site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा बाढीले विनाश, सिंगो गाउँ ध्वस्त : हजारभन्दा बढी मानिसको मृत्यु आशंका
तस्बिर : एपी ।

काठमाडौं । पाकिस्तानमा बाढीले ठूलो विनाश मच्चाएको छ । बाढीका कारण एक हजारभन्दा बढी मानिसको मुत्यु भएको आशंका गरिएको एएनआईले जनाएको छ ।

खैबर पख्तुनख्वा (केपी) मामिलाका निम्ति प्रधानमन्त्रीका सूचना संयोजक इख्तियार वली खानले परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले खैबर पख्तुनख्वामा हालैको आकस्मिक बाढीमा करिब एक हजारजनाको मृत्यु भएको आशंका गरेका छन् ।

खानले बाढी प्रभावित क्षेत्रको व्यक्तिगत रूपमा भ्रमण गरेको बताए । उनले ठूलो मात्रामा विनाश देखेको बताएका छन् ।

उनले भने, “सिंगो गाउँ ध्वस्त भएको छ । बुनेरको चघरजी क्षेत्रमा भारी विनाश भएको छ । बशोनी गाउँ नक्साबाटै हराएको छ । बाढीको पानीसँगै आएका केही ढुंगाहरू ट्रकभन्दा पनि ठूला थिए ।”

उनले अगाडि भने, “नदी किनारमा रहेका घरहरू हराएका छन् । सिंगो परिवार बाढीमा बगेर गएका छन्, कसैको अत्तोपत्तो छैन ।”

अस्पतालमा ल्याइएका शव नै आधिकारिक तथ्यांक 
उनले आधिकारिक तथ्यांक अस्पतालमा ल्याइएका शवहरू मात्र भएको बताए । हालसम्म ६०० भन्दा बढी शव फेला परेको छ ।  उनले दीरमा मात्र ज्यान गुमाउनेको संख्या एक हजार नाघ्न सक्ने आशंका गरेका छन् ।

एक रिपोर्ट अनुसार, एक हजारभन्दा बढी मानिस अझै बेपत्ता छन् ।

६५७ जनाको मृत्यु, ९२९ घाइते 
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार, गएको जुन २६ देखि हालसम्म देशभर मनसुनी वर्षा, आकस्मिक बाढीलगायत विपद्का घटनामा कम्तीमा ६५७ जनाको मृत्यु भएको छ । ३९२ पुरुष, १७१ बालबालिका र ९४ महिलाले ज्यान गुमाएका हुन् ।

यस्तै, ४३७ पुरुष, २५६ बालबालिका र २३६ महिलासहित ९२९ जना घाइते भएका छन् ।

हालको अवस्था कस्तो छ ?
एनडीएमएले सबैभन्दा बढी प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र बनाउन प्रान्तीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

खैबर पख्तुनख्वा (केपी) प्रान्तमा सबैभन्दा बढी क्षति भएको छ । त्यहाँ ३९० जनाको मृत्यु भएको छ । २४५ जना घाइते छन् ।

राष्ट्रसंघका महासचिवबाट दुःख व्यक्त
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बाढीका कारण भएको मृत्युमा दुःख व्यक्त गरेका छन् । उनले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

महासचिवका प्रवक्ता स्टीफन दुजारिकद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “संयुक्त राष्ट्रसंघका टोलीहरू सरकारसँग मिलेर आवश्यक सहायता प्रदान गर्न सक्रिय छन् ।”

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्