site stats
बाह्रखरी :: Baahrakhari
देश
दुईतर्फी टिकट बनाउने तर विमानमा चढ्न नपाउँदै रद्द गर्ने कम्पनीलाई कारबाही गरिने

काठमाडौं । अध्यागमन विभागले विदेश जाने यात्रुको दुईतर्फी टिकट बनाउने तर विमान चढ्न नपाउँदै आफैँ रद्द गर्ने कम्पनीलाई कारबाही गर्ने भएको छ । विभागले आइतबार (भदौ १) एक सूचना जारी गर्दै यस्तो नगर्न कम्पनीहरूलाई सचेत गराएको छ ।

“ट्राभल्सहरूले यात्रुहरूको दुईतर्फी टिकट बनाउने तर विमानमा चढ्न नपाउँदै आफैँ टिकट रद्द गर्ने गरेको पाइएको छ । आगामी दिनमा योजनाबद्ध रूपमा यस्तो कार्य गर्ने कम्पनीको अभिलेख भिडान गरी तुरुन्त अनुसन्धानको लागि प्रहरीमा पठाई कानुनबमोजिम कारबाही गरिने र त्यस्ता कम्पनीहरूको नाम समेत सार्वजनिक गरिनेछ,” विभागको सूचनामा उल्लेख छ ।

कतिपय ट्राभल्स एन्ड टुर्स कम्पनी, कन्सल्टेन्सी तथा म्यानपावर कम्पनीहरूले खास गरी पर्यटकीय प्रकृतिको भिसामा विदेश प्रस्थान गर्न आउने नेपालीसँग बार्गेनिङ गर्ने, नक्कली कागजात आफैँ बनाइदिने वा बनाउन प्रोत्साहित गर्ने गरेको पाइएको विभागले जनाएको छ ।

“तसर्थ सम्बन्धित सबै ट्राभल्स एन्ड टुर्स कम्पनी, कन्सल्टेन्सी र म्यानपावर कम्पनीहरूलाई कानुनसम्मत र व्यावसायिक मूल्यभित्र रहेर व्यवसाय सञ्चालन गर्नुहुन अनुरोध छ,” विभागले भनेको छ ।

भिजिट भिसामा विदेश जाने यात्रुको राहदानीमा डलरको वास्तविक सटही र कारोबारबिना नै सटही र कारोबार भएको भनी प्रमाणित गर्ने गरेको समेत पाइएको विभागले जनाएको छ । “त्यस्तो अनियमित कार्यमा संलग्न नहुन सबै मुद्रा सटही कारोबार गर्ने इजाजतप्राप्त संस्थाहरूलाई अनुरोध छ,” विभागको भनेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्