वैदेशिक रोजगार नेपाली जनजीवनको अभिन्न अङ्ग बनेको त धेरै पहिले नै हो । अब त अर्थतन्त्र पनि वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा निर्भर हुने अवस्थामा पुगेको देखिन्छ । तै पनि राज्यले वैदेशिक रोजगारी विशेषगरी खाडी तथा मलेसियामा शारीरिक श्रममा संलग्न कामदारहरूलाई गम्भीरतापूर्वक लिएको देखिँदैन ।
हालै कुबेतमा बिखालु मदिरा सेवन गरेका कारण १६ जना नेपालीको मृत्यु भएको र पचासौं जना बिरामी भएको समाचार सार्वजनिक भएको छ । बिरामीमध्ये पनि केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । कुबेतमा मदिरा सेवन अवैध हुनाले बिरामी निको भएपछि तिनले कानुनी कारबाहीसमेत भोग्नुपर्ने हुनसक्छ ।
यस्तै अर्को प्रमुख रोजगार गन्तव्य मलेसियामा अकालमा ज्यान गुमाउने नेपाली कामदारको सङ्ख्या उच्च रहिआएको छ । मलेसियामा बितेका ५ वर्षमा वैदेशिक रोजगारमा गएका ९ सय १५ जना नेपालीले अकालमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार मलेसियामा नेपाली कामदारको सङ्ख्या पनि अपेक्षाकृत बढी नै छ ।
यस्तै अकाल मृत्युको दुःखद समाचार जापान, कोरियालगायतका रोजगार गन्तव्यबाट पनि आउने गरेका छन् । यस्ता अधिकांश मृत्यु सामान्य स्वास्थ्य चेतना तथा सावधानीको अभावका कारण भएको देखिन्छ । अर्थात्, बेलैमा सावधानी अपनाइएको भए यीमध्ये अधिकांशको ज्यान अकाल मृत्युबाट जोगाउन सकिन्थ्यो ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूको अकाल मृत्युका प्रमुख कारणमा कार्यस्थलको अवस्था र जीवनशैली नै रहेको देखिन्छ । कामदारहरूले स्वदेश र विदेशमा सहनुपरेको शोषणका कारण बढ्ने मानसिक तनाव पनि उनीहरूको ज्यान लिने कारण बनेको पाइन्छ । अर्थात्, राज्यले ध्यान दिएको भए उनीहरूको ज्यान जोगिन सक्थ्यो ।
पक्कै पनि सरकार वैदेशिक रोगजारीका सबै कार्यस्थलमा पुग्न र निगरानी गर्न सक्दैन । यस्तै, रोजगारीका लागि जानेहरूले पनि सधैँ नेपाल सरकारको आदेश पर्खेर बस्न सक्दैनन् । तर, राज्यले आफ्ना दूतावासमार्फत् सम्बन्धित देशमा रहेका नागरिकहरूसँग नियमित सम्पर्क राख्न र तिनको समस्या सुन्न भने सक्छ, सक्नु पनि पर्छ । आवश्यक भए यसका लागि अलग्गै संवाद संयन्त्र बनाए पनि हुन्छ ।
यस्तै, वैदेशिक रोजगारीमा पठाउने व्यवसाय पनि निकै आकर्षक भएको पाइन्छ । रोजगारी र कामदारका बीचमा सेतुको काम गर्ने यो ‘म्यानपावर’ भनिने व्यवसाय गर्नेहरूले पनि कामदारको हित रक्षाका लागि सरकार र रोजगारदातासँग मिलेर काम गर्नुपर्छ । विशेषगरी नौलो परिवेश, हावापानी र ठाउँमा नयाँ काम गर्न जान लागेका युवालाई पर्याप्त जानकारी दिइए पनि धेरै दुर्घटनाबाट जोगाउन सकिनेछ ।
यसैले वैदेशिक रोजगारीका लागि जानु पूर्व दिइने अभिमुखीकरण झारा टार्ने प्रकृतिको हुनु दिनु भएन । रोजगार गन्तव्यमा नजाँदै उनीहरूले सामना गर्नुपर्ने कठिनाइहरूका बारेमा जानकारी दिएर शारीरिक र मानसिकरूपमा त्यसलाई सामना गर्न तयार बनाउनुपर्छ । भएकै नियम कानुनलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिए पनि तत्कालका लागि पर्याप्त हुनसक्छ ।
वैदेशिक रोजगारीमा गएका कामदारहरूमध्ये कतिपयले आत्महत्या पनि गरेका छन् । बेलैमा मनोसामाजिक विमर्श उपलब्ध गराउन सके त्यस्ता अधिकांश घटना रोक्न सकिन्छ । यसैले सरकारले रोजगारीको मुख्य गन्तव्यमा मनोसामाजिक विमर्श सेवाको पनि व्यवस्था मिलाउनुपर्ने देखिन्छ । नयाँ जनशक्ति थप गर्न नसके भएकैमध्येलाई तालिम दिएर मनोसामाजिक विमर्शदाता बनाए हुन्छ ।