site stats
बाह्रखरी :: Baahrakhari
देश
इमान, निष्ठा र क्षमताले कार्यसम्पादन गरे न्यायपालिका कहिल्यै बदनाम हुँदैन : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले इमान, निष्ठा र क्षमताका अधारमा कार्यसम्पादन गर्दा न्यायपालिका कहिल्यै बदनाम नहुने बताएका छन् । शनिबार (जेठ १७) न्यायपालिका अधिकृत समाजको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटनसत्रमा उनले यस्तो बताएका हुन् ।

“एकपटक हामीले इमान र निष्ठासँगै क्षमतालाई फ्युजन गराएर कार्यसम्पादन गर्‍यौँ भने न्यायपालिका कहिलै बदनाम हुँदैन,” उनले भने ।

Argakhachi Cement Island Ad

न्यायपालिकाप्रति सोझिएको प्रश्नको समाधानका निम्ति आफूले सधैँ प्रयास गरिरहेको उनले उल्लेख गरे । “न्यायपालिकामा सधैँ मेरो भूमिका हुँदैन, तर भूमिकामा भएको समयमा मैले केही गर्न सकिनँ भने त्यसको कुनै अर्थ हुँदैन,” उनले भने, “त्यसकारण हामीप्रति सोझिएको प्रश्नको समाधान गर्ने प्रयासमा छु ।”

उनले मर्यादित, सम्मानित र प्रतिष्ठित न्यायपालिका निर्माणमा कर्मचारीको भूमिका महत्त्वपूर्ण रहने बताए । देशभरका न्यायालयको रेकर्ड हेर्दा कर्मचारी न्यायपालिकाको आधारस्तम्भ भएको आफूले महसुस गरेको प्रधानन्यायाधीश राउतको भनाइ थियो ।

उनले कर्मचारीकै सहयोग र बलमा न्यायिक सुधार गर्ने प्रयासमा आफू रहेको पनि बताए । कर्मचारीमा उत्साह जगाउनेतर्फ आफू सधैँ सजग रहेको उनले स्पष्ट पारे ।

उनले विधिको शासनको रक्षा र न्यायिक अक्षुण्णता कायम राख्नेतर्फ ध्यान दिन आग्रह गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्