
काठमाडौं । प्रहरीले पक्राउ गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाललगायतलाई के मुद्दा लगाउने भन्ने टुंगो लागेको छैन । शुक्रबार राजावादीले गरेको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र सविन महर्जनको ज्यान गएको थियो ।
दुर्गा प्रसाईंको नेतृत्वमा सुरु भएको प्रदर्शनमा मिश्र, राणा र नेपालसहित सम्मिलित थिए । प्रदर्शन अराजक बनेपछि उनीहरू पक्राउ परेका हुन् ।
प्रदर्शनमा शनिबार अदालत नखुलेका कारण उनीहरूलाई उपस्थित गराइएको थिएन । आइतबार भने पक्राउ परेकाहरूलाई अदालत उपस्थित गराउने तयारी प्रहरीको छ ।
तर, पक्राउ परेको दुई दिन बित्दा पनि उनीहरूमाथि के मुद्दा चलाउने भन्ने टुंगो लागेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौैैंका एसपी अपिलराज बोहराले उनीहरूलाई आज ५ बजेभित्र अदालत बुझाउनेगरी तयारी थालिएको बताए ।
उनले भने, ‘‘अहिले नै के मुद्दा चलाउने भन्ने टुंगो लागेको छैन । हामीसित ५ बजेसम्म समय छ ।’’
प्रहरीले शुक्रबारको प्रदर्शनमा अराजक गतिविधि गर्ने १११ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भने अझैसम्म पक्राउ परेका छैनन् । प्रहरीको टोलीले उनको खोजी तीव्र पारेको जनाएको छ ।