
अस्ट्रेलिया । विदेशमा बसेर उतैको पासपोर्ट बोक्ने नेपालीहरूको समाज र मगज हो, एनआरएन । त्यसबाहेक पनि खाडीमा रहेर गाडी चढ्नेहरूको एउटा तप्का यसमा सामेल छ । त्यसैले यसलाई बेला–बेलामा अमेरिका, युरोपसँग मजदुरीको आपसी तालमेल देखाउने गर्छ ।
खाडीका मजदुरलाई सदस्य बनाएर तिनका नाममा गाडी चढ्नेहरूको नेतृत्व पनि संगठन स्वरूपभित्रै समेटिएका छन् । विगतमा गर्विलो इतिहास बोकेको एनआरएन यतिखेर चुनौतीपूर्ण वर्तमानसँग जुधिरहेको छ । पछिल्ला दुई दशकका फेहरिस्त लेख्दै गर्दा बोझिलो राजनीति र कानुनी झमेलाको चिस्यानमा पुगेको छ ।
विदेशमा दुःखजिलो गरी जमेका र अलि–अलि दाम कमाएका नेपालीजनको मुलुकप्रतिको मान र सम्मान अनि आफ्नै नाम र कामका लागि पनि महत्वपूर्ण माध्यम बनेको थियो, एनआरएन । तर, केही वर्षयता जब जब विदेशी पासपोर्ट लिने र नेपाली राजनीतिको झोला भिर्नेको आँखामा यो संस्था पर्यो, तब यसमा संकट आइपरेको हो ।
आफू बस्ने देशको राजनीतिबारे चाल नपाउने यो वर्गले प्रवासमा पनि सँधै नेपाली राजनीतिको झन्डा बोक्दै नेपाली समाज पिरोल्ने काममा व्यस्त छ ।
जब एनआरएनमा नेपाली राजनीतिक दलका भ्रातृ संगठनहरूको खुलेआम प्रवेश र सिन्डिकेट सुरु भयो, तबदेखि एनआरएनको निकै चुनौतीपूर्ण अवस्थामा रह्यो । हाल देखिएका दुई समूह र फरक–फरक निर्वाचनको राग त्यसैको उपज हो भन्दा फरक पर्दैन ।
अदालती रागमा रुमल्लिएका प्रत्यासीका रूपमा देखिएका पात्रहरू मात्र होइनन्, तिनलाई चलाउने र घुमाउने संरक्षकसमेत कुनै न कुनै रूपमा राजनीतिक दलमा जोडिएका छन् । तिनको आदेशमा नेतृत्व पटकपटक यताउता मोडिएका छन् ।
त्यसैले पनि पछिल्लो अवस्थामा एनआरएनको राजनीति र परराष्ट्रको हस्तक्षेप अनि अदालती फरक–फरक आदेश यसको साक्षी हो भन्नुपर्छ । संस्थाको रक्षा गर्न ल्याइएका केही संरक्षकहरूकै इशारामा राजनीतिदेखि झेलनीतिले पनि यतिखेर यो संस्थाको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ ।
विदेशी पासपोर्ट बोक्ने नेपाली कुनै राजनीतिको झोला बोकाउने खेलमा लागेका छन् । केही धनाढ्य व्यापारीहरूका स्वार्थ र लगानीमा यो राजनीति लाजनीतिका रूपमा अगाडि बढेको छ । अहंकारले देवतालाई पनि दुष्ट बनाउँछ भनेझैँ पछिल्लो समस्याको जडमा केही व्यक्तिको अहंकारले यो संस्था पतनको संघारमा पुगेको सत्य हो ।
फलानोलाई नेतृत्वमा आउनै नदिने र ढिस्कानोलाई ल्याएर आफूले चलाउने भन्ने सोच पालेका केही व्यापारीको धनको तुजुक र मनको लालचले पनि संस्थालाई निकै गाँजेको छ । भर्खरै मात्र एउटा राजनीतिक प्रतिष्ठानले फलानोलाई सघाउने भनी निकालिएको बक्तब्य यसको ज्वलन्त उदाहरण हो ।
यस्तो रोगी मनोविज्ञान बोकेर सभ्य समाज र परोपकारी अभियान अगाडि बढाउन पटक्कै सकिन्न । दास मनोवृत्ति बोकेका ढोके, बैठके र हुक्के अनि भान्सेहरूले गर्ने भनेको मालिकको सेवा हो, समाजसेवा पटक्कै होइन ।
आफ्नो पहिचान देखाउन, सके दौडनु नत्र कुद्नु त्यो पनि नभए घिस्रनु भनेझैँ केही अभियन्ता भनाउँदा एनआरएको नाममा घिस्रिरहेका छन् । यसरी विदेशी पासपोर्ट बोकेर नेपाली राजनीतिमा चुर्लम्म डुबेका समाजिक अभियन्ताहरूको अन्तिम उद्देश्य भनेको समाजसेवा र परोपकारभन्दा पनि संस्था कब्जा गर्नु र आफ्नो दुनो सोझ्याउनु नै हो ।
मुलुक आर्थिक संकटमा छ, कयैन अप्ठ्यारा छन्, तर मुलुकलाई चोट पर्दा जुरुक्कै उठ्ने एनआरएन कता रुमल्लिएको छ या रमितामा छ । यस्तो अवस्थामा एनआरएनको साख र नाक अब छिचिमिराले उडान भरेझैँ सतहमै सीमित बनेको छ ।
दुई वर्षमा नेपाल आउँछन्, अनि ठूला कुरा गर्छन् र फर्किन्छन् भन्ने छविबाट बिस्तारै सम्मानित तबरमा उडान भरेको एनआरएन फेरि पुरानै लय र शैलीमा गिर्दो छ । विश्वासिलो अन्त्तर्राष्ट्रिय साझेदार संस्थाको पहिचान बनाएको यो संस्थाको पतनको बाटो पहिल्याउने काममा केही जिम्मेवार ब्यापारीहरू लागिपरेका छन् ।
कसैलाई परिवार हारेको पीडा छ त कसैलाई धन र घमन्डको ताजुब छ । केही बिचौलियाहरू जो हुन्डी, मानव तस्करीमा छन्, उनीहरूलाई लडाएर भिडाएर दुनो सोझ्याउनु छ । यस्ता अभियन्ताका बिल्ला भिरेकाहरूलाई प्वाख पलाउनबाट रोक्नुपर्छ । त्यसो भएन भने यो संस्था टुक्रिने, भत्किने र बिग्रने पक्का छ ।
पछिल्लो एनआरएन निर्वाचन नजिकबाट नियाल्ने हो भने कांग्रेस, एमाले र माओवादीको उमेदवारका रूपमा खुलेआम भिडन्त भएको थियो । जित्नेले संस्था चलाए, हार्नेले स्वघोषित आफैँ जितेको कथा सुनाए ।
गुट–गुटमा बिभक्त भए र पैसा अनि पराजयको पीडा ओकले । निर्वाचित पदाधिकारीको कार्यकालको अन्तमा फेरि फरक–फरक अदालती आदेशले दुईवटा निर्वाचन हुने देखिएको छ । यसले यो संस्था टुक्रा पर्ने मात्र होइन कि विभक्त हुने पनि पक्का छ ।
त्यसपछि कांग्रेस एनआरएन, एमाले एनआरएन, माओवादी एनआरएन आदि आदि बनाएर जसको सरकार रहन्छ उसैले ‘नारान’को उपाधि भिर्ने जस्तो देखिन्छ । यसमा नेपाल सरकार र परराष्ट्र मन्त्रालयले बेलैमा सहमति र सहकार्य गराउन सक्नुपर्छ । नत्र दुई दशकको इतिहास बोकेको यो गर्बिलो संस्थाको हैसियत मासिने पक्का छ ।
वास्तवमा भन्ने हो भने मुलुकलाई समस्या पर्दा जुरुक्कै उठ्ने प्रवासी नेपाली समाज यतिखेर विदेशी पासपोर्ट बोकेर नेपाली राजनीतिमा अल्मलिएको छ ।
तन विदेशमा भए पनि मन नेपालमा हुने यो जमात र एनआरएनको परोपकारी अभियान राजनीतिक झन्डामा सीमित नहोस् ! यो संसारभर छरिएर रहेका लाखौँ नेपालीको रगत पसिनाले सिँचिएको संस्था केही धनाढ्यको घमन्ड र केही लोभी–पापीको स्वार्थका कारण मासिनु हुँदैन !