
काठमाडौं । पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ ।
विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १–० गोलले अन्तरले हराउँदै लेटाङले उपाधि जितेको हो ।
लेटाङलाई उपाधि दिलाउन पुजन चौधरी नायक भए । उनले खेल सुरु भएको ४५औँ मिनेटमा निर्णायक गोल गर्दै टिमलाई उपाधि दिलाउन सफल भए । सुजन विकले निकालेको क्रस पासलाई पुजनले चलाखी पूर्ण तरिकाले जाली चुमाए ।
उपाधिसँगै लेटाङले नगद एक लाख एक हजार रुपैयाँ हात पार्यो भने उपविजेता उदयपुरको फ्युजन फुटबल क्लबले नगद ५१ हजार रुपैयाँमा चित्त बुझायो ।
पहिलोपटक भाग लिएको लेटाङले मिल्स गोल्डकप प्रतियोगिताको उपाधि जित्दै इतिहास रचेको छ । लेटाङले सेमिफाइलनमा घरेलु टिम पेमा स्पोर्टिङ क्लब विराटनगरलाई ६–३ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
विधागत पुरस्कारमा पनि लेटाङको बर्चस्व कायम रहयो । बेष्ट गोलकिपरमा लेटाङका गोल रक्षक समिर क्षेत्री, बेष्ट प्लेयर अफ द टुनामेन्ट लेटाङका किरण शंकर, बेष्ट प्रशिक्षक लेटाङका इन्द्र राई घोषित भए । त्यसैगरी बेष्ट डिफेन्डरमा उदयपुरका युवराज थापा घोषित भए भने हाइस्कोरमा लेटाङका सौगात राई र उदयपुरका रितेश तामाङ घोषित भए । उनीहरूले प्रतियोगिताभरीमा समान २–२ गोल गरेका थिए ।
चैत ३ गतेबाट सुरु भएको प्रतियोगितामा भारतको एक टिमसहित कोसी प्रदेशका आठवटा टिमको सहभागिता रहेको थियो ।