-1742563224.jpg)
काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक हत्तपत्त बस्दैन, बसोस् पनि कसरी ? विवादकै विवादको घेरामा छन् सभापति ऋषिकेश पोखरेल । कहिलेकाहीँ बस्ने बैठक पनि भद्रगोल अवस्थामा पुगेर टंगिन थालेको छ ।
शुक्रबार पनि समितिमा त्यस्तै दृश्य मञ्चन भयो । प्राप्त उजुरीमाथि छलफल गर्न बसेको समिति बैठकमा भनाभन र पोल खोल्नेसम्मका काम भए । समिति सभापति पोखरेलमाथि प्रश्नैप्रश्न तेर्सिए । सत्तारुढ सांसदले नै उनको कार्यशैलीमाथि फेरि प्रश्न उठाए ।
‘चुपचाप’ रहने आले बैठकभर कड्किए
प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आले, केही समययताका बैठकमा चुपचाप नै देखिन्थे । एकीकृत समाजवादीको गत असारमा भएको महाधिवेशनमा नै सहभागी भएका थिएनन् । उनी पार्टीका तर्फबाट हत्तपत्त सक्रिय हुन छाडेको गुनासो समेत हुँदै आएको थियो ।
तर, समितिको शुक्रबारको बैठकमा सबैभन्दा कडा रुपमा प्रस्तुत आले भए । बैठकमा सभापति पोखरेलसँग उनको भनाभन नै चल्यो । समितिमा आएका एक सय उजुरीहरुमध्ये कांग्रेस सांसद सञ्जय गौतम नेतृत्वको उपसमितिले कार्यक्षेत्रभित्र छुट्याएका उजुरीलाई कसरी टुंग्याउने भन्ने विषयमा बैठकमा छलफल भइरहेको थियो ।
उपसमितिले एक सयमध्ये ४८ उजुरी समितिको कार्यक्षेत्रभित्र रहने निचोड निकालेको थियो । आलेले ४८ उजुरी टुंग्याउनका लागि बनाइने उपसमितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विषय पनि राखिनुपर्नेमा अडान राखेपछि विवाद भएको थियो ।
पोखरा विमानस्थल निर्माणमा प्रश्न उठेपछि छानबिनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र गौतमबुद्ध विमानस्थलमा पनि त्यस्तै प्रश्न उठेपछि एमाले सांसद योगेश भट्टराई संयोजक रहेको उपसमिति बनाइएको थियो ।
आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यक्षेत्र पर्ने उपसमितिले ती दुई विषयमा पनि हेर्न पाउनुपर्ने माग राखे ।
दुई विमानस्थलसम्बन्धी छानबिनका लागि लेखा समितिले उपसमिति बनाएको थियो । उक्त उपसमितिको प्रतिवेदन आएपछि मात्रै त्यस विषयमा प्रवेश गर्ने सभापति पोखरेलको जवाफमा आले कड्किएका थिए ।
आलेले सोधे, “४८ वटा उजुरी छनोट भएको रहेछ । ट्रंकलाइन र डेडिकेटेड लाइनको त छ । तर, पोखरा र भैरहवा विमानस्थलको त उडाइएको छ । छनोटमा त राख्ने भनिएको थियो । किन उडाइयो ?,” उनले सोधे ।
सभापतिले उपसमिति बनाएको भन्दै त्यसले काम गरिरहेको बताए । उपसमितिको प्रतिवेदन आएपछि मूल समितिमा छलफल हुने बताए । तर, आलेले राख्नैपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नागरिक उड्ययन सम्बन्धी सबै भनिएकाले कसरी छुटेछ भन्दै सोधे ।
बैठकमा एमालेका सांसद गोकुल बाँस्कोटाले आले र ढकालको प्रश्नको जवाफ दिए । उनले पोखरा र भैरहवाको विषय उपसमितिलाई दिइएको सय उजुरीमा नरहेको बताए । बास्कोटाले ४८ वटा नै उजुरीमा छुट्टै उपसमितिले काम गरिरहेको विषय समेट्ने भए ती पहिले बनाइएका उपसमिति भंग गर्नुपर्ने प्रस्ताव राखे ।
“पहिले दुईवटा उपसमिति भंग गरौं अनि ती दुईवटा मुद्दा यहाँ समावेश गरौंं,” उनले भने, “समिति बनाएर काम गरिसकेको छ भनेपछि हिँड्दै छ पाइला मेट्दैछ भने ति काम किन गर्ने ?”
बास्कोटापछि गौतमले उपसमितिले सय उजुरी प्राप्त गर्नुअघि नै भैरहवा र पोखराका लागि उपसमिति बनेको बताए । आलेले ती दुई विमानस्थलको विषय नसमेटिएकोमा पुनः आपत्ति जनाए । आलेले प्रश्न गरे, “त्यसोभए टेरामक्स चाहिँ किन राखेको त ? यो पनि हटाइदिए भयो नि ! अदालतमा मुद्दा छ ।”
सभापति पोखरेलले कुन–कुन राखेको र नराखेको भन्ने कुरामा नजान आग्रह गरे । आलेले सभापतिले कुरा नटुंग्याउँदै भने, “पोखरा र भैरहवाको विषय नराखे मेरो नोट अफ डिसेन्ट हुन्छ ।”
सभापतिले सबै विषयलाई समान प्राथमिकतामा राखेर जानुपर्ने धारणा राखे ।
आलेले दोहोर्याए,“सबै कुरा बुझियो । मेरो नोट अफ डिसेन्ट हुन्छ ।”
सभापतिले आफ्ना कुरा सुन्न भन्दै पोखरा र भैरहवाको भने उपसमितिको प्रतिवेदन आएपछि समितिमा छलफल हुने बताए ।
“पोखरा, भैरहवा र हुलाकी सडकको जिम्मा लगाइसकेका छौं । जिम्मा लगाइसकेपछि नसकुन्जेल विश्वास गर्नु धर्म हो,” उनले भने ।
छानिएका ४८ उजुरीमा उपसमिति बनाउने र थपिएका १६ वटा उजुरीलाई पनि निरन्तर छलफलमा लैजानुपर्ने सभापतिको प्रस्ताव थियो । १६ उजुरीमा छानबिनका लागि अर्को उपसमिति बनाउने पोखरेलको प्रस्ताव थियो ।
आलले त्यो उपसमितिले फेरि पनि पर्यटन सम्बन्धीका विषयमा हेर्छ कि हेर्दैन भनी सोधे ।
सभापति पनि झोँक्किए,“दुई विमानस्थलका सम्बन्धमा उपसमितिले तयार पारेको प्रतिवेदन घर लैजान बनाएको हो कि समितिमा ल्याउन बनाएको हो ?”
आलेले फेरि सोही प्रश्न तेर्स्याए ।
सभापतिले सोधे, “पुरानो समिति विघटन गरौंँ ?”
आलेले विघटन गर्ने कुरा आफ्नो नरहेको बताए ।
त्यसपछि कांग्रेस सांसद देवप्रकाश तिमिल्सिनाले विमानस्थल सम्बन्धी दुई उपसमितिको प्रतिवेदन यो महिनाभित्र बुझाउने निर्णय गनुपर्ने प्रस्ताव गरे । एमालेका सांसद तारा लामा तामाङले टेक्निकल विषयको प्रतिवेदन एक महिनामा ल्याउन हुलाकी सडक जस्तो हो र ? भन्दै तिमिल्सिनालाई सोधे ।
जसमा आलेको प्रतिप्रश्न थियो– २०८५ मा ल्याउने त ?
हल हाँसोले गुञ्जियो ।
मनिषको प्रश्नमा कड्किए बास्कोटा
भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलसम्बन्धी छानबिनका लागि बनाइएको उपसमितिका संयोजक हुन्, एमालेका सांसद योगेश भट्टराई । सोही उपसमिति सदस्यसमेत रहेका रास्वपाका सांसद मनिष झाले समितिको मंगलबारको बैठकमा योगेश भट्टराई संयोजक रहेर रिपोर्ट बनाउँदा स्वार्थको द्वन्द्व बाझिने भन्दै प्रश्न उठाएका थिए ।
पूर्वपर्यटनमन्त्री भट्टराईलाई संयोजक बनाउँदा आफू समितिमा नरहेको बताएका थिए । भट्टराईले आफू संयोजक नरहने जवाफ दिएका थिए । सोही विषयमा बैठकमा कांग्रेसका सांसद रामकृष्ण यादवले भट्टराईको समितिले प्रतिवेदन बनाइसकेपछि प्रश्न उठाउन र भट्टराईले राजीनामा दिने कुरा नगर्न आग्रह गरेका थिए ।
भट्टराईप्रति प्रश्न उठाइएपछि एमाले सांसद बास्कोटाले मन्त्री बनेका समितिमा बस्न नहुने भए को–को बसेर बनाउनुहुन्छ बनाउनुुस् भन्ने जवाफ दिए ।
“मन्त्री भएको कुनै समितिमा बस्न हुँदैन भने आज जतिवटा समिति बनाउनुहुन्छ । त्यसमा मेरो कुनै माग छैन को–को बस्नुहुन्छ बसेर बनाउनुस्,” उनले भने ।
बास्कोटाले आफूहरु मात्रै पपुलर भन्ने भाष्य नबनाउन पनि आग्रह गरे ।
“तपाईंहरु कसैले चाहिँ चुनाव जितेर आएको हामी चाहिँ पतकर बटुलेर आएको ? क्याप्चरिङ गरेर आएको ?,” बास्कोटा कड्किए, “जनताको मतले मनबाट जितेर आएको नि ! तपाईंहरु पपुलर हामी चाहिँ अनपपुलर यो खालको भाष्य नबनाऊँ ।”
उनको अभिव्यक्तिप्रति लक्षित गर्दै झा ले राजनीतिक रुपमा नहेर्न आग्रह गरे । उनले भट्टराईको कार्यक्षमतामा प्रश्न नउठाएको भन्दै पूर्वमन्त्रीले बनाएको रिपोर्ट विवादरहित हुँदैन भन्ने आफ्नो धारणा रहेको बताए ।
“उहाँको कार्यक्षमता, पृष्ठभूमि केहीमा पनि शंका गरेको होइन,” उनले भने, “उहाँको राजीनामा मागेको होइन । भविष्यमा नचुकौँ भन्न पाउँदिनँ ?”
भट्टराईले त्यो विषय पहिले नै भनेको भए उपयुक्त हुने धारणा राखे । उनले आफू उपसमितिको संयोजक र सदस्य नरहने भन्दै आलेलाई पनि पोखराको उपसमितिमा नबस्न आग्रह गरे । “एयरपोर्टहरुको छानबिनमा आले माननीय बस्न पनि मिल्दैन म पनि मिल्दैन । आलेजी पनि पोखराको उपसमितिबाट हट्दिनुस्, म भैरहवाको उपसमितिबाट हट्छु,” उनले भने ।
अनि आलेले गरे खुलासा...
भट्टराई त्यतिमा मात्रै रोकिएनन् । उनले भैरहवाको उद्घाटन आफूले नभएर आले मन्त्री हुँदा गरेको स्मरण गरे ।
“भैरहवा अथवा पोखरा एयरपोर्ट मेरो जिम्माको कुरा पनि होइन । कुनै बेला म मन्त्री थिएँ कुनै बेला प्रेम आलेजी हुनुहुन्थ्यो ,” भट्टराईले भने, “प्रेम आले मन्त्री हुँदा भैरहवा उद्घाटन गर्नुभएको हो । मैले होइन । यहाँले नै क्यान र नेपाल एयरलाइन्समा पनि नियुक्ति गर्नुभएको हो । ती व्यक्ति अहिले पनि छन् ।”
भट्टराईले आलेले नै नियुक्त गरेका व्यक्तिले नै काम गरिरहेको बताए । उनले आफूले पनि बदमासी नगरेको भन्दै आलेलाई पनि उपसमितिबाट बाहिएर बस्न आग्रह गरे । “न तपार्ईंले बदमासी गरेको छ न मैले गरेको छ । जसले बदमासी गरेको छ । त्यही पर्छ । नियुक्ति त हजुरले गरेको छँदैछ..,” भट्टराईले कटाक्ष गर्दै भने ।
आलेले पनि आफू पनि उपसमितिबाट हट्ने बताए ।
दुई विमानस्थलका विषयलाई उजुरी टुंग्याउने उपसमितिभित्र पानुपर्ने धारणा राखिरहेका आलेले भट्टराईले उठाएको प्रश्नको जवाफमा गम्भीर खुलासा गरे ।
उनले नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई आफू मन्त्री हुँदा पार्टीका नेताको दबाबमा नियुक्त गरेको खुलासा गरे ।
जसमा भर्खरै खोलिएको पार्टी चलाउनका लागि लेनदेन भएको आशयको अभिव्यक्ति दिए ।
उनले आफू ८ महिना मन्त्री हुँदा पार्टीले नियुक्तिका लागि नाम नै तोकेर पत्र पठाएको बताए ।
“मैले आठ महिना २१ दिन मन्त्रालय चलाएँ । धेरै बाधा, अड्चन आए,” उनले भने, “मलाई एकपटक मेरो पार्टीबाट चिठी आएको थियो, यो–यो मान्छेलाई यहाँ नियुक्त गर, त्यसमा प्रदीप अधिकारीको पनि नाम थियो ।”
उनले पार्टीका सम्मानित नेता झलनाथ खनाल र अरु नेताको दबाबमा वरीयताक्रम मिचेर नियुक्ति गरिएको प्रष्ट पारे ।
“मैले धेरैपटक हेर्दा सिनियारिटीका आधारमा १२औंँ तहका पाँचजना थिए । प्रदिप अधिकारी ११औं तहको हुनुहुन्थ्यो । मैले हुँदैन भने के गर्नु समाजवादी नयाँ पार्टी पनि पर्यो,” आलेले बैठकमा भने, “अलिकति चलायमान पनि गर्नुपर्ने होला । धेरै प्रेसरका बाबजुदमा नेपाल एयरलाइन्सको चेयरमेन झलनाथ खनाल र अन्य नेताको सिफारिसमा यी दुई अधिकारी नियुक्त भए ।”
उनले आफू मन्त्री हुँदा परिणाम निकाल्नका लागि कर्मचारीलाई थप्पड हान्न परेको समेत सुनाए ।
“राज्यको मन्त्री भइसकेपछि सबै कुरा सदुपयोग गर्न भनेर म लागेँ । हामीलाई छ महिनाको समय दिइएको थियो । भागाभाग थियो त्यतिबेला,” उनले भने, “कामको परिणाम छिटो चाहियो भनेर थप्पड हानियो होला, कहिँ जोडले बोलियो होला, मलाई रिजल्ट चाहिएको थियो ।”
आलेले पोखरा विमानस्थलको धावनमार्गको उचाइका विषयमा आफूलाई जानकारी नहुँदा अधिकारी क्यानको महानिर्देशक रहेको सुनाए ।
“...गल्ती भएको छ है, यो रन–वेको उचाइ २० फिट तल छ कसैले पनि भनेन । यदि मलाई कसैले त्यो भनेको भए अहिले प्रदिप अधिकारी जिएम हुने नै थिएनन्,” आलेको भनाइ थियो ।
आलेले उनीहरुको नियुक्ति आफ्नो इच्छाले नभई पार्टीको निर्देशनमा गरिएको खुलासा गरे । नयाँ पार्टी चलायमान बनाउन त्यसो गरिएको हुन सक्ने भन्दै आफ्नै पार्टीका शीर्ष नेतामाथि आलेले गम्भीर प्रश्न उठाइदिए ।
आलेको धारणाले बैठकमा हासो फैलिएको थियो । आलेको प्रश्नपछि पार्टी नेतृत्व छानिबनको दायरामा आउलान् कि नआउलान् भन्ने गम्भीर प्रश्न भने उठेको छ ।
हुलाकी सडकबारे छलफल गर्न बैठकको मिति नतोकिँदा यादवको आक्रोश
कांग्रेस सांसद रामकृष्ण यादवले हुलाकी राजमार्ग र बीपी राजमार्गको अवस्थाका बारेमा छलफलका लागि एउटा बैठक राख्न माग गरे । उनले अर्को बैठकको मिति तोकेर भौतिक मन्त्रालयलाई बैठकमा बोलाउन आग्रह गरेका थिए ।
उनले चैत १३ गतेअघि नै बैठकको मिति तोक्न आग्रह गरेका थिए । सभापति पोखरेलले मन्त्रीसँग छलफल गरेर बैठकको मिति तोकिने बताए । तर, यादवले बैठकको मिति नतोकिएपछि आक्रोश पोखे ।
“आ–आफ्नो इन्ट्रेस्टको कुरा गर्नुहुन्छ । जे मन लाग्छ त्यही गर्नुस्,” उनले भने, “पहिले नै बाहिरैबाट सेटिङ गरेर आउनुहुन्छ ।”