
काठमाडौं । सरकारले इस्तानबुल शहरका मेयर एक्रेम इमामोग्लुलाई गिरफ्तार गरेपछि, टर्कीका विपक्षी राजनीतिक दलहरूले यसको विरोधमा नयाँ रणनीति अगाडि सारेका छन् ।
द न्यूयोर्क टाइम्सका अनुसार, टर्कीका विपक्षी दलहरूले राष्ट्रपति रिसेप तय्यप एर्दोगन-समर्थित कम्पनीहरूको बहिष्कार गर्न आग्रह गरेका छन् । साथै, साना र्यालीहरूको सट्टामा शनिबार ठूलो जनप्रदर्शन आयोजना गर्ने योजना पनि बताएका छन् । यसबाहेक, मुस्लिमहरूको पवित्र महिना रमजान मनाउँदै गरेका व्यक्तिहरूका लागि सार्वजनिक इफ्तार (रोजा खोल्ने) भोजन कार्यक्रम पनि समावेश गरिएको छ।
टर्की सरकारले इस्तानबुल शहरका मेयर इमामोग्लुलाई एक हप्ता अघि गिरफ्तार गरेको थियो। इस्तानबुलका मेयर इमामोग्लु राष्ट्रपति एर्दोगनका प्रमुख राजनीतिक प्रतिद्वन्दी मानिन्छन् ।
विपक्षी राजनीतिक दलहरूले यो गिरफ्तारीलाई लोकतन्त्रमाथि हमला भनेका छन्। यसपछि टर्कीको इस्तानबुल र अन्य शहरहरूमा व्यापक प्रदर्शनहरू भइरहेका छन् । लाखौं जनताले सरकारविरोधी प्रदर्शनमा सहभागीता जनाइरहेका छन् ।
तर सरकारले प्रदर्शनकारीहरूमाथि कडा दमनकारी नित लएको छ। द न्यूयोर्क टाइम्सका अनुसार, सरकारले प्रमुख शहरहरूमा प्रदर्शनमाथी प्रतिबन्ध लगाएको छ र सामिजक सञ्जाल माध्यम हरूमा पहुँच सीमित पारेको छ। दङ्गा नियन्त्रण प्रहरीले प्रदर्शनकारीहरूलाई सडकबाट हटाउन वाटर क्यानन र अश्रु ग्याँस प्रयोग गरेका छन्।
टर्कीको आन्तरिक ममिला मन्त्रालयलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएअनुसार, प्रदर्शनका क्रममा १,३०० भन्दा बढी व्यक्तिहरू गिरफ्तार भएका छन् भने लगभग १७० जनाविरुद्ध अदालती कारबाही सुरु गरिएको छ। गिरफ्तार भएकाहरूमा एजेन्सी फ्रान्स-प्रेस (एएफपी) का एक फोटोग्राफर सहित ११ पत्रकारहरू पनि छन्।
प्रहरीले इस्तानबुलका मेयर एक्रेम इमामोग्लुलाई चैत ५ (मार्च १८) मा भ्रष्टाचार र आतंकवादलाई समर्थन गरेको आरोपमा गिरफ्तार गरेपछि टर्कीमा राजनीतिक संकट उत्पन्न भएको हो। सरकारले मेयर इमामोग्लुमाथि सिटी हलमा आपराधिक संगठनको नेतृत्व गरेके, घुस लिएको र नागरिकहरूको व्यक्तिगत डाटा दुरुपयोग गरेको जस्ता आरोप लगाएको छ। मेयर इमामोग्लुले यी आरोपहरू अस्वीकार गर्दै आएका छन्। विपक्षी दलहरूले भने यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।