site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
कुवेतमा विषाक्त मदिरा प्रकरण : दसीसहित पक्राउ परेका थिए नेपाली

काठमाडौं । कुवेतमा अवैध तरिकाले मदिरा उत्पादन गरी बिक्री गर्दै आएका एक नेपाली रंगेहात पक्राउ परेका छन् । कुवेतको मिडिया द टाइम्स कुवेत र अरब टाइम्सले आफ्नो समाचारमा स्थानीय प्रहरीले कुवेतका सलमियाबाट नेपाली नागरिक भुवनलाल तामाङलाई रंगहात पक्राउ गरेको उल्लेख गरेका छन् । 

“सलमियाबाट भुवनलाल तामाङ भनेर चिनिने नेपाली नागरिकलाई मिथानोलसहित रंगेहात पक्राउ गरिएको थियो । उनले पदार्थ तयार गर्ने र बेच्ने गरेको स्वीकार गर्दै आफूले कसरी व्यवसाय गरेँ भनेर विस्तृतरूपमा वर्णन गरेका थिए,” द टाइम्स कुवेतको समाचारमा उल्लेख छ । 

गत साता विषाक्त मदिरा सेवन गर्दा कुवेतमा २३ जनाको मृत्यु भइसकेको छ । १६० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवनका कारण हालसम्म ११ जना नेपालीको मृत्यु भएको पुष्टि भएको जानकारी दिए । नेपाल पत्रकार महासंघ कुवेत शाखाले भने १६ जना नेपालीको मृत्यु भएको जनाएको छ । 

विशाक्त मदिरा सेवन अरी अशक्त बनेका अझै ४० जनाभन्दा बढी नेपाली विभिन्न अस्पतमला उपचारत रहेको उनले बताए ।  

विषाक्त मदिरा सेवन गरी धेरैको मृत्यु भएपछि कुवेतको प्रहरीले यस्ता पदार्थ उत्पादन तथा बिक्री गर्नेको खोजी सुरु गरेको थियो । यसैक्रममा दुई नेपालीसहित ६७ जनालाई प्रहरीले पक्राउ गरेको कुवेती मिडियाले जनाएका छन् । 

पक्राउ पर्नेमा नेपाली, बंगलादेशी र भारतीय छन् । पक्राउ पर्ने अर्का एक नेपालीमा नारायणप्रसाद बश्याल छन् । 

कुवेत सरकारले कुवेतमा मदिरा उत्पादन, बिक्री वितरण र सेवन गर्न निषेध गरेको छ । तर, केही व्यक्तिहरूले लुकिछिपि मदिरा उत्पादन गरी बिक्री गर्ने गरेको पछिल्ला घटनाले पुष्टि गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्