site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्प र पुटिन वार्ता : रुस–युक्रेन युद्धमा रुसको अग्रिम ‘जित’

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच शुक्रबार अलास्कामा वार्ता हुँदै छ । यो वार्ता युक्रेन युद्ध अन्त्य गर्ने विषयमा केन्द्रित हुनेछ । तर, युद्धको एक प्रमुख पक्ष युक्रेनको सहभागिता भने हुने छैन । अर्थात्, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वार्तामा आमन्त्रण गरिएको छैन ।

पुटिन र ट्रम्पबीचको वार्ता ट्रम्पले पुटिनलाई युक्रेनसँग सम्झौता गर्न दिएको समयसीमाकै दिन हुँदै छ । यसअघि ट्रम्पले भनेका थिए, “शुक्रबारसम्म युद्ध रोक्नुहोस्, नत्र कडा आर्थिक प्रतिबन्धहरूको सामना गर्नुपर्नेछ ।” 

ट्रम्पले सुरुमा पुटिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न र भेट्न सहमत भएमा मात्र यस्तो शिखर सम्मेलन सम्भव हुने बताएका थिए । युक्रेनी राष्ट्रपति प्रशासनले लामो समयदेखि यो माग गर्दै आएको थियो । तर, रुसले यसलाई अस्वीकार गर्‍यो । 

बिहीबार ट्रम्प आफ्नो अडानबाट पछि हट्दै रुसको भनाइतिर उभिए । यसले युक्रेनलाई बाहिर राखेर रुस–युक्रेन युद्ध अन्त्य गर्ने वार्ताको अवस्था निम्त्याएको छ । यसमा ट्रम्पले मस्कोलाई कूटनीतिक सफलता दिलाएका छन् ।
 
दुई शीर्ष नेताबीचको वार्ता हुन अझै केही दिन बाँकी भए पनि रुस–युक्रेन युद्ध अन्त्यका लागि हुने उनीहरूको आगामी भेटलाई क्रेमलिन, रुसी अर्थतन्त्र र विश्वव्यापी वित्तीय बजारका लागि वार्ताअघि नै रुसले प्राप्त गरेको जीतका रूपमा विश्लेषण गरिएको छ ।

युक्रेनमा रुसको आक्रमणपछिको ट्रम्प र पुटिनबीच यो पहिलो भेट हुनेछ । लन्डन बिजनेस स्कुलका अर्थशास्त्र संकाय प्रमुख रिचर्ड पोट्र्सले सोमबार सीएनबीसीसँग भने, “सन् २००७ पछि पहिलोपटक अमेरिकी राष्ट्रपतिसँग अमेरिकी भूमिमा भेट्न निम्तो पाउनु पुटिनका लागि ठूलो जीत हो । उनको दृष्टिकोणबाट यो शानदार उपलब्धि हो ।  बिना कुनै र्सत युक्रेनको अनुपस्थिति, युरोपेली प्रतिनिधित्वको अभावबिना यो वार्ताअघि नै एक ठूलो विजय हो ।”

युक्रेनलाई रुसले कब्जा गरेको भूभाग मस्कोलाई सुम्पन बाध्य पारिनसक्ने चिन्ता छ । यही आशंकाले किभमा निराशाजनक माहोल छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित किभका अधिकारीहरूलाई वार्तामा निम्तो दिइएको छैन । रुसले आफूले कब्जा गरेको भूमि फिर्ता नगरी सम्झौता गर्नुपर्ने माग गरिरहेको छ । ट्रम्प पनि जमिन साटासाट गरेर सहमति गर्नुपर्ने बताइरहेका छन् । यसमा जेलेन्स्कीले युक्रेनले डोनबासलगायत कुनै पनि क्षेत्र नछोड्ने बताएका छन् । किभले आफ्नो भविष्यबारे उसको अनुपस्थितिमा कुनै सम्झौता नहुने बताएको छ । वार्तामा युरोपेली नेताहरू युक्रेनको सहभागिताका लागि जोडदार माग गरिरहेका छन् ।

रुसका लागि आर्थिक तथा कूटनीतिक जित
अर्थशास्त्रीहरूका अनुसार यो परिदृश्य रुसले दक्षिणी र पूर्वी युक्रेनमा युद्धमैदानमा प्रगति गरिरहेको र युद्धविरामको सम्झौता टाढा देखिएको बेला भइरहेको छ । 

अन्तर्राष्ट्रिय प्रतिबन्ध र जुन महिनामा ९.४ प्रतिशतको उच्च मुद्रास्फीतिका कारण संकटमा रहेका पुटिन र उनको युद्धकेन्द्रित अर्थतन्त्रका लागि यो पहिल्यै जित भएको बताइन्छ ।

“पुटिन युद्धमैदानमा तुलनात्मक रूपमा बलियो अवस्थाबाट वार्ता सुरु गर्छन् । उनीहरू अगाडि बढिरहेका छन् तर, आर्थिक दृष्टिकोणबाट, उनी कमजोर अवस्थामा छन् । रुसी अर्थतन्त्र राम्रो अवस्थामा छैन,” पोट्र्सले सीएनबीसीको युरोप अर्ली एडिसन कार्यक्रममा भने, “तेलको राजस्वमा ठूलो कमी र तेल तथा ग्यासको मूल्य घटेका कारण उनीहरूले उल्लेख्य वित्तीय घाटा बेहोरिरहेका छन् ।” 

युद्धमैदानमा बलियो अवस्थाबाट वार्तामा आउँदै गरेको रुसले युद्धविराम सम्झौताको हिस्सामा तत्काल प्रतिबन्ध राहत र युक्रेनी भूभागको स्वामित्व माग्ने सम्भावना छ ।

“युक्रेनका लागि खतरा वास्तवमै गम्भीर छ,” लन्डनस्थित थिंक ट्यांक रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका अन्तर्राष्ट्रिय निर्देशक जोनाथन इयालले भने, “युरोपेली राजधानीहरूमा चिन्ताको भावना हुनेछ ।”

युक्रेनसामु डरलाग्दो परिदृश्य एक कदमनजिक आएको बताइएको छ । “पुटिनलाई वार्ताको टेबलमा ल्याउनु ट्रम्पले ठूलो उपलब्धिको रूपमा लिनेछन् । र, उनले जस्तोसुकै प्रस्ताव आए पनि स्वीकार गर्नेछन्,” इयालले भने ।
आधा–अधुरो सम्झौता गरेर ट्रम्पले आफ्नो मुख्य उपलब्धिको रूपमा दाबी गर्नसक्ने सम्भावना उच्च रहेको समाचारमा उल्लेख छ । 

न्यू जर्सीको रोजल्यान्डमा आधारित गैरनाफामूलक संस्था होप फर युक्रेनका अनुसार, सम्झौता अस्थायी युद्धविराम हुनसक्छ, जसले रुसलाई आफ्नो सेना पुनस्र्थापना गर्न र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट अर्थतन्त्रलाई राहत दिने अवसर प्रदान गर्नेछ ।

क्रेमलिनले वासिङ्टनसँगको सम्बन्ध सुधारलाई आर्थिक पुनरुत्थान र लगानीको अवसरको रूपमा हेरेको बताएको छ । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले शनिबार भने, “हाम्रा देशहरूको आर्थिक हित अलास्का र आर्कटिकमा मिल्छ । ठूलो स्तरका र पारस्परिक लाभदायक परियोजनाहरू कार्यान्वयनको सम्भावना छ ।” 

ट्रम्पको समयसीमा र पुटिनको मागले युक्रेनमा तनाव
ट्रम्पले जुलाई १४ मा पहिलोपटक ५० दिनको समयसीमा तोकेर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धविराम गर्न भनेका थिए । पछि जुलाई २९ मा १० दिनमा छोट्याइयो । युद्धविराम नभए रूसी तेल र ग्यास उत्पादन आयात गर्ने देशहरू जस्तै चीन, भारत, ब्राजिल र टर्कीमाथि कर लगाइने ट्रम्पले बताए ।
 
बिहीबार पत्रकारहरूसँग ट्रम्पले यो समयसीमा अझै सक्रिय छ कि छैन भन्ने प्रश्नमा भने, “यो उन (पुटिन)को हातमा छ ।” 

ट्रम्पले परिस्थितिबाट निराश भएको बताए । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले शुक्रबार एनबीसी न्यूजलाई बताएअनुसार, रुसले सम्भावित युद्धविरामका लागि मागहरूको सूची पेस गरेको छ । अमेरिका अहिले युक्रेन र युरोपेली सहयोगीहरूसँग सहमति जुटाउन खोजिरहेको छ ।
तर, ट्रम्पको अल्टिमेटमले क्रेमलिनलाई रुस–युक्रेन युद्धमा एक इन्च पनि पछि हटाउन बाध्य बनाएको छैन । 

“पुटिनले अल्टिमेटम दिएर मलाई चाहेको कुरा दिनुहोस्, नत्र युक्रेनले भोग्नुपर्छ भनेदेखि केही पनि परिवर्तन भएको छैन,” रूस विशेषज्ञ बेलायतस्थित परामर्शदाता जेम्स निक्सीले भने, “ट्रम्पले रुसलाई दबाब दिन सबै कुरा गरे, तर रूसलाई दबाब दिने कुनै काम गरेनन् ।” 

सन् २०२१ मा रूसको आठबुँदे मस्यौदा सन्धिमा  युक्रेनलाई नेटोमा कहिल्यै सामेल हुन नदिने र रूसको पूर्वी सीमानामा नेटो सेनाको फिर्तालगायत विषय छन् । अहिले रुसले थप युक्रेनी भूभागको माग थपेको छ ।

युक्रेनले रुसले नियन्त्रणमा लिएको आफ्नो भूभागमा रुसको कब्जा कायम राख्ने युद्धविरामको योजनालाई अस्वीकार गरेको छ । कुनै पनि सम्झौतामा मस्कोले भविष्यमा आक्रमण गर्न नसक्ने गरी सहयोगीहरूबाट सुरक्षा प्रत्याभूति समावेश हुनुपर्ने उसको अडान छ ।

“पुटिन युक्रेन चाहन्छन्, युक्रेन आफ्नो अस्तित्व चाहन्छ, ट्रम्प युद्ध समाप्त गर्न र रूससँग सम्झौता गर्न चाहन्छन्,” निक्सीले भने । “सबै प्रमुख खेलाडीहरूको फरक–फरक एजेन्डा छ र उनीहरू कुनै कुरामा एकमत छैनन् ।”

ट्रम्प–पुटिन भेटले युक्रेनलाई संकट
युद्धविराम सम्झौता नभए पनि, “ट्रम्पसँगको भेट र परिणाम जस्तो सुकै आए पनि पुटिनका लागि ठूलो कूटनीतिक जित हुनेछ,” होप फर युक्रेनका सीईओ युरिय बोयेच्कोले भने, “उनको अहंकारलाई बढावा दिनेछ ।”

पुटिनसँगको भेट एउटा जाल भएको भन्दै उनले राष्ट्रपति ट्रम्प यो जालमा फस्न नहुने उनको धारणा छ । युक्रेन अहिले संकटमा रहेको उनले बताए । 

फेब्रुअरीमा ह्वाइट हाउसमा ट्रम्पसँगको विवादपछि  जेलेन्स्कीले पछिल्ला दुई महिनामा ट्रम्पसँगको सम्बन्ध सावधानीपूर्वक सुधार गरेका छन् । “अहिले यो शिखर सम्मेलनलाई हल्का रूपमा लिइरहेको जस्तो देखिनु उनको लागि सबैभन्दा खराब कुरा हुनेछ,” इयालले भने ।

युक्रेन सरकारका पूर्वउपमन्त्री आर्टेम बिदेन्कोले पुटिनले ट्रम्पलाई केही लोभ्याउने प्रस्ताव गर्ने बताएका थिए । उनले भनेका थिए, “ट्रम्पले म राम्रो गर्दैछु, म शान्ति स्थापना गरिरहेको छु । र, मानिसहरूको मृत्यु रोकिनेछ भनेर भन्नेछन् ।” 

“ट्रम्प रुसीहरूको कार्यबाट रिसाएका जस्तो देखिएको र उनले रुसलाई कडा प्रहार गर्नसक्ने हिम्मत राख्छन्,” युक्रेनको राजधानी किभमा बस्ने ३१ वर्षीय खेल पत्रकार डान्य भेरेइटिनले भने, “यस्तो मानसिकता भएका मानिसहरूलाई कमजोर वा असुरक्षित देखिन मन पर्दैन ।” 

गत वर्षको राष्ट्रपति अभियानमा ट्रम्पले यो द्वन्द्व २४ घण्टामा समाधान गर्ने बताएका थिए । पछि त्यसलाई ६ महिनामा अद्यावधिक गरे । त्यसपछि बिर्सिए जस्तो देखियो । पुटिनबारे पहिलेका न्यानो शब्दहरू हालै कडा भएका छन् । ट्रम्पले रुसको घृणित र लज्जास्पद रात्रीकालीन मिसाइल आक्रमणहरूबाट धैर्य गुमाउँदै गएको देखिन्छ । 

वित्तीय बजारको प्रतिक्रिया र रक्षा स्टकको भविष्य
शुक्रबार युद्ध अन्त्य गर्न वार्ता चाँडै हुने घोषणापछि विश्वव्यापि वित्तीय बजारहरूले सकारात्मक प्रतिक्रिया देखाए । युरोप र अमेरिकाका स्टक बजारहरू बढे । तर, रक्षा स्टकहरूमा भने युरोपमा गिरावट आया । यसको कारण व्यापारीहरूले शान्तिले नेटो सहयोगीहरूले थप लगानीको प्रतिबद्धता रोक्नसक्ने अनुमान गरे ।

सोमबार बिहान ८ बजे (लन्डन समयअनुसार)  भूराजनीतिक र वित्तीय बजार तनावको समयमा सुरक्षित मानिने सुनको मूल्य करिब एक प्रतिशत घटेर प्रतिऔंस तीन हजार ३६४ डलरमा झरेको छ ।

जर्मनीको राइनमेटलको सेयर करिब ४ प्रतिशतले तल झरेको छ । हेनसोल्ड १.५ प्रतिशत र रेन्क ३.३ प्रतिशतले घटे । इटलीको लियोनार्डो र फ्रान्सको थालेस क्रमश : १.९ र १.७ प्रतिशतले तल झरे । लन्डनमा सूचीकृत बीएई सिस्टम्स र ब्याबकक पनि बिहान ९ बजेको समयमा क्रमश : १.१ र १.३ प्रतिशतले तल झरे ।

तर, टीएस लोम्बार्डका प्रबन्ध निर्देशक क्रिस्टोफर ग्रानभिलले भने यो वार्ता युरोपेली रक्षा स्टकहरूका लागि ‘विन–विन’ साबित हुनसक्ने र लगानीकर्ताहरूलाई यो कमजोरीमा खरिद गर्न सुझाव दिए ।

ग्रानभिलले शान्ति प्रक्रिया असफल भयो भने अमेरिका र युरोपको खाली भएको हतियार भण्डार पुनः भर्न आवश्यक पर्ने बताए । उनले भने, “राइनमेटल र अन्य युरोपेली रक्षा स्टकहरूका लागि अर्डर र खरिदका लागि धेरै राम्रो हुनेछ ।”

“त्यो वास्तविकताले युरोपेली सरकारहरूलाई रक्षा खरिदमा निरन्तर वृद्धि गर्न बाध्य पार्नेछ । यो युरोपेली रक्षा स्टकहरूका लागि पनि राम्रो छ । जे भए पनि, यो विजेता हो,” ग्रानभिलले भने ।

“बजारले समय–समयमा यो कुरालाई छुट दिँदै आएको छ, जब ती रक्षा स्टकका नामहरू केही तल झर्छन्, मेरो विचारमा त्यो समय खरिद गर्नुपर्छ ।” पोट्र्सले ट्रम्पसँग धैर्य र प्रतिबन्धहरू प्रभावकारी रूपमा लागु गर्ने इच्छा भएको भए वार्तामा शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याउने बताए । 

तर, अहिलेसम्म ट्रम्पले रुसमाथि प्रतिबन्धहरू बढाउने बताए पनि कदम चालेका छैनन् । वासिङ्टनले क्रेमलिनका बाँकी व्यापारिक साझेदारहरू भारत, रुसी तेलको खरिद जारी राखेमा ‘सेकेन्डरी प्रतिबन्ध’ र अतिरिक्त व्यापारिक करहरूको धम्की दिएको छ । यसले मस्कोको युद्ध मेसिनलाई आर्थिक सहयोग भइरहेको छ । 

ट्रम्पले शान्ति सम्झौताका लागि पुटिनलाई दबाब दिन थप कडा प्रतिबन्धहरू अघि बढाउन सक्छन् कि भन्ने प्रश्नमा पोट्र्सले भने, “कसैले अमेरिकाको राष्ट्रपतिले एक दिनदेखि अर्को दिनसम्म के गर्छन् भन्ने अनुमान गर्न सक्छ ? यो धेरै गाह्रो छ ।” 

“प्रतिबन्धको दबाब बढ्ने सम्भावना उल्लेख्य छ । तर, ट्रम्पको नोबेल पुरस्कारको चाहनालाई ध्यानमा राख्दा यो चरणमा उनले प्रतिबन्धहरू बढाउने सम्भावना धेरै देखिँदैन,” उनले भने, “तर, उनले भोलि आफ्नो मन परिवर्तन गर्न सक्छन् ।” 

एनबीसी, सीएनबीसीलगायत अन्य एजेन्सीहरूको सहयोगमा ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्