
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशले कोसी प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।
वाग्मती प्रदेशले दिएको २६० रनको लक्ष्य मधेस प्रदेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै हासिल गर्यो । मधेसका लागि कप्तान अनिलकुमार साहले सर्वाधिक अविजित ७० रन बनाए । उनले ५३ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे । साथै, रोहन विश्वकर्माले ३९, हरिशंकर साहले ३३, पवन सर्राफले ३१ र रुपेश सिंहले अविजित २५ रन बनाए ।
वाग्मतीका लागि सूर्य तामाङले दुई विकेट लिए भने रिजन ढकाल, गौतम केसी, विपीन आचार्य र इशान पाण्डेले समान एक/एक विकेट लिए ।
यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बाग्मतीले इशान पाण्डेको शतकीय पारीमा आठ विकेट गुमाउँदै २५९ रन बनाएको थियो । वाग्मतीका लागि इशानले १२७ बल खेल्दै १४ वटा चौकाको सहयोगमा ११४ रन बनाए । उसका लागि रिजन ढकाल र विवेक मगरले समान ३०/३० रन बनाउँदा विपिन आचार्यले २७ रन बनाए ।
मधेसका लागि हरिशंकर साह, पवन सर्राफ र अनिल साहले समान दुई/दुई विकेट लिए ।
प्रतियोगितामा मधेस चार जित र पाँच हारसहित आठ अंकले सातौँ स्थानमा छ भने चार जित र पाँच हारसहित वाग्मती अंकतालिकाको चौथो स्थानमा छ । उपाधिका लागि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।