
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले बर्खास्तीमा परेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषय उठाउन खोजेपछि विवाद भएको छ ।
मंगलबार समितिको बैठकमा बीपी राजमार्ग, हुलाकी राजमार्गको विषयमा छलफलका लागि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, सचिव उपस्थित छन् ।
मन्त्री उपस्थित भएलगत्तै समितिका सभापति ऋषिकेश पोखरेलले बैठकको कारबाही अघि बढाएका थिए । लगत्तै माओवादीका सांसद अमनलाल मोदीले समसामयिक विषयमा धारणा राख्न समय माग गरे । तर, सभापतिले बैठकको एजेन्डामा पालो आएपछि धारणा राख्न आग्रह गरे ।
तर, मोदीले सार्वजनिक महत्त्वका विषयमा धारणा राख्न पाउनुपर्ने माग राखे । सत्तारूढ दलका सांसदहरूले आजको बैठकको एजेन्डा फरक रहेको बताउँदै उनलाई पछि बोल्न आग्रह गरेका थिए ।
त्यसपछि सभापति पोखरेल र मोदीबीच भनाभन भयो । मोदीले सभापति पोखरेलको राजीनामा माग गर्दै आएको विषय राखे । साथै, कुलमानको विषय उठाउन लाग्दा सत्तारूढ सांसदले रोके ।
एमालेका सांसद तारा लामा तामाङ, कांग्रेसका रामकृष्ण यादव, मन्जु खाण, मोहन बस्नेतले सभापतिलाई साथ दिए । एमालेका सांसद गोकुल बास्कोटाले पहिले ऐजेन्डामा छलफल गरेपछि मात्रै अर्को चरणमा समसामयिक विषयमा धारणा गर्न आग्रह गरे ।
मोदीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा, हरि ढकालले साथ दिए । होहल्ला भएपछि रास्वपाका सांसद ढकालले बैठक कसले चलाउने हो भन्दै प्रश्न गरे ।
एमाले सांसद लामाले ढकालको प्रश्नमा जवाफ दिए– हामी हेर्न आएको हो ?
रास्वपा सांसद ढकाल र झाले आफूहरूले सभापतिलाई सोधेको भन्दै अरू सांसदलाई जवाफ नदिन आग्रह गरे ।
बैठकमा अहिले सडकका विषयमा छलफल भइरहेको छ ।