
नेपालको अटोमोबाइल उद्योगलाई एकीकृत रूपमा प्रतिनिधित्व गर्ने छाता संगठन हो, ‘नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल ।’ देशकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो–शो’ को तयारी तीव्र हुँदै छ । यो केवल नयाँ सवारी–साधन र प्रविधि प्रदर्शनी मञ्च हुने छैन, जहाँ नीतिगत संवाद गर्ने तयारीमा जुटेको छ, नाडा । उद्योग, व्यवसाय, नीतिगत संवाद र दिगो यातायातको दिशामा कदम चाल्ने महत्वपूर्ण अवसरका रूपमा समेत स्थापित गराउने नाडाको तयारी छ ।
यसपटकको शोमा इलेक्ट्रिक भेहिकल (ईभी) देखि नवीनतम हाइब्रिड प्रविधि, उच्च दक्षतायुक्त इन्जिनदेखि स्मार्ट सेफ्टी सिस्टमसम्मका नयाँ–नयाँ मोडेलहरू सार्वजनिक हुने अपेक्षा छ । अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता, नीतिगत संवाद, सरकारी निकायसँग सहकार्य गरी यो एक्स्पो उद्योगको दिशानिर्देशन नाडाको अपेक्षा छ ।
यसै सन्दर्भमा, बाह्रखरीले नाडा अध्यक्ष करण चौधरीसँग अटो शोको तयारी, अटोमोबाइल बजारको विद्यमान स्थिति, नीतिगत चुनौती, दिगो यातायातको सम्भावना र यस क्षेत्रको भविष्यबारे विस्तृत कुराकानी गरेको छ । चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंशः
–आउँदै गरेको नाडा अटो एक्स्पोको तयारी कस्तो छ ?
एक्स्पो तयारी तीव्र हुँदैछ । हामीलाई भ्याइनभ्याइ छ । किनभने कुनै पनि प्रदर्शनी वा कार्यक्रम गर्दा जति समयदेखि प्लान गरे पनि अन्तिममा तीव्र पार्ने हाम्रो चलन कहिले नटुट्दो रहेछ । त्यसकारण एक्स्पो आउन एक साता बाँकी छ । म तयारीका लागि दौडिरहेको छु । एक्स्पोलाई कसरी भव्य बनाउन सकिन्छ भनेर हामी लागि परेका छौं ।
–भर्खरै सवारी प्रदर्शनीको नाइमा एक्स्पो सकिएको छ । एक हप्तापछि नाडा सुरु हुँदैछ । ग्राहकहरूले के पाउँछन् नाडा अटो एक्स्पोमा ?
म नाडा अटो शोलाई अरुसँग तुलना गर्दिनँ । किनभने नाडा अटो शोको एउटा आकर्षण छ । नाडा अटो शो भनेको एउटा त्यो प्रदर्शनीको थेगो जस्तो भइसक्यो ।
कहाँ जाने भनेपछि नाडा अटो शो जाने वा नाडा जाने भन्छन् । हुन त, नाडा अफिस जाने भनेको हो कि जस्तो पनि लाग्छ । तर, नाडा भनेकै नाडा अटो शो भन्ने मानिसका मनमा पुगिसक्यो । नाडाले हरेक वर्ष केही न केही नयाँ प्रविधि दिने गरेको छ ।
यो वर्ष पनि हामी रोबोट्सदेखि फ्लाइङ ट्याक्सी प्रदर्शनी गर्दैछौँ । यो भनेको नेपालको ठूलो ‘जायन्ट लिप फर म्यानकाइन्ड’ भन्छाँै नि हो । यसले गरेर हाम्रो दिगो विकास र नीति प्रवर्धनका लागि चाहिँ ठूलो सहयोग हुनेछ ।
–‘फ्लाइङ ट्याक्सी’ र रोबोट्स बाहेक नयाँ सवारी लञ्च के–के छन् ?
हालसम्म जानकारी अनुसार नाडा प्रदर्शनीमा हालसम्म चार पाङग्रेको मात्रै १८/१९ वटा नयाँ सवारी सार्वजनिक हुनेछन् । त्यसकारण नाडामा लञ्च हुने र स्किम्स् आउने गर्छ । गाडीमा बढीभन्दा बढी डिस्काउन्ट हुने कुराहरू त छँदैछ ।
त्यसका अतिरिक्त यसपालि हामीले एउटा भिन्टेज कार पोभिलियन पनि राख्ने छौँ । जहाँ मानिसहरूले अतितका गाडीहरू पनि हेर्न सक्नुहुनेछ । सँगसँगै ‘अटो–डाइलग’ पनि राखे छौँ । किनभने अगाडि हामीले गरेका ‘अटो–डाइलग’को सफलताले हामीलाई धेरै कुरा सिक्ने पनि मौका दियो । यो डाइलग गर्दा फलदायी नै हुन्छ । हामीले यसपालि ‘एक्जिबिसन स्पेस’मै ‘अटो–डाइलग’को तयारी गरेका छौं ।
–नेपालमा पछिल्लो समय अटो एक्स्पोहरू ईभीमय हुन थालेको छ । नाडामा पनि त्यही दोहोरिन्छ कि आइसीई तथा हाइब्रिड गाडीहरू पनि पाउँछन्, ग्राहकहरूले ?
धेरै कम एक्जिबिटर्सहरूसँग हाइब्रिड छ । त्यसो हुनुको कारण नेपालको कर प्रणाली हो । सरकारले हाइब्रिडलाई जुन तरिकाले आत्मसात् गर्नुपर्ने गरिसकेको छैन । त्यसो भन्दा भन्दै पनि नेपालले आज इभीलाई जसरी अंगालेको छ । त्यसलाई नाडाले पनि सहर्ष नै स्वीकार गरेर अगाडि बढिरहेको छ । एक्स्पोमा आइसीइ पनि हुने नै छ, हाइब्रिड पनि हुने नै छ । अनि इभी त छँदै छ ।
–अटो एक्स्पोमा प्रत्येक वर्ष सवारी पार्किङको समस्याले पिरोल्ने गरेको छ । अवलोकनकर्ताहरू पार्किङकै समस्याले आउन मन गर्दैनन् । यहाँहरूले यसवर्ष कसरी व्यवस्थित गर्ने सोच्नु भएको छ ?
साँच्चै भन्नुपर्दा म पार्किङ व्यवस्थित गर्छु । यसमा कसैलाई पीडा हुन दिन्न । तर, नाडामा अवलोकनकर्ताको जुन ओइरो लाग्ने देखेको छ, नेपालमा कुनै पनि ठाउँमा त्यस्तो पार्किङ म्यानेज गर्न सक्ने ठाउँ नै छैन ।
त्यसकारण सहज म्यानेज नहुने भएपछि हामीलाई सबभन्दा ठूलो चुनौती हो । हुन सक्ने जति सहज गर्ने हो ।
त्यसका लागि हामीले हाम्रो ‘राइड हेलिङ एप याङ्गो’सँग पार्टनरसीप गरेका छौँ । हामी पार्किङ स्पेसहरू खोजिरहेका छौं । हामी ८/९ वटा माइक्रोबस सटल फ्री सर्भिस दिने तयारीमा छौं । केही पाउन केही गुमाउनुपर्छ नै । यसपालि नाडा अटो शोमा ग्राहकले फ्युचर पाउनुहुन्छ भने अलिअलि कष्ट त भइहाल्छ ।
–तपाईंको विचारमा नेपालको अटो सेक्टर अहिले कस्तो अवस्थामा छ ?
नेपालको अटोमोबाइल सेक्टर उकासिँदै छ । किनभने जुन धरातल हामीले कोभिड पछि देख्यांै । त्यो धरातल भनेको साह्रै नै डरलाग्दो धरातल थियो । त्यो धरातल भन्दामाथि बिस्तारै उठ्दै आएका छौं ।
नाडा अटो शो राम्रो हुँदै छ । अटो सेक्टर राम्रो हुँदै छ । अटो शोबारे ‘पोजेटिभ न्युज’ आएको छ । हामीले आउँदा दिनका लागि नीति प्रवर्धनमा लाग्न पाएका छौं ।
हामी उड्ने गाडी ल्याउँदै छौँ । रोबोट्स र कनेक्टेड कोर्सतिर गइहेका छौं । यस वर्ष पानीमुनि पनि हिँड्न सक्ने गाडी प्रदर्शन गर्ने योजनामा छौं । नीति प्रवर्धन गर्न मिडियाले पनि सहयोग गर्नुपर्छ ।
–नेपालमा पछिल्लो समय जसरी इभी भित्रिएको छ । सोही अनुसार पूर्वाधार बनेको छैन । काठमाडौंबाट बाहिर जानुपरेको अवस्थामा कहाँ चार्जिङ स्टेसन छ भनेर हिसाब गर्नुपर्ने अवस्था छ । यसलाई कसरी हेर्नुहुन्छ ?
यो भनेको अण्डा पहिला आयो कि चल्ला भनेजस्तो हो । यो प्रश्न मलाई एकवर्ष अगाडि सोध्नुभएको भए मैले त्यसको जवाफ दिन सक्दिनँ थिए होला । तर आज यहाँले हेर्नुहुन्छ भने नेपालमा ईभीका लागि कुनै पनि त्यस्तो समस्या छ जस्तो लाग्दैन ।
त्यसमाथि पनि डेली इभीको जति किलोमिटर कभरेज हुन्छ त्यो धेरै कम छ । आज भएका गाडीहरू होम चार्ज गरेर नै पुग्ने स्थिति छ ।
त्यसो हुँदा हामीलाई फाइदा चाहिँ के छ भनेपछि नेपालको तथ्यांक अनुसार एउटा नजलवापत २३ वटा गाडी चार्जिङ हुनुपर्छ । यो सुन्दा धेरै अभाव भएको जस्तो लाग्ला । तर, इन्डियामा एउटा नजलवापत १०३ वटा गाडी छ । त्यो भनेको साउथ एसियामा हामी राम्रै छौं ।
अझ पनि बढ्दै छ । नेपाल विद्युत् प्राधिकरणले पनि धेरै ठाउँमा चार्जिङ स्टेसन बनाइरहेको छ । विभिन्न एक्जिबिटर्सहरूले पनि आ–आफ्नो चार्जरहरू स्टल इन्स्टल गर्दै छ । त्यसो भएपछि अवश्य पनि भविष्यमा हामीलाई चार्जिङका लागि पेट्रोल पम्प जस्तै हुनेछ ।
–चार्जिङ स्टेसनका लागि सरकारले कस्तो नीति बनाइदिनुपर्छ ?
मेरो सरकारसँग के एउटा बिन्ती छ, चार्जिङ स्टेसनका लागि पूर्वाधार निर्माण गर्नुपर्यो । यसमा सरकारको मात्र मुख ताखेर हुँदैन । व्यवसायीहरू पनि अघि लाग्नुपर्छ । व्यवसाय अघि लाग्न अलिकति नाफा गर्ने वातावरण बनाइदिनुपर्छ । नाफा देखाउन हामीले पहिला एउटा जुन सिलिङ राखेका थियौं । जुन चार्जिङ पर युनिटको मूल्यमा त्यो हटाइदिएपछि अलि सहज भएको छ । अब आयातमा मूल्यलाई घटाउन सक्ने कुनै वातावरण भयो भने त्यो जस्तो राम्रो केही पनि हुँदैन ।
–प्रत्येक वर्ष बजेट आउँदा भन्सार दर के हुने हो भनी व्यापारीहरूको पिरोल्ने गरेको छ । अनि नीतिगत व्यवस्थामा सरकारले कहिले कर तल गर्ने कहिले माथि गर्ने त्यसले अलिकति अस्थिर छ नि नीति ?
हेर्नुहोस्, बिजनेसमा कहिले कोही पनि ढुक्क हुँदैन । यो वर्षको बजेट जसरी आयो त्यसमा नाडा अत्यन्तै खुसी छ ।
त्यो भविष्यमा पनि निरन्तर होस् भन्ने आशा पनि छ । अब एउटै मात्र कुरा हो त्यही आशाका साथ मौद्रिक नीति पनि आयो त्यसमा पनि समेटिएको भए हुन्थ्यो भन्ने हो । तर, त्यो भएन । त्यो पनि मौद्रिक नीतिको समीक्षामा समेटिन्छ भन्ने ठूलो आश छ ।
–नेपालमा पछिल्लो समय जसरी ईभी भित्रिएको छ । त्यसमा क्वालिटी, ब्याट्री विषयलगायतका प्रश्नहरू उठेका छन् । हाम्रोमा क्वालिटी चेक गर्ने संयन्त्र पनि छैन । यसले गर्दा नेपाल ईभीको डम्प हुने त होइन ?
नेपालमा चार पाङ्ग्रे गाडीको बजार भनेको १७/१८ हजारको हाराहारीमा छ ।
त्यसो हुँदा सय, दुई सयदेखि २ हजार वटासम्म गाडी बेच्दा ‘डम्पिङ साइट’ होला जस्तो त लाग्दैन । तर, अवश्य पनि कस्तो गाडी आउँछ ? कस्तो गाडी आयात हुन्छ ? त्यसको मापदण्ड के भन्नका लागि त यातायात विभागले मापदण्डमा काम गरिहरहेको मैले पाएको छु ।
यो मापदण्ड आउँदा अवश्य पनि मलाई लाग्छ समग्र अटोमोबाइल व्यवसायहरूले नै यसलाई स्वीकार्ने छन् । यो मापदण्डले उपभोक्ताहरूलाई पूर्ण रुपमा त्यो एउटा महसुस गराउने छ कि राम्रो आयो र यसले क्वालिटी कन्ट्रोल हुनेछ नै ।
–भनेपछि हालको अवस्थामा व्यवसायीपनि फिल्टर हुनुपर्ने भन्नेमा हो ?
हामी फिल्टर हैन सही सामान आयात हुनुपर्छ भन्नेमा हो । उपभोक्ताहरू मारमा पर्नुहुन्न र व्यवसायीहरू पनि मारमा पर्नु हुन्न । त्यसकारण आयातमा सरकारले गुणस्तर जाँच गर्ने, मापदण्डका हकमा स्वयम् व्यवसायीले पनि मेरोमा सरकारले चेक गरेको छ भनेर ढुक्कले भन्न सक्ने अवस्था आउने छ ।
–अन्तर्राष्ट्रियस्तरमा हुने अटो एक्स्पो र नेपालमा हुने अटो एक्स्पोमा कत्तिको भिन्नता पाउनु भएको छ ?
यसवर्षको नाडा अटो शोले प्रविधिमा चुनौती दिने हिसाबै हामीले काम गरेका छौं । बाहिर जे प्रदर्शनी हुन्छ, नेपालमा पनि त्यो प्रदर्शनी हुनुपर्छ भन्ने हिसाबमा हामी लागेका हौं । मलाई लाग्छ, जुन पूर्वाधार छ त्यो हिसाबमा चाहिँ हामी चुनौती दिन सक्दैनौं । तर टेक्नोलोजी र थट प्रोसेसमा चाहिँ चुनौती दिन सक्छौं ।
–पछिल्लो समय नेपालमा एसेम्बल उद्योगहरू छन् । नाडाले अन्तर्राष्ट्रिय कम्पनीहरू यहाँ भित्र्याएर उत्पादन गर्ने प्लान्ट लगाउन कोसिस गरेको छैन ?
हामीले एकदम विगतमा धेरै वर्षदेखि यो विषयमा सहजीकरण गर्दै आएको छौं । हामीले धेरै प्रयास गरिरहेका छौं ।
सरकारको नीति स्पष्ट हुनुपर्छ । नीति ‘लङ टर्म’ भयो भने अवश्य नेपालमा पनि ‘प्लान्ट’ स्थापना हुन्छन् । यसमा हाम्रो ‘फोकस’ भनेकै आज नेपालमै रोजगारी बढ्नुपर्यो । नेपालको उपभोक्ताले सस्तोमा गाडी पाउनुपर्यो र नेपालकै उपभोक्ताले लाभ हासिल गर्न सक्नुपर्यो । नाडाले त्यसमा एकदम निरन्तर काम गरिरहेको छ ।
–नेपालमा सवारी बिक्री निकै बढेको छ । बाटो उही हुने र गाडीको बिक्री बढेको बढ्यै छ । यातायात व्यवस्थापन निकै कठिन बनेको छ । यहाँ नाडाको अध्यक्षको हिसाबले हेर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनक कसरी गर्न सकिन्छ ?
ट्राफिक व्यवस्थापनका लागि मुख्य कुरा भनेको पूर्वाधार सहज बनाऊ । साना सवारी विस्थापित गर्नुभन्दा पनि पूर्वाधार सहजीकरण गरौं । उदाहरणका रुपमा ग्वार्कोको ओभरपास जुन तरिकाले आएको छ, त्यसले धेरै ठूलो राहत भएको छ । सवारी चालकहरूले त्यसको महसुस गर्नुभएको छ ।
त्यस्तै पूर्वाधार अरु ठाउँमा पनि भयो भने निकै सहज हुन्छ नै । हाल ६ प्रतिशत मात्रै नेपालीले गाडी चढ्न सकेको तथ्यांक आएको छ । पूर्वाधार बढ्दै जाँदा ४०/५० पुग्ला त्यस्तो अवस्थामा अहिलेको पूर्वाधारले थेग्दैन । त्यसकारण पूर्वाधार नै थप्दै र सहज बनाउँदै जानुपर्छ ।
–हाम्रोमा बाटो साँघुरो छ । डा. बाबुराम भट्टराईले केही ठाउँमा ठूलो नबनाइदिएको भए अहिलेभन्दा जाम कयौं गुणा बढ्थ्यो नै । अब ठूलो बनाउने ठाउँ छैन त्यसको विकल्प के हुन सक्छन् ?
अब बाटो बढाउनेभन्दा पनि सहज गरिदिनु पर्छ । यसका लागि डिफरेन्ट मेकानिज्महरू हुन्छन् । उदाहरणका रुपमा ओभरपासले सहज गर्छ भन्ने कुरा त कसैले कल्पना गरेको थिएन । तर, त्यसले निकै सहज गर्यो । त्यसकारण यसप्रकारको विकल्पमा सरकारले सोच्नुपर्यो ।
साना विकल्पले पनि ट्राफिक व्यवस्थापनमा सहज हुन्छ । सडकमा परेका खाल्डाखुल्डी मात्रै पुर्दा पनि ट्राफिक व्यवस्थापनमा सहजता थपिन्छ । अझै पनि काठमाडौं र देशका अन्य स्थानमा रहेका खाल्डाखुल्डीले सवारीको गति र ट्राफिक व्यवस्थापनमा चुनौती थपिरहेका छन् ।
–नेपालको सवारी बजार निकै सानो छ । यहाँले अगाडि प्रस्तुत गर्नुभएको तथ्यांकअनुसार जम्मा ६ प्रतिशतले गाडी चढेका छन् । यति सानो बजारमा दुई वटा संस्था छन् । तपाईंको नजरमा दुई संस्था आवश्यक छ ?
मलाई एकदम आश्चर्य लाग्यो, यहाँले दुईवटा मात्र संस्था भन्नुभयो । गाडीसम्बन्धी नाडाको जति सदस्य हुनुहुन्छ, त्यसअनुरुप हेर्ने भए त सात–आठ वटा संस्था छन् । ठूला संस्था भनेर यहाँले ठूला कसरी निर्धारण गर्नुहुन्छ भन्ने हो । आज संस्था खुल्दैमा केही चिज हुने नहुने हैन, तर नाडा जस्तो संस्था एउटा मात्र छ । नाडाले सम्पूर्ण अटो व्यवसायीलाई जोडेको छ । यो विषयमा खासै धेरै विमति छ जस्तो लाग्दैन मलाई ।
–त्यसो भए प्रतिस्पर्धी मान्नुहुन्न अरुलाई ?
मैले त्यसरी हेरेको छैन । नाडा नै सम्पूर्ण व्यवसायीको साझा संस्था हो । अरु आउने जाने भइरहन्छ ।
–तपाईंको कार्यकालमा नाडाका लागि हालसम्म के कस्ता कामहरू गर्नुभएको छ ?
नाडा भनेको फैलिएको संस्था हो । यसका सम्पूर्ण सदस्यहरुका हक हितको सम्मान र व्यवस्थापन गर्नुपर्ने छ । यसका लागि आज मेरो कार्यकालको १९ महिना बितिसक्यो । मैले संरक्षण गरिदिनु नै मेरा लागि ठूलो एउटा चिज भयो जस्तो लाग्छ ।
–भविष्यमा नेपाल यातायातको हिसाबले कस्तो देख्नुहुन्छ ?
भविष्यमा नेपालमा यातायातका क्षेत्रमा अबल्ल होस् । यसका समस्याहरू समाधान गर्ने र ‘फस्र्ट मुभ’ होस् । यहाँको यातायात प्रणालीलाई हेर्दा र नेपाललाई एउटा आइडियलको रुपमा हेरोस् भन्ने इच्छा छ । यसका लागि नाडाले पनि सरकारसँग मिलेर काम गरिरहेको छ ।