
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले 'समृद्ध नेपाल, सुखी नेपाली'को सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताएका छन् ।
मंगलबार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनमा प्रधानमन्त्री ओलीले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भए पनि त्यसो नभइरहेको बताए ।
उनले प्रतिपक्षहरू कसरी आफू बच्ने र सरकार र अरूलाई बदनाम गर्ने भन्नेमा लागेको बताए । तर, यस्ता कुरामा अलमलिने समय आफूसँग नभएको उनको भनाइ छ ।
"कसरी सरकार वा आफूबाहेक अरूलाई कसरी बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न, झुटलाई फैलाउन सकिन्छ, यस्ता कुरामा उहाँहरू बहुतै सक्रिय देखिनुहुन्छ । त्यस्ता कुरामा म धेरै अलमलिन चाहन्न । हामीले देशको विकास गर्नुपर्नेछ । अनावश्यक कुरामा हामीलाई अलमल्याउन खोज्छन् । अल्झाउन खोज्छन्, हाम्रो ध्यान डाइभर्ट गर्न खोज्छन्, त्यो हुन हामी तयार छैनौँ," उनले भने ।