
काठमाडौं । अराजकता र हिंसा निरुत्साहित गर्न माग गर्दै आइतबार (चैत १७) काठमाडौंमा धर्ना दिइएको छ । नागरिक समाजका अगुवाले धर्ना दिएका हुन् । माइतीघरमा उनीहरूले लोकतन्त्र, मानवअधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसा निरत्साहित गर्न मागसहित धर्ना दिए ।
उनीहरूले ‘गणतन्त्रको जग सबल बनाऔँ’, ‘अराजकतालाई नियन्त्रण गर’, ‘आर्थिक अनियमितता र कालोबजारी रोक’, ‘समानता, न्याय र समावेशिता सुनिश्चित गर’, ‘लोकतन्त्रको रक्षा गर’, ‘नागरिक अधिकारको संरक्षण गर’, ‘निहित सत्तास्वार्थको द्वन्द्व अन्त्य गर’, ‘मिडियामाथिको हमला बन्द गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘जनताको सुरक्षामा कुनै सम्झौता नगर’लगायत प्लेकार्ड प्रदर्शन र नारा लगाएर धर्ना दिएका हुन् ।
त्यसक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष एवं बृहत् नागरिक धर्ना अभियानका संयोजक समेत रहेका अर्जुन भट्टराईले नेपाली जनतालाई जागृत, सशक्त हुन र लोकतन्त्रका पक्षमा उभिन आग्रह गरे । केही दिनयता देखिएका घटना घुन पुतली भएको उनले टिप्पणी गरे । लोकतन्त्रमा लागेको घुन पुतलीलाई निमिट्यान्न पार्नुपर्ने उनले बताए ।
उनले लोकतन्त्रलाई बलियो बनाउन आह्वान गरे । घटनामा गम्भीर हुन र जनताको निराशालाई चिर्न सेवा प्रवाहमा सहजता प्रदान गर्न उनले आग्रह गरे । न्युज एजेन्सी नेपाल