
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले काठमाडौंका मेयर बालेन शाहलाई कानुनी कठघरामा उभ्याउन माग गरेको छ ।
महानगर कमिटीले मंगलबार विज्ञप्ति जारी गर्दै शाहको आफ्नै कमजोरीका कारण महानगरको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकेर कर्मचारीको तलब भत्ता रोकिएको दाबी गरेको छ ।
शाहले सोमबार साँझ ‘अबको एक हप्तामा कर्मचारीले तलब नपाए टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएका थिए । युवा संघ नेपाल महानगर कमिटीले यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सस्तो लोकप्रियता र सामजिक सञ्जालमा लाइक बटुल्नका लागि स्तरहीन अभिव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित नगर्न नगर समितिले सचेत गराएको छ ।
विज्ञप्त्मिा भनिएको छ, “कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ ।”