
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल एनपीजीए म्याच–प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई खेलाडी नीरज तामाङले फराकिलो अन्तरको जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।
डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति, धनबहादुर थापा, रवि खड्का, प्रदीपकुमार लामा, तोरणविक्रम शाही र रामे मगरले पनि अन्तिम आठमा स्थान बनाए ।
रोयल नेपाल गल्फ क्लबमा मंगलबार भएको खेलमा नेपाल नम्बर एक गल्फर भुवनले १६औँ वरीयताका पशुपति शर्मालाई ५/४ ले हराए । चार होल अगाडि जित निकालेका उनले अब क्वाटरफाइनलमा धनबहादुर थापालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन् । आठौँ वरीयताका धन र नवौँ वरीयताका भुवनकुमार रोक्काबीच कडा प्रतिस्पर्धा चलेको थियो । १७औँ होलको समाप्तिसम्म दुवै बराबरीमा थिए । १८औँ होल जितेर धनले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।
नेपाल नम्बर २ प्रो नीरजले १५औँ वरीयताका सूर्यप्रसाद शर्मालाई सहजै ५/४ ले हराए । चार होल अगाडि पहिलो चरणको खेल जितेका नीरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन् । नीरजले अब सातौँ वरीयताका रामे मगरसँग क्वार्टरफाइनल खेल्नेछन् । रामेले १०औँ वरीयताका दीपक मगरलाई ४/३ को नतिजामा हराए ।
डिफेन्डिङ च्याम्पियन तेस्रो वरीयताका दिनेश प्रजापतिले १४औँ वरीयताका रमेश अधिकारीलाई ४/३ ले हराए । उनले अब अनुभवी तोरणविक्रम शाहीसँग सेमिफाइनल प्रवेशको लागि खेल्नेछन् । ११औँ वरीयताका तोरणसँग छैटौँ वरीयताका जयराम श्रेष्ठ ३/२ ले पराजित हुन पुगे ।
यसैगरी चौथो वरीयताका रवि खड्काले १३औँ वरियताका टंकबहादुर कार्कीलाई ३/२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । रविले अब १२औँ वरीयताका प्रदीपकुमार लामासँग खेल्नेछन् । प्रदीपले पाँचौँ वरीयताका सञ्जय लामाविरूद्ध २/१ को अप्रत्यासित नतिजा निकाले ।
सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी दुई लाख ५० हजार रहेको छ । उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन् । क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन् । मंगलबार पहिलो चरणमा पराजित भएका आठ खेलाडीले नगद ६/६ हजार पाउनेछन् ।
बुधबार क्वार्टरफाइनल र सेमिफाइनल खेल १८/१८ होलको हुनेछ । फाइनल र तेस्रो स्थानको लागि बिहीबार प्रतिस्पर्धा हुनेछ । फाइनल भने ३६ होलको हुनेछ ।