मुलुकले दिएको नागरिकताको प्रमाणपत्रले सबै काम भइरहेको अवस्थामा फेरि राष्ट्रिय परिचयपत्रको हावा चलेर देश तरंगित हुन पुगेको छ । यसभित्र केके स्वार्थ लुकेको छ त्यो ईश्वर नै जानून् !
यसबारेमा अनेक हल्ला नचलेको होइन । तर, राष्ट्रिय परिचयपत्र नामको हाउगुजीले धेरैको निद्रा भने पक्कै बिगारेको छ ।
सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकहरू जो उमेर पुगिसकेका छन्, सेवाबाट निवृत्त भएर निवृत्तिभरण लिइरहेका राष्ट्रसेवक कर्मचारीहरूका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गरेपछि मात्रै निवृत्तिभरण पाइने सरकारी निर्णय आएपछि भने यसले सतहमा आउने मौका पायो ।
त्यसपछि सर्वसाधारणले बैंकमा खाता खोल्दा, मालपोत कार्यालयमा जग्गा खरिद–बिक्री गर्दा – यस्ता काममा सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने हल्लाले सर्वसाधारणमा झन् जटिलता थोपरेर आगोमा घ्यु थप्ने काम गरेको छ ।
यसका लागि सरकारले पहिले वडा कार्यालयमा काम गर्यो अरे ! तर, मैले त्यसको केही मेलोमेसो पाइनँ । अनि, त्यसबाट चुकेँ ।
त्यसपछि सबै जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका विभिन्न स्थान तोकेर नै यस कामको दायित्व वहन गर्ने काम सरकारले विभाग नै स्थापना गरेर अघि बढाएको रहेछ ।
म बसोबास गर्ने काठमाडौं बूढानीलकण्ठ क्षेत्रमा पनि नगरपालिका परिसर हात्तीगौँडामा ठाउँ उपलब्ध गराएर काम भइरहेको थाहा पाएपछि बुझ्न भनेर गएँ ।
एक दिनमा २० जना मानिसको कोटा हुने रहेछ । त्यसमा पनि ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखिने रहेछ । त्यहाँ पालो आउने छेकछन्द देखिएन । म चुपचाप लागेर बसेँ, जुन दिन चाहिएला देखा जाएगा भन्दै !
निकै समयपछि एक दिन प्रातःकालीन भ्रमणको छेको पारेर उक्त अड्डामा पुग्दा मानिसहरू लाइनमा रहेनछन् । म पनि टोकन लिएर लाममा उभिएँ । अनि, आफ्नो पालोमा गएर फोटो खिच्ने कर्मचारीका अगाडि बसेँ ।
ती कर्मचारी साँच्चैका निजामती कर्मचारी रहेछन्, बोल्दा पनि पैसा नै तिनुपर्ने जस्ता !
मेरो नागरिकता पुरानो भएका कारण मेसिनले ‘स्क्यानिङ’ गरेन भन्ने जानकारी पाएँ । ती कर्मचारीले नयाँ नागरिकता बनाएर ल्याउनू भन्ने फर्मान जारी गरे ।
यो उनको ढुंगाको बोली थियो । म बबुरो लुरुक्क परेर आफ्नो बाटो लाग्न बाध्य भएँ । मसँग अर्को विकल्प के नै थियो र !
मैले २०४१ साल असार २९ गते तत्कालीन जिल्ला कार्यालय झापाबाट नागरिकता प्रमाणपत्र लिएको थिएँ । मेरो सम्पूर्ण काम, जागिर, पढाइलगायत यावत् कुरा त्यसैबाट चलेका थिए ।
तथापि, म नयाँ नागरिकताको प्रतिलिपि लिने दौडधुपमा लागेँ । आफू बसेको वडा कार्यालय – बूढानीलकण्ठ–१० बाट सोही कामका लागि सिफारिस लिन गएँ । त्यस दिन वडाध्यक्ष कार्यालयमा आएका थिएनन् ।
उनले अरू कसैलाई दैनिक कामको अधिकार प्रत्यायोजन पनि नगरेका कारण मैले त्यहाँबाट फर्किनुपर्यो । भोलिपल्ट म फेरि वडा कार्यालय पुगेँ । धन्न काम भयो । वडाको काम सकेर म सरासर काठमाडांै जिल्ला प्रशासन कार्यालय बबरमहल गएँ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको नागरिकता प्रतिलिपि फाँटका कर्मचारीसमक्ष आवश्यक सम्पूर्ण काजजात पेस गरेँ । त्यहाँका नायब सुब्बाको व्यवहार पनि आमसरकारी कर्मचारीभन्दा रत्तिभर फरक थिएन । बोली नै किन्नुपर्ने जस्तो !
उनले झापा जिल्ला प्रशासन कार्यालयमा ‘अभिलेख’ पठाउन आफूले मेल गरिदिएको भने । झापामा रहेको सम्पूर्ण विवरण कम्प्युटरमा समावेश हुनुपर्ने नत्र नागरिकताको प्रतिलिपि नपाइने भनेर उनले ढुंगाको बोली टुंग्याए ।
अनि भने, “एउटा मोबाइल नम्बर दिएको छु, त्यसमा फोन गर्नुस् ।”
उनले यसरी आदेश दिए, मानौँ मेरो नागरिकताको प्रतिलिपि उनको गोजीको निजी सम्पत्ति हो ।
शुक्रबारको दिन थियो । दिउँसोको १२ बजिसकेको थियो । मैले उनले दिएको मोबाइल नम्बरमा फोन सम्पर्क गरेँ । फोन उठेन । तर, एकछिनपछि उतैबाट फोन आयो । मैले आफ्नो परिचयसहित सम्पूर्ण समस्या उनलाई बताएँ ।
असाध्य नरम स्वभावका ती कर्मचारीको जवाफ यस्तो थियो, “सर, तपाईंको नाम त साहित्यिक पत्रिकाहरूमा पढेजस्तो लाग्यो । नाम जुधेको हो कि ! कि तपाई आफैँ हो ?”
अब अचम्म हुने पालो मेरो थियो । ‘हो, म त्यही सीताराम हुँ’ भन्न कर लाग्यो । म ज्यादै खुसी भएँ । यसरी मानिसले मसिनो ढंगले पनि याद गरेका हुने रहेछन् । लाग्यो, ती कर्मचारी साहित्यका पनि अध्येता रहेछन् ! नत्र उनले मेरो नाम कसरी ठम्याउन सक्थे ?
अनि, उनले आफ्नो समस्या भने, “सर, आज शुक्रबार । कर्मचारी साथीहरू बिदामा पनि छन् । २०४१ साल असार महिनाको रेकर्ड त असाध्यै भद्रगोल रहेछ । सकभर खोजेर गरौँला । तर, आजै त मुस्किल पर्ला कि !”
मैले ‘के गरौँ त, म यहाँ बसौँ कि नबसौँ ?’ भनेर सोधेँ ।
उनले सहज भावमा भने, “आज बस्दा दुःख होला । नबस्नुस् ।”
म हनुमानस्थान आएर नेपाल यातायात चढेर घरतिर लागेँ । पुतलीसडक आइपुगेको मात्र थिएँ, फेरि तिनै कर्मचारीको फोन आयो, “सर, कार्यालयमा नै हुनुहुन्छ कि निस्कनुभो ?”
मैले आफू निस्किएको जानकारी गराएँ ।
उनले फेरि भने, “उप्रेतीको अंग्रेजीमा ‘आई’ लेख्नुहुन्छ कि ‘वाई’ लेख्नुहुन्छ ?”
मैले ‘आई’ लेख्ने गरेको बताएँ । उनले सोहीअनुसार कम्प्युटरमा इन्ट्री गरेको र भ्याए आजै गए पनि हुन्छ भन्ने जवाफ दिए ।
मैले आफू पर्सि नै जाने कुरा गरेर उनलाई धन्यवाद दिएँ । तर, हुस्सु म ! उनको नाम नै सोध्न बिर्सिएछु ।
मनमनै कल्पना गरेँ, जिल्ला प्रशासन कार्यालय काठमाडौंका ती कर्मचारी र झापा जिप्रकाका कर्मचारीमा रहेको अन्तर । एउटै प्रकृतिको परीक्षा उत्तीर्ण गरेर सेवा प्रवेश गरेका कर्मचारीहरूमा रहेको यो अन्तरलाई समय वा शिक्षाको करामत मान्ने कि ! ममा खुलदुली पैदा भयो ।
आइतबार कार्यालय खुल्नेबित्तिकै बबरमहल पुगेँ । आफ्ना कागजात सबै जिम्मा लगाएँ । उनीहरूले गर्नुपर्ने प्रक्रियागत काम सकाएपछि मलाई छेउको अर्को कोठामा जान भने ।
केही समयपछि ‘प्रमाणपत्रमा टाइप गरेको विवरण ठिक छ कि छैन हेर्नू’ भनेर एक कर्मचारीले दिए ।
प्रतिलिपि पाउनका लागि मैले भरेको अनुसूची फाराममा अंग्रेजीमा समेत नाम लेखेको थिएँ, जन्ममिति पनि उल्लेख गरेको थिएँ । तर, त्यसमा त मेरो पुरानो झापा जिल्ला कार्यालयले दिएको नागरिकतामा जेजे लेखिएको थियो त्यही मात्र उल्लेख गरिएको रहेछ ।
अझ पुरानो नागरिकतामा मेरो दीर्घ लेखिएको ‘सीताराम’लाई ह्रस्व ‘सिताराम’ पो टाइप गरिदिएका रहेछन् ।
मैले भनेँ, “अरू त ठिकै छ, मेरो नाममा भने भातको सिता भएछ । राजा जनककी छोरी सीता भएनछ !”
खै के ठानेर हो, टाइप गर्ने कर्मचारीले मेरो अनुहारमा निकै बेर हेरिरहे । अनि भने, “अरू त ठिक छ नि ?”
मैले ‘ठिक छ’ भनेँ । हाम्रो कुरा सुनिरहेकी भर्खरै लोकसेवा पास गरेर आएजस्तो देखिने जनजाति मूलकी एक महिला कर्मचारीले हाँस्तै मसँग दुईप्रति तस्बिर मागिन् ।
उनले एउटा फोटो नागरिकता प्रमाणपत्रमा टाँसेर मेरो औँठाछाप लगाउन भनिन् । अनि, तयार भएको प्रतिलिपि दिइन् । अर्को फोटो भने कार्यालयको रेकर्डमा टाँसिन् । त्यहाँ उनले मेरो नाम शुद्ध लेखिन् कि लेखिनन्, हेर्न भ्याइनँ ।
नागरिकताको प्रतिलिपि बोकेर राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्ने ठाउँ बूढानीलकण्ठ नगरपालिका परिसरमा पुगेँ । कर्मचारीले सरसर्ती नागरिकता प्रमाणपत्रको प्रतिलिपि हेरे । अनि भने, “यसमा तपाईंको जन्ममिति खुलेको छैन नि ! जन्ममिति खुल्ने कुनै कागज लिएर आउनू ।”
फेरि तत्कालै सोधे, “अँ, तपाईंले कति पढनुभएको छ ?”
मैले उनले गरेको प्रश्नको उत्तर दिन भ्याइनँ, कारण अचाक्ली भीड थियो ।
भोलिपल्ट फेरि जन्ममिति खुल्ने रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहको आफ्नो चारित्रिक प्रमाणपत्रको कागज बोकेर हाजिर भएँ । उनले केही नभनी आफ्नो काम सके र मलाई बिदा गरे ।
बाहिर बसेका एक कर्मचारीले मलाई त्यसको प्रमाणस्वरूप एउटा कागज दिएर भने, “यो स्वीकृत भएको तपाईंको मोबाइलमा म्यासेज आउँछ । र, राष्ट्रिय परिचयपत्र तयार भएपछि लिन आउनुुहोला ।”
ढोकाबाट बाहिर निस्किँदै गर्दा मनमनै गम्दै आएँ, तिनले मलाई किन सबै कुरा एकैपटक नभनेर बारम्बार दुःख दिइरहेका हुन् !
आज झन्डै एक वर्ष पूरा भएको छ । तर, मेरो मोबाइलमा कुनै पनि सूचना आएको छैन् । यो राष्ट्रिय परिचयपत्र नामाधारी प्रमाणका लागि मैले अरू कति भुक्तमान खेप्नुपर्ने हो ! थाहा छैन ।