site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
होबार्टमा नेपाल महोत्सवको तयारी

सिड्नी । अस्ट्रेलिया महादेशभित्र पनि छुट्टै टापुका रूपमा अलग पहिचान बनाएको तास्मानिया राज्यको राजधानी होबार्टमा यही आउँदो २९ मार्चमा नेपाल महोत्सव आयोजनाको तयारी जोडतोडका साथ अगाडि बढेको आयोजक एनआरएन तास्मानिया राज्य समितिले जानकारी दिएको छ ।

स्थायित्वको सवालमा केही लचिलो भएका कारण पनि यतिबेला १० हजारभन्दा बढी नेपाली तास्मानिया राज्यमा बसोवास गर्दै आएका छन् । यसै भीडमा नेपालीभाषी भुटानीको संख्या पनि जोडिँदा तास्मानिया राज्यको चलनचल्तीको दोस्रो भाषा समेत नेपाली बन्न पुगेको छ ।

अस्ट्रेलियामा नेपाल चिनाउने मेलामा रूपमा परिचय पाएको नेपाल महोत्सव हरेक राज्यमा आयोजना हुँदै गर्दा मार्च महिनाको अन्तिम शनिबार तास्मानियामा भव्य र सभ्य रूपमा यसको आयोजनाको तयारी भएको एनआरएन तास्मानियाका संयोजक जगदीश खड्काले बताए ।

Argakhachi Cement Island Ad

तास्मानिया राज्यका सबै राजनीतिक दलका नेता र राज्य प्रमुखको समेत सहभागिता रहने यस महोत्सव नेपाल चिनाउने अभियानमा भने अरूभन्दा केही अलग र फरक रहँदै आएको खड्का बताउँछन् । विशुद्ध तास्मान अस्ट्रेलियनहरूको महत्त्वपूर्ण सहभागिता रहने यस महोत्सव राज्यको प्राथमिकतामा समेत पर्दै आएको खड्काले सुनाए । 

नेपालीपन र नेपाली मनको संगममात्र नभई विदेशमा मुलक चिनाउने अभियानका रूपमा हामीले यसलाई अगाडि बढाएका छौँ, संयोजक खड्काले भने ।

‘‘यसपटक महोत्सवमा नेपाली खाना, नेपाली गाना मात्र नभई कला संस्कृति र मुलुक चिनाउने थुप्रै आकर्षण रहनेछन्,’’ खड्काले भने, “हाम्रो उद्देश्य भनेको यस मेलापछि कम्तीमा १० जना भए पनि तास्मानियाबाट अस्ट्रेलियन नेपाल पुगून् भन्ने हो ।’’ 

होवार्टको केन्द्रविन्दुमा रहेका पार्लियामेन्ट हाउस लनमा आयोजना हुने महोत्सवको प्रमुख अतिथिका रूपमा तास्मानियाका प्रिमियर जेरेमी रकलिफ रहेका छन् भने विशेष अतिथिमा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव रहने भएकी छिन् । यस्तै, महोत्सवमा लेबर सांसद एला हेडेड, लिबरल सांसद म्याडेलिन ओगिल्भी र ग्रिन पार्टीका सांसद हेलेन बर्नेटको टुंगो लागिसकेको एनआरएन तास्मानियाका उपसंयोजक उत्तम अधिकारीले जानकारी दिए । 

अजी होम लोन एन्ड फाइनान्सको प्रस्तुतिका रूपमा रहेको महोत्सवलाई अस्ट्रेलियन फेडरेल गभरमेन्ट, सिटी अफ होबार्ट काउन्सिल र मल्टिकल्चर तास्मानियाले समेत सहयोग गरेको कुरा उपसंयोजक अधिकारीले सुनाए ।

महोत्सवमा नेपाली कलाकारहरू कन्दरा ब्यान्ड, समीक्षा अधिकारी, उदेश श्रेष्ठ र युवराज चौलागाईंलगायत छन् । 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्