
काठमाडौं । ट्रम्प प्रशासनभित्र भएको गम्भीर सुरक्षा उल्लंघनलाई अमेरिकी प्रशासनले अझै पनि पचाउन सकेको छैन । यो एट्लान्टिक पत्रिकाका पत्रकार जेफ्री गोल्डबर्गलाई सूचना प्रवाह गर्ने प्लेटफर्म ‘सिग्नल’को समूहमा कसरी एड (जोडियो) गरियो भन्ने कथा हो ।
उक्त समूहमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, रक्षामन्त्री पिट हेगसेट र राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज समावेश थिए । जुन समूहमा गोल्डबर्गलाई जोडिएको थियो, त्यहाँ यमनमा रहेका इरान समर्थित हुथी समूहमाथि गर्न लागिएको अमेरिकी आक्रमणबारे कुराकानी भएको थियो ।
अमेरिकाले यो आक्रमण १७ मार्चमा गरेको थियो । यस आक्रमणमा करिब ५३ जनाको मृत्यु भएको थियो भने ९८ जना घाइते भएका थिए । हुथी स्वास्थ्य मन्त्रालयका अनुसार, मृत्यु हुनेमध्ये पाँच बालबालिका थिए ।
गोल्डबर्गका अनुसार, यमनमा रहेका हुथीमाथि हवाई आक्रमण गर्नुभन्दा दुई घण्टाअघि उनलाई आक्रमणको गोप्य योजना प्राप्त भएको थियो । जसमा हतियार प्याकेज, लक्ष्य र समयको विवरण उल्लेख गरिएको थियो ।
सिग्नलको समूहमा भएका कुराकानीबाट केही महत्वपूर्ण सूचना बाहिरिएका छन् । विशेषगरी यहाँ पाँच वटा महत्वपूर्ण सूचनाबारे उल्लेख गरिएको छ ।
१. भान्सले ट्रम्पको सोचमाथि प्रश्न उठाए
सार्वजनिक गरिएको च्याटमा जेडी भान्स नामक एकाउन्टले लेखेको छ, “मलाई लाग्छ, हामी गल्ती गरिरहेका छौं ।”
उपराष्ट्रपति भान्सले सिग्नलको समूहमा सुएज नहर हुँदै गन्तव्यतर्फ जाने जहाजहरूमा आक्रमण गर्ने हुथी सेनालाई लक्षित गर्दा यसले अमेरिकाको भन्दा युरोपको बढी हित हुने उल्लेख गरेका छन् । किनभने युरोपले त्यो नहरबाट बढी व्यापार गर्छ ।
भान्सले समूहमा आफ्नो बोस (ट्रम्प)लाई अमेरिकी कारबाहीले युरोपलाई मद्दत गर्न सक्छ भन्ने कुरा थाहा नहुन सक्ने तर्क गरेका छन् ।
भान्सले भनेका छन्, “मलाई थाहा छैन, राष्ट्रपतिले यो बुझ्नु भएको छ वा छैन कि युरोपलाई दिएको सन्देशसँग यो कति मेल खान्छ भनेर । यसको अलवा तेलको मूल्यमा ठीकठाक वा उल्लेखनीय वृद्धि हुन सक्ने जोखिम पनि छ ।”
गोल्डबर्गका अनुसार, उपराष्ट्रपतिले समूहमा बहुमतलाई समर्थन गर्ने तर एक महिनाका लागि स्थगित गर्ने इच्छा व्यक्त गरेका छन् ।
गोल्डबर्गले आफ्नो लेखमा उल्लेख गरेअनुसार भान्सका प्रवक्ताले पछि उनलाई एक विज्ञप्ति पठाएका थिए । जसमा लेखिएको थियो, “पछि ट्रम्प र भान्सकाबीच यस विषयमा पूर्ण सहमति भएको छ ।”
सत्तामा आएदेखि ट्रम्पले युरोपेली नेटो सहयोगीहरूको आलोचना गर्दै उनीहरूलाई रक्षा खर्च बढाउन दबाब दिंदै आएका छन् । उनले युरोपले आफ्नो हितको रक्षा गर्ने जिम्मेवारी आफैँले लिनुपर्नेमा जोड दिएका छन् ।
२. युरोपमाथि आरोप
अमेरिकाले हुथी विद्रोहीहरूविरुद्ध सैन्य हमला गर्न सक्छ वा गर्नुपर्छ भन्ने बहसबाट भान्स प्रभावित भएनन् । उनले रक्षामन्त्री हेगसेटलाई भने, “यदि तपाईंलाई हामीले यो गर्नुपर्छ भन्ने लाग्छ भने अगाडि बढौँ । मलाई फेरि युरोपलाई सहयोग गर्ने मन छैन ।”
“निःशुल्क प्राप्त गर्न खोज्ने युरोपको शैलीप्रति तपाईंको घृणासँग म सहमत छु । यो एकदमै दयनीय छ,” जवाफमा हेगसेटले भनेका छन् ।
समूहमा रहेका ‘एसएम’ नामक एक सदस्यले आक्रमणपछि ‘अमेरिकाले इजिप्ट र युरोपसँग बदलामा हामी के चाहन्छौं भनी बताउनुपर्छ’ भन्ने सुझाव दिएका छन् ।
उनले सोधेका छन्, “यदि युरोपले क्षतिपूर्ति दिएन भने के हुन्छ ?”
जवाफमा ती सदस्यले भनेका छन्, “यदि अमेरिकाले ठूलो मूल्यमा समुद्री यातायातको स्वतन्त्रता पुनस्र्थापित गर्छ भने त्यसको बदलामा अमेरिकाले केही आर्थिक लाभ पनि पाउनुपर्छ ।”
३. आक्रमण पछि : इमोजी र प्रार्थना
गोल्डबर्गका अनुसार, अमेरिकी राष्ट्रिय सुरक्षा प्रमुखले आक्रमणपछि तीनवटा इमोजी पोस्ट गरेका छन्, एक मुट्ठी, एक अमेरिकी झण्डा र आगो ।
गोल्डबर्गका अनुसार, मध्य–पूर्वका विशेष एजेन्ट स्टीव विटकफले पाँच इमोजीहरू प्रयोग गरेर जवाफ दिएका छन् । ती इमोजी हुन्– जोडिएको हात, बाइसेप्स र दुई वटा अमेरिकी झण्डा ।
विदेशमन्त्री मार्को रुबियो र ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसी विल्सले पनि त्यसमा समर्थन जनाएका थिए । आक्रमणबारे अपडेट दिने क्रममा भान्सले भनेका छन्, “म विजयका लागि प्रार्थना गर्नेछु ।”
त्यसपछि समूहका अन्य दुई सदस्यहरूले प्रार्थना गर्ने इमोजीहरू थपेको गोल्डबर्गले उल्लेख गरेका छन् ।
४. बाइडेन इरानलाई नियन्त्रणमा राख्न असफल
यो कारबाही युरोपमा ट्रम्पको सन्देशविरुद्ध जान सक्छ भन्ने भान्सको चिन्ताबारे अमेरिकी रक्षामन्त्रीले लेखेका छन्, “वीपी (उपराष्ट्रपति) म तपाईंको चिन्ता बुझ्छु र ट्रम्पसँगै यो मुद्दा उठाउन तपाईंलाई समर्थन गर्छु । त्यहाँ केही प्रमुख कुराहरु छन्, जसमध्ये धेरैजसोमा यसको प्रभाव के हुनेछ भन्ने जान्न गाह्रो छ (आर्थिक, युक्रेन शान्ति, गाजा, आदि) ।”
“मलाई लाग्छ, सन्देश धेरै मजबुत हुनेछ, चाहे त्यो जेसुकै होस् । हुथीहरू को हुन् भनी कसैलाई थाहा छैन, त्यसैले हामीले यी कुराहरूमा ध्यान केन्द्रित गर्नुपर्छः बाइडेन असफल भए र इरानले उनीहरूलाई आर्थिक सहयोग गर्यो,” उनले भने ।
ट्रम्प प्रशासनले जो बाइडेन इरानप्रति नरम रहेको आरोप लगाउँदै आएको छ ।
५. निशानामा वाल्ट्ज
गोल्डबर्गका अनुसार, उनले मार्च ११ मा सिग्नल मेसेजिङ प्लेटफर्ममा माइकल वाल्ट्ज नामक खाताबाट अनावश्यक निमन्त्रणा प्राप्त गरेका थिए । त्यसको दुई दिनपछि उनलाई यमनकाबारेमा समूह च्याटमा एड गरिएको थियो ।
राष्ट्रपति ट्रम्प यस समूहको हिस्सा थिएनन् तर उनका नजिकका सहयोगीहरू यसमा थिए ।
सुरुमा गोल्डबर्गलाई यो झुटो हो भन्ने लाग्यो । तर केहीबेरमै उनलाई यो वास्तविक हो भन्ने महसुस भयो ।
यस विषयमा अमेरिकी हाउस र सिनेटमा डेमोक्र्याटहरूले पूर्ण अनुसन्धानको माग गरिरहेका छन् । जसले यो सम्पूर्ण मुद्दामा राष्ट्रिय सुरक्षा सल्लाहकारमाथि दबाब बढेको छ ।
सोमबार यस विषयमा ट्रम्पलाई सोध्दा उनले यसबारे आफूलाई केही थाहा नभएको बताए । तर आफू वाल्ट्जको साथमा उभिने उनले स्पष्ट पारेका थिए ।
रक्षामन्त्रीले कुनै पनि गोप्य कुरा बाहिर नआएको दाबी गरेका छन् । “कसैले पनि युद्धविमानबारे कुरा गरिरहेको थिएन,” उनले पत्रकारहरूसँग भने । (बीबीसीबाट भावानुवाद)