
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विचौलिया र दलालहरूको स्वार्थमा गरिएको निर्णय कुशासनको पछिल्लो दृष्टान्त रहेको बताएको छ ।
"यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास श्रृजना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ," विज्ञप्तिमा भनिएको छ ।
कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको माओवादीले जनाएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारप्रति आपत्ति जनाएको छ ।
"आमनागरिकमा भ्रम श्रृजना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न कडा चेतावनी दिन चाहन्छौँ । यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन सबैमा हार्दिक अनुरोध गर्दछु," माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।