोर न्युज प्रमुख अली वाक्डले नेपाली पत्रकारहरूसँगको कुराकानीमा ३५ हजार बढी पछिल्लो युद्धमा मारिएको बताए ।
गालिड हनवाड १७ नेपाली रहेको स्थानका एक कृषि व्यवसायी हुन् । उनको ठूलो गाई फार्म छ, उनले एभोकाडो खेती पनि गर्छन् ।
अक्टोबर ७– २०२३ को घटनाका उनी प्रत्यक्षदर्शी पनि हुन् ।
१७ नेपाली विद्यार्थी उनको खेतीमा ‘लर्निङ एन्ड अर्निङ’ कार्यक्रममा थिए ।
‘‘त्यसदिन पहिले जब गाजाबाट रकेटहरू आउन थाले, सबैजना आश्रयस्थल, अर्थात् बंकरमा भागे । मेरो परिवार, मेरा सात सन्तानसहित, नजिकैको हाम्रो घरमा लुके । त्यो बिहान म मेरो छोरासँग बाहिर निस्कँदा, गाजाबाट गोलीबारीको आवाज सुनेका थियौँ,” उनले भने ।
उनलाई त्यसबेलासम्म हमासले रकेट प्रहार गरेको हुन सक्ने र सीमाक्षेत्रमा इजरायली सेना भएकाले दुई माइल पर रहेका आफूहरू सुरक्षित रहेको लागेको थियो ।
तर १० मिनेटभित्रै, करिब सयजना समूहको हमासका हतियारधारी समूहहरू हलुमिम र नजिकैको न्यू अर्लिन्समा प्रवेश गरे । उनीहरूले सैनिक मात्र होइन, सर्वसाधारण मानिसहरूलाई पनि निशाना बनाए ।
उनीहरू पछाडिको गेटबाट नेपाली विद्यार्थी बसेको स्थानमा प्रवेश गरे र बंकरमा रहेका १५ नेपाली कामदारहरूमाथि गोली चलाए ।
नेपालीहरू बस्ने कोठानजिकै रहेको सेफ हाउस देखाउँदै उनले भने, “आतंककारीहरूले गोली चलाए र ग्रिनेड हाने, नेपालीहरूले आफूहरू इजरायली वा यहुदी नभएको भन्दा पनि उनीहरूले वास्ता गरेनन् ।”
उनले उक्त क्षेत्रमा कम्तिमा २२ जनाको हत्या त्यसैदिन भएको बताए । “बंकरभित्रै पसेर नेपालीको हत्या गरे,” हनवाडले भने, “त्यो बिहान करिब १० हमास लडाकु भित्र छिरेर गोली हाने, बाहिर रहेकाले ग्रिनेड हाने, स्थिति झन् खराब भयो । म एम्बुलेन्स चालक हुँ । म घाइतेहरूलाई लैजान गाडी लिन गएँ, तर फर्कँदा मेरो साथी हराइसकेका थिए । हमास लडाकुले २०–३० मिटर टाढाबाट मलाई पनि गोली हाने । म गाडीमा लुकेर भागे र पछि मेरो साथी र २२ जनासँग भेटे ।”
उनले त्यहाँ १० नेपाली विद्यार्थीको हत्या गरेर घाइते अवस्थामा रहेका विपिनलाई हमासले लिएर गएको बताए ।
हमासले आफ्नो टेलिभिजन च्यानलमा घाइते अवस्थाका विपिनलाई देखाएका थिए । तर त्यसपछिको अवस्था भने अज्ञात नै छ ।
थाइल्यान्ड र नेपाली कामदारहरूले डोरीजस्ता सामानले मात्रै प्रतिरोध गर्ने प्रयास गरेको उनको टिप्पणी थियो । इजरायली सेनाले चार महिनाअघि नै विपिन जोशी जीवित रहेको भन्ने प्रमाण दिन नसकेको बताइसकेको छ ।
“हामी हाम्रा साथी र सहकर्मीहरूलाई बचाउन नसकेकोमा धेरै दुःखी र पश्चातापमा छौँ । हमासले यहूदी, मुस्लिम, वा अन्य कोही हो भनी वास्ता गरेनन्, उनीहरूको उद्देश्य सबैलाई मार्नु रहेछ,” उनले भने ।
मृत्यु हुने १० विद्यार्थीमा कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशीष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज विष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ का दार्चुलाका लोकेन्द्रसिंह धामी थिए ।
७ अक्टोबर २०२३ पछि इजरायलमा विभिन्न पेशा व्यवसायमा रहेका पनि सेनामा भर्ती हुन थाले । त्यसमध्येका एक हुन् नदाब बेन यहुदा ।
सीमा क्षेत्रमा इजरायली सेनाको कमान्डर सम्हालिरहेका नदाब बेन यहुदा नेपालसँग नजिकको सम्बन्धमा रहेका एक कूटनीतिज्ञ हुन् ।
उनी लामो समय काठमाडौंस्थित दूतावासमा पनि बसे । नेपालस्थित इजरायली दूतावासमा उनी प्रमुख सल्लाहकारको भूमिकामा पनि रहे । इजरायल–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष पनि हुन् । हाल इजरायली सेनामा कार्यरत छन् । उनी भन्छन्, “७ अक्टोबरमा अल–नबावीमा १० नेपालीको क्रूर हत्या भयो, चारजना गम्भीर घाइते भए, र अझै पनि अस्पतालमा छन् । एक नेपाली विपिन जोशी अझै गाजामा बन्धक छन् । हामी उनलाई फिर्ता ल्याउन अथक प्रयास गरिरहेका छौँ । विपिनले आतंककारीहरूसँग लडेर वीरता देखाए । विपिनलाई हमासको कब्जाबाट मुक्त गरेर मैले नै नेपाल लिएर आउन मन छ । म नेपालीसँग त्यो खुसी साटासाट गर्न चाहन्छु ।”
तर, विपिनको अवस्थाबारे उनलाई पनि धेरै जानकारी छैन ।
इजरायलमा ७ अक्टोबर २०२३ को घटनाको सम्झनामा हराइरहेका आफन्तहरू दैनिक सामूहिकरूपमा भेटघाट गर्छन् । हराइरहेका आफन्त सम्पर्कमा आउने आशामा देखिन्छन् ।
इजरायली अधिकारीहरूका अनुसार, अझै पनि २० जना हमासकै कब्जामा जीवित अवस्थामा छन् ।
हराइरहेकाहरूको तस्बिर तेल अबिब विमानस्थलदेखि इजरालयका मुख्यचोक र भवनमा टाँगिएका छन् । जसमध्ये विपिन जोशीका तस्बिर पनि यसैगरी चोक–चोकमा टाँसिएका छन् ।
नेपाली पत्रकारहरुको टोलीसँग इजरालयस्थित विदेश मन्त्रालयका दक्षिण र पूर्वी एसिया ब्यूरो प्रमुख सगी करनीले विपिन जोशीसहित २० जना व्यक्तिहरु ह्मासको कब्जामा रहेको बताउँदै भने– विपिन पनि जीवित छन् भन्ने हाम्रो अनुमान छ । तर उनीहरुको पछिल्लो अवस्थाका बारेमा हामी पनि जानकार छैनौँ ।”
उनले विपिन जोशी पनि इजरायलका नागरिकजत्तिकै प्रिय रहेको बताउँदै भने– यसका लागि थप दबाबको आवश्यकता छ ।
७ अक्टोबर २०२३ मा हमासको कब्जामा रहेका विदेशी र इजरायली नागरिकलाई यसअघि पनि रिहा गरिएको भए पनि विपिन मुक्त हुन सकेका छैनन् । र, उनी जीवित रहेको र नरहेको आधिकारिक भन्न सक्ने अवस्था पनि नरहेको इजरायली अधिकारीहरुको धारणा रहेको छ ।
यसैबीच विपिन जोशीका आमा र बहिनी सोमबार नै इजरायल प्रस्थान गरेका छन् ।
विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी त्यसतर्फ लागेका हुन् । नेपालका लागि इजरायली राजदूत श्मुलिक ए बासले उनीहरूलाई विमानस्थलबाट बिदाइ गरेका थिए । विपिनको परिवार कम्तिमा पनि १० दिन इजरायलमा रहनेछन् । त्यहाँ उनीहरूलाई विपिनलाई अपहरण गरिएको क्षेत्र आलुमिम किबुज पनि पुर्याइने तयारी छ । (इजरायलबाट फर्किएर)