अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमा एउटा समानता छ - त्यो हो दुवैलाई विश्वास गर्न सकिँदैन । ट्रम्प खुलेआम आफ्नै पहिलो भनाइ खण्डन गर्छन्, आफ्ना सबैभन्दा निष्ठावान समर्थकहरूसँग गरेका वाचाहरू पनि तोड्छन् र उनको कपटलाई उजागर गर्ने जोसुकैलाई पनि आक्रमण गर्छन् । पुटिन प्रकटमा एउटा कुरा देखाउँछन् तर त्यसलाई लुकाउन अस्पष्ट "ससाना" र लुकेका सर्तहरू प्रयोग गर्छन् । यसरी उनले आफ्ना वास्तविक र प्रायः भयावह मनसायहरू प्रकट गर्छन् । त्यसैले, यी दुई नेताहरूको अलास्कामा युक्रेन युद्धको सम्भावित अन्त्यबारे छलफल गर्न भेट्दा युक्रेनीहरूले अपेक्ष्षा गर्नसक्ने कुरा एउटै हो - तिनका मागहरू यी दुई पुरुषका अहंकार र दाउपेचका अगाडि गौण हुनेछन् ।
युक्रेन वा युरोपेली संघ कसैलाई पनि अलास्का शिखर सम्मेलनमा आमन्त्रण गरिएको छैन । यद्यपि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसमा आफ्नो केही प्रभाव रहने आशा गरिरहेका छन् । यसले युक्रेनका नेताहरूलाई आफ्नो देशको हितको रक्षा गर्न सीमित विकल्पहरू मात्र दिएको छ । उनीहरूले गर्न सक्ने भनेको यी केही दिनहरूमा पनि युक्रेनले युद्धविरामका लागि आफ्नो भूमि साट्न तयार नहुने दोहोर्याउनु मात्र हो।
रुसले कुनै पनि युद्धविरामका लागि युक्रेनलाई डोनबास क्षेत्रबाट पूर्णरूपमा जान माग गरिरहेको छ जसको लगभग ८८ प्रतिशत भाग अहिले रुसको कब्जामा छ । यो विषय वार्ता रोक्न पर्याप्त हुनसक्छ । तर अहिलेका लागि भने पुटिन अझै पनि उनले थोरैमा (सर्त तोड्न सक्ने युद्धविराम) धेरै कुरा (डोनबासका युक्रेनले आफ्ना सिद्धान्तहरू त्याग्ने) आशा गरेका हुन सक्छन् ।
यस अवस्थामा त्यसको कुनै मूल्य चुकाउनुपर्छ भने पनि 'केही कुरा' नै पुटिनका लागि पर्याप्त हुन सक्छ । निश्चय नै, उनले युक्रेनमा धेरै लक्ष्य राखेका छन् र युद्धले आन्तरिकरूपमा व्यापक समर्थन पाएको दाबी गरिरहेका छन् ।
यसबाहेक, आधिकारिक सर्वेक्षणहरूले सामान्य रुसीहरू सन्तुष्ट भएको देखाउँछ । यस वर्षको रुसको "खुसी सूचकांक" १० मा ७.३ अंकमा पुगेको छ । तर पुटिनलाई राम्ररी थाहा भएको कठु सत्य के हो भने धेरैजसो रुसीहरू यो द्वन्द्वको अन्त्य हेर्न उत्सुक छन् जसले १ लाख २० हजारको ज्यान लिएको छ र लाखौंलाई घाइते बनाएको छ । यसैले उनीहरूको 'खुसी' को सम्बन्ध 'एन्टिडिप्रेसेन्ट' (मनोद्दीपक औषधि) को बढ्दो खपतसँग हुन सक्छ जसको विक्री सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा १६.८ प्रतिशत ले बढेको थियो ।
वास्तवमा पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभजस्ता सार्वजनिक व्यक्तित्वहरूले पश्चिम विरोधी प्रचारवाजी गरिरहेको र आणविक धम्की दिइरहेको बेला सामान्य रुसीहरूले क्रेमलिनको 'देशभक्तिपूर्ण' प्रदर्शनभन्दा बाहिरी संसारसँग जोडिने अवसरमा धेरै उत्साह देखाएका छन् । मस्कोको पुस्किन स्क्वायरमा रहेको म्याकडोनाल्डको रुसी विकल्प, 'भ्कुस्नो इ तोच्का' (स्वादिलो र सन्तुष्टिदायक)ले गत महिना जापानी एनिमे क्यारेक्टर हेलो किट्टीको उत्सव मनाउने विशेष कार्यक्रम आयोजना नगर्दासम्म सन् २०२२ मा बन्द भएको वास्तविक म्याकडोनाल्ड्सजस्तो भिड कहिल्यै आकर्षित गर्न सकेन ।
यो खुसी होइन र देशभक्ति त झनै होइन । रुसीहरूले वर्षौंको एक्लोपन, दमन, क्षति र बढ्दो आर्थिक दबाबको सामना गरिरहेका छन् । मुद्रास्फीति १० प्रतिशतमा पुग्दा रुसीहरूलाई खाना, घरेलु प्रयोगका वस्तु, औषधि, ग्यासजस्ता आधारभूत आवश्यकताहरूको खर्च धान्न गाह्रो भइरहेको छ । सरकारको बजेट पनि राम्रो अवस्थामा छैन । तेल र ग्यास राजस्वमा अघिल्लो वर्षको तुलनामा लगभग ३० प्रतिशतले गिरावट आएका कारण घाटाले यस वर्षको सरकारी लक्ष्यलाई पहिल्यै पार गरिसकेको छ ।
यसले पुटिनलाई जसलाई रुसी कुलीन वर्गको समर्थन कायम राख्नु अनिवार्य छ शान्ति सम्झौतामा पुग्न पर्याप्त प्रेरित गरेको हुनुपर्छ । अवश्य पनि, रुस एक सामान्य देश होइन र यसका नेताहरूले प्रायः तर्कहीन व्यवहार गरेका छन् । युक्रेन युद्ध यसको एउटा उदाहरण हो । पुटिनले रुसी सेनाको क्षमतालाई धेरै बढी आकलन गरेका थिए । उनले केही दिनमै विजय घोषणा गर्ने अपेक्षा गरेका थिए भने पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको आक्रमण भएमा "कठोर र समन्वित आर्थिक प्रतिक्रिया" दिइनेछ भन्ने पटकपटकको चेतावनीलाई बेवास्ता गरेका थिए।
रुसका नेताहरू पनि कहिलेकाहीँ भने जनताको इच्छासामु झुकेका छन्। निकिता ख्रुश्चेभले आफ्ना पूर्ववर्ती जोसेफ स्टालिनको पाइला पछ्याएर कठोर तानाशाही शासन चलाउन सक्थे । तर, उनले ठूलो दमनको अन्त्य गर्ने समाजको चाहनालाई ध्यान दिए र अस्टालिनीकरणको नीति अपनाए । मिखाइल गोर्बाचोभको "पेरेस्त्रोइका" र "ग्लास्नोस्त" पनि जनताको मागप्रतिको प्रतिक्रिया थिए ।
पुटिनसँग चाँडै सम्झौता गर्न अर्को राम्रो कारण हुन् : ट्रम्प । नोबेल शान्ति पुरस्कार पाउने र विदेशी मामिलामा संलग्नताको विरोध गर्ने एक अव्यवस्थित र राष्ट्रवादी आधारलाई शान्त पार्ने दुवै इच्छाले प्रेरित ट्रम्पले पुटिनमाथि निकै दबाब दिइरहेका छन् जसमा रुसमाथि अझ कठोर प्रतिबन्धहरू लगाउने धम्की पनि समावेश छ । तर धेरै प्रकारले भने ट्रम्प क्रेमलिनका लागि सपना साकार भएको जस्तो पनि छन् । ट्रम्प पुटिनलाई मन पराउँछन् र उनीसँग सम्झौता गर्न चाहन्छन् । अर्कातिर ट्रम्प युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई मन पनि पराउँदैनन् भने युक्रेनप्रति उनको प्रतिबद्धता पनि कम छ ।
यसको अर्थ रुसले सम्झौताका लागि ठूलो मूल्य चुकाउनु पर्दैन भन्ने भने होइन । कम्तीमा पुटिनले युरोपेली अधिकारीहरूले प्रस्ताव गरेजस्तै युद्धविराममा सहमत हुनुपर्छ । त्यसपछि युक्रेनका लागि सुरक्षा ग्यारेन्टीसहित 'आपसी भूमि आदानप्रदान' गर्नुपर्छ । कुनै पनि सम्झौताका लागि पुटिनले युक्रेनलाई रुसको प्रभाव क्षेत्रमा ल्याउने प्रयास त्याग्नुपर्नेछ र युक्रेनलाई युरोपसँगको आफ्नो सम्बन्धलाई अझ गहिरो बनाउन अनुमति दिनुपर्नेछ ।
सन् १९८० को दशकमा गोर्बाचोभ र रोनाल्ड रेगनले ऐतिहासिक शिखर सम्मेलनहरूको एउटा शृंखला चलाएका थिए जसले शीतयुद्धको अन्त्यका लागि बाटो खोलेको थियो । अलास्कामा ट्रम्पसँग पुटिनको भेट पनि त्यस्तै ऐतिहासिक साबित हुन सक्छ । तर त्यो तबमात्र सम्भव छ जब उनले आफूले सिर्जना गरेको दलदलबाट बाहिर निस्कन केही मूल्य चुकाउनुपर्नेछ भन्ने स्वीकार गर्छन् ।
(द न्यु स्कुलमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयकी प्राध्यापक)
Copyright: Project Syndicate, 2025.