
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना रकम तिर्न राजावादीले ६ लाख ८२ हजार रुपैयाँ संकलन गरेका छन् । हालसम्म ६ लाख ८२ हजार रुपैयाँ संकलन भइसकेको राजतन्त्र पक्षधर पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले जानकारी दिए ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो अधिकार प्रयोग गरेको भन्दै उनलाई गाली नगर्न पनि बास्तोलाले आग्रह गरेका छन् । पूर्वराजा शाहलाई नभई दुर्गा प्रसाईं र नवराज सुवेदीका नाममा जरिवानापत्र पठाउन उनले माग गरेका छन् ।
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शनक्रममा तोडफोड र फोहोर गरेको आरोपमा महानगरले जरिवाना तिराउने निर्णय गरेको थियो । महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
उक्त पत्र लिएर आइतबार (चैत १७) बिहान महानगरको नगरप्रहरी टोली निर्मलनिवास पुगेको थियो । तर, निर्मलनिवासले पत्र बुझेन । त्यसपछि हुलाकमार्फत जरिवानापत्र पठाइएको महानगरले जनाएको छ ।