
तुलसीपुर (दाङ) । तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका चारैजनाको सनाखत भएको छ ।
दुर्घटनामा तुलसीपुर–७, श्रीगैँ निवासी ८५ वर्षीय जयबहादुर वली र ८३ वर्षीया धनमाया वली, तुलसीपुर–४, गोठीखोला निवासी ७५ वर्षीय परवीर खत्री र गाडी चालक तुलसीपुर–७, पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईंको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको यूपी ३१ एसी ७२०० नम्बरको स्कारपियो गाडी भारतको तुलसीपुरमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् भने दुईजना समान्य छन् ।
गाडीमा सवार सबै यात्रु तुलसीपुरका रहेका जनाउँदै प्रहरी निरीक्षण्क रानाले मृतकको शवलाई नेपाल ल्याउने तयारी गरिएको बताए । रासस