site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेतृत्व फेरिएसँगै प्राधिकरणको नाफा घट्यो, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व फेरिएसँगै नाफामा उल्लेख्य गिरावट आएको छ । प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणअनुसार, आर्थिक वर्ष २०८१/८२ मा कर कट्टीअघिको नाफा ९ अर्ब ६ करोड रुपैयाँमात्रै छ । यो आर्थिक वर्ष २०८०/८१ को भन्दा ५ अर्ब ४० करोड कम हो । यो गत आर्थिक वर्षको तुलनामा ३७.३२ प्रतिशत कम हो ।

प्राधिकरण ०७३/७४ देखि निरन्तर नाफामा संस्था हो । जसअुनसार आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड नाफा थियो । आर्थिक वर्ष ०७४/७५ मा ३ अर्ब ४४ करोड, ०७५/७६ मा ९ अर्ब ८१ करोड, ०७६/७७ मा ११ अर्ब ७५ करोड थियो । 

कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएसँगै प्राधिकरण ओरालो यात्रामा लागेको देखिन्छ । यस्तै ०७७/७८ मा नाफा घटेर ६ अर्ब ९ करोडमा झरेको थियो । ०७८/७९ मा १३ अर्ब ३७ करोड, ०७९/८० मा ९ अर्ब ४१ करोड, ०८०/८१ मा १४ अर्ब ४६ करोड नाफा थियो । 

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको थियो । दुवै देशमा निर्यातको कुल रकम १७ अर्ब ४७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षमा भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात भएको छ । 

प्राधिकरणले यस अवधिमा ४ अर्ब ५५ करोड रुपैयाँ व्यापार नाफा गरेको थियो । ०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो । सोही आर्थिक वर्षमा १६ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

विद्युत् निर्यातबाट भएको आम्दानी १७ अर्ब ४७ करोड १० लाख  सहित ०८१/८२ मा प्राधिकरणले विद्युत् बिक्रीबाट १ खर्व २५ अर्ब २७ करोड ७० लाख आम्दानी गरेको थियो । ०८०/८१ को तुलनामा ८.४६ प्रतिशतले बढी हो । अन्य श्रोतबाट प्राप्त आम्दानीसहित आर्थिक वर्ष ०८१/८२ को कुल आम्दानी एक खर्व ३८ अर्व ८७ करोड रहेको थियो । 

किन घट्यो नाफा 

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार यसवर्ष जोखिमवापत ५ अर्ब रुपैयाँ छुट्याएका कारण नाफामा कमी आएको हो । यस्तै सञ्चालन खर्चमा पनि १० प्रतिशत धेरै बढोत्तरी भएको उनको भनाइ छ । 

शाक्यले  प्रस्तुत गरेको तथ्यांकअनुसार ०८१/८२ मा प्राधिकरणको कुल सञ्चालन खर्च अघिल्लो ०८०/८१ को तुलनामा १०.१५ प्रतिशत बढेको थियो ।

जसअनुसार सञ्चालन खर्च ९७ अर्व ७८ करोड ७० लाख पुगेको छ । विद्युत् खरिदवापतको मात्र खर्च ०८०/८१ को तुलनामा ११.७३ प्रतिशत बढ्दा ७७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । अन्य मुख्य खर्चहरूमा उत्पादनतर्फ २ अर्ब ७ करोड, प्रसारणतर्फ ३ अर्ब २४ करोड, वितरणतर्फ १२ अर्ब २२ करोड र रोयल्टीतर्फ १ अर्ब ८४ करोड रहेको शाक्यले बताए ।

यी खर्चहरूको अलवा व्याज खर्च, ह्रास कट्टी खर्च, वैदेशीक विनिमयमा भएको नोक्सानीसहित आर्थिक वर्ष ०८१/८२ को कुल खर्च एक खर्व २९ अर्व ८१ करोड रहेको छ । प्राधिकरणको कुल सम्पत्ति आर्थिक वर्ष ०८०/८१ को दाँजोमा ६.२ प्रतिशत बढेर आर्थिक वर्ष ०८१/८२ मा ६ खर्व ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

सरकारी अनुदान, सडक बत्ति अनुदान तथा ट्रंकलाइन बक्यौताबाहेक प्राधिकरणको औसत संकलन अवधि ४५.८४ दिन रहेको छ । 

प्राधिकरणले गत आर्थिक वर्षमा १७ करोड ६७ लाख ११ हजार युनिट विद्युत् निःशुल्क उपलब्ध गराएको शाक्यले बताए । “०८१/८२ मा प्राधिकरणले ५ एम्पियर क्षमतासम्मका करिब २० लाख ७३ हजार ५१४ ग्राहस्थ ग्राहकहरूलाई कुल १७ करोड ६७ लाख ११ हजार युनिट विद्युत निःशुल्क उपलब्ध गराएको छ” उनले भने । 

अनलाइन भुक्तानी बढ्यो 

कार्यकारी निर्देशक शाक्यका अनुसार, प्राधिकरणलाई अनलाइनमार्फत शुल्क तिर्ने ग्राहक बढेका छन् । अघिल्लो आर्थिक वर्षमा २७ अर्ब ४४ करोड संकलन भएकोमा बढेर ०८१/८२ मा ३४ अर्ब ३३ करोड पुगेको छ । प्राधिकरणले बेच्ने बिजुलीको औसत बिक्री दर प्रति युनिट ९.४४ रुपैयाँ रहेको छ । 

गत वर्ष ४३४ मेगावाट मात्रै थप 

कार्यकारी निर्देशक शाक्यकाअनुसार आर्थिक वर्ष ०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय प्रसारण प्रणालीमा जम्मा ४३४ मेगावाट मात्रै बिजुली थप भएको छ । जसमा प्राधिकरणको सहायक कम्पनीहरूको योगदान १५३.५ मेगावाट छ । जसमा निजी क्षेत्रको योगदान २८०.५ मेगावाट रहेको छ । 

प्राधिकरणका सहायक कम्पनीमध्ये रसुवागढी हाइड्रोपावर कम्पनीबाट १११ मेगावाट र साञ्जेन जलविद्युत कम्पनीबाट ४२.५ मेगावाट विद्युत थप भएको शाक्यले जनाए । गत आर्थिक वर्षको अन्त्यसम्म विद्युत् प्रणालीमा कुल जडित क्षमता ३५ सय ९१ मेगावाट पुगेको थियो । ०८१/८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६४१ गिगावाटघण्टा विद्युत उपलब्ध भएको थियो । 

यस्तै मध्य भोटेकोशी जलविद्युत् कम्पनीबाट निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजनाको निर्माण सम्पन्न भई परिक्षण कार्य अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले ४० मेगावाटको राहुघाट, १४० मेगावाटको तनहुँ, ३७ मेगावाटको त्रिशुली ३ बी, २२ मेगावाटको रोल्वालिङ्, ९९.८ मेगावाटको तामाकोशी पाँचौं, ४२ मेगावाटको माथिल्लो मोदी ए, १८.२ मेगावाटको  माथिल्लो मोदी निर्माण गरिरहेको छ ।

प्रसारण लाइनतर्फ

आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल २५३ सर्किट किलोमिटर प्रसारण लाइन थप भएको शाक्यले जानकारी दिए । २५३ मेगावाट थप हुँदा प्रसारण लाइनको कुल लम्बाइ ६,७६० सर्किट किलोमिटर पुगेको छ । यस्तै २ हजार ३४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन अवस्थामा छन् ।

०८१/८२ मा नयाँ खिम्ती–बाह्रबिसे ४०० के.भी., चिलिमे–त्रिशूली २२० के.भी., न्यू बुटवल–बर्दघाट २२० के.भी., ढुङ्गेसाङ्गु–बसन्तपुर २२० के.भी. र ढल्केवर–लोहरपट्टी १३२ के.भी. प्रसारण लाइनहरूको निर्माण सम्पन्न भएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । 

मार्किचोक, उदयपुर र बाह्रबिसे २२०/१३२ के.भी. जि.आइ.एस. सबस्टेसन, ढल्केवर–लोहरपट्टी १३२ के.भी., मूलपानी १३२/११ के.भी. सवस्टेशन, प्रसौनी १३२/११ के.भी. सवस्टेशन र अमलेखगञ्ज १३२/६६/११ के.भी. सबस्टेसनहरूको निर्माण सम्पन्न भएका भएका छन् । मलेखु १३२/३३ के.भी. सबस्टेसनको विस्तार सम्पन्न भएको शाक्यले जनाए । 

०८२/८३ मा सम्पन्न हुनेगरी ५२ वटा ग्रिड सबस्टेसनहरूमा सवस्टेशन अटोमेशन प्रणाली कार्यान्वयन भइरहेको शाक्यले जानकारी दिए । 

०८१/८२ मा ४७३ एमभिए क्षमता बराबरका १४ वटा  ३३/११ के.भी. सवस्टेशनहरू र ९३३६ सर्किट किलोमिटर वितरण लाइन थप भएको छ । त्यस्तै ३३८ एमभिए क्षमता बराबरको  ३१५१ वटा वितरण ट्रान्सफर्मर थप गरिएका छन् । वितरण लाइनको कुल लम्बाई २ लाख १८ हजार ६६ सर्किट–किलोमिटर र वितरण सवस्टेशनको क्षमता २९ सय ९७ एमभिए नाघेको छ ।

प्रसारण सबस्टेसन क्षमता गत आर्थिक वर्षमा १ हजार ७३ एमभिए थप भई कुल १४ हजार १२३ एमभीए पुगेको शाक्यले जानकारी दिए । ६ हजार ३३८.५० एमभीए क्षमताका सबस्टेसन निर्माणाधीन अवस्थामा छन् । 

११ प्रतिशत भारतीय बिजुली 

जसमा प्राधिकरण तथा यसका सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत र स्वतन्त्र विद्युत् उत्पादक (आइपीपी)को योगदान ५५ प्रतिशत रहेको थियो । यस्तै ११ प्रतिशत बिजुली भारतबाट आयात गरिएको थियो । 

नेपालको आन्तरिक विद्युत् खपत गत आर्थिक वर्षमा १०.७ प्रतिशतले बढेर ११ हजार ३१९ गिगावाटघण्टा पुगेको छ । गत आर्थिक वर्षमा भारततर्फ २३ सय ८० गिगावाट घण्टा भारतीय बजारमा बिजुली बिक्री भएको शाक्यले जनाए । सोही अवधिमा नेपालले १७ सय १२ गिगावाट घण्टा विद्युत आयात गरेको थियो । ०८१/८२ मा नेपालबाट ६६८ गिगावाट घण्टा खुद विद्युत निर्यात भएको थियो । 

०८२ असार १८ गते प्राधिकरणको प्रणालीमा सर्वाधिक माग २९ सय १ मेगावाट रेकर्ड भएको छ । जसमा २२ सय १४ मेगावाट स्वदेशमै खपत भएको थियो । बाँकी ६८७ मेगावाट भारततर्फ निर्यात भएको थियो । सुक्खा मौसममा नदी प्रवाही आयोजनाको उत्पादन घटेका कारण ०८१ पुस महिनामा भारतबाट अधिकतम २७४ मेगावाट विद्युत आयात गरिएको थियो ।

आर्थिक वर्ष ०८१/८२ मा प्राधिकरणको ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशत बढेको शाक्यले जानकारी दिए । जसअनुसार प्राधिकरणको ग्राहक ५७ लाख १० हाजर पुगेको छ । यसमा सामुदायिक ग्रामीण विद्युतीकरणमार्फत सेवा लिइरहेका झण्डै ४ लाख ७० हजार ग्राहकहरू समावेश नभएको शाक्यले जनाए । 

घरेलु ग्राहक ९१ प्रतिशत

प्राधिकरणको तथ्यांक अनुसार घरेलु ग्राहकको हिस्सा ९१ प्रतिशत बढी छ । कुल ग्राहक संख्यामध्ये घरेलु ग्राहकको हिस्सा ९१.०८ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । यस्तै औद्योगिक ग्राहकको हिस्सा जम्मा १.२३ प्रतिशत तथा अन्य ग्राहकहरूको हिस्सा ७.६९ प्रतिशत छ । राष्ट्रिय ग्रिड पहुँच करिव ९८ प्रतिशतमा पुगेको छ । प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ४६५ युनिट पुगेको छ ।

विद्युत चुहावटमा ०.४७ प्रतिशत कमी आई १२.२६ प्रतिशत कायम भएको शाक्यले जनाए । 

निजी क्षेत्रको २९२९ मेगावाट

प्राधिकरणका अनुसार सञ्चालनमा रहेका निजी क्षेत्रका आयोजनाको संख्या हालसम्म २०४ वटा पुगेको छ । उक्त आयोजनाको  कुल जडित क्षमता २९ सय २९ मेगावाट छ । यस्तै ४ हजार ३०३ मेगावाट क्षमताका १४२ वटा आयोजनाहरू वित्तीय व्यवस्थापन सम्पन्न भएर निर्माणमा छन् । यस्तै कुल ४ हजार २०३ मेगावाटका १४८ आयोजना विकासका विभिन्न चरणमा रहेको प्राधिकरणले जनाएको छ ।

०८१/८२ मा ३१ वटा निजी प्रवद्र्धकहरूसँग ९३२ मेगावाट जलविद्युत आयोजना र ८ वटा प्रवद्र्धकहरूसँग जम्मा १७० मेगावाटको सौर्य विद्युत आयोजनाको विद्युत खरिद सम्झौता गरेको जनाएको छ । यससँगै  प्राधिकरणले निजी विद्युत् उत्पादकसँग गरेको कुल विद्युत् खरिद सम्झौता संख्या ४९४ पुगेको छ । जसको कुल क्षमता ११ हजार ४३६ मेगावाट हुन्छ । यस्तै सोलारतर्फ ९६० मेगावाटको पीपीएको चरणमा रहेको शाक्यले जनाए ।
 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्