काठमाडौं । तुर्कमेनिस्तानको भ्रमण सकी फर्किएको पाँच दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधबार प्रतिनिधिसभाको रोष्टममा उभिए ।
उनले साउन २०–२३ को तुर्कमेनिस्तान भ्रमणका उपलब्धि सुनाए । रोष्टममा उभिँदै १ घण्टा तीन मिनेटसम्म बोले । सरकारका कामकाे फेहरिस्त सुनाए ।
उनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ पछि परेनन् । उता प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीको सदन बहिष्कार असन्तुष्टि र आक्रोश पोखे ।
रास्वपातिर संकेत गर्दै ओलीले संसद्लाई ‘सोसल मिडिया’को कन्टेन्ट बनाउने दुष्प्रयास गरेको आरोप लगाए ।
उनले भने, “आज संसद्मा उछालिएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित छैनन् । देश र जनताका हितमा केन्द्रित रहेर काम गर्नुपर्ने सदनमा झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ । के आजको हाम्रो राष्ट्रिय आवश्यकता यही हो ? प्रतिपक्षमा भए पनि जनताको मत लिएर आइसकेपछि प्रतिपक्षको पनि देशप्रति केही न केही दायित्व त होला नि !”
उनले देशमै केही गरौँ भन्ने युवाहरू लाई उत्तेजनामा ल्याउने नियत देखिएको समेत बताए । संसद्मा सरकारले घोषित उद्देश्य अनुरुप के/कति काम गर्यो भन्ने प्रश्न उठोस् भन्ने आफूले चाहेको बताए ।
उनले संसद्लाई होस् वा बहसको सार्वजनिक वृत्तलाई– सरकारले यसबारेमा के गर्यो भन्ने प्रश्नबाट बहकाएर अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको जिकिर गरे । उनले भने, ‘‘विषयान्तर गरिएका यस्ता कपटी बहसले देशको समृद्धिका लागि होइन, देशमा केही गरौं भन्ने युवाहरू लाई भरोसा प्रदान गर्न पनि होइन– उनीहरू लाई गाली, निन्दा, आरोप र भत्र्सनाका कन्टेन्ट उत्पादनमा भुलाउने र समाजलाई उत्तेजनामा ल्याउने नियत राख्छ ।”
रास्वपामाथि प्रश्नै प्रश्न
विपक्षी रास्वपामाथि ओलीले प्रश्नै प्रश्नको वर्षा लगाए । रास्वपाले सरकारले सभापति रवि लामिछानेलाई प्रतिशोध साधिएको आरोप लगाउँदै आएको छ । ओलीको प्रश्न थियो, ‘‘सहकारीमा जम्मा गरेको रकम हिनामामिना गर्ने सयौं व्यक्तिमाथि मुद्दा चलेको भन्दै रविबाहेक अन्यमाथि चाहिँ भएको के हो ?’’
उनले लाखौं जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको उल्लेख गर्दै भने, ‘‘अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरू लाई अदालतले थुनामा पठाएको छ । तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ?”
उनले भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरू बाट समयले जवाफ माग्नेसमेत बताए । उनले रास्वपा सभापति लामिछानेको पछि कुद्ने भीड अचम्मको मात्रै नभएर दयालाग्दो समेत भएको टिप्पणी गरे ।
“अर्बाैं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौँमध्ये कुन–कुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ?’’ ओलीको प्रश्न थियो, ‘‘कुन–कुन व्यक्तिमाथिको थुना जायज हो ? भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरू बाट समयले यसको जवाफ सधैँ माग्ने छ । त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि छ । सत्तापक्षका पनि थुनामा हुँदा प्रतिशोध साधिँएको हो ?’’
उनले संसद् अवरुद्ध गरी विस्मयकारी, भावनात्मक र हानीकारक उत्तेजनाको एकालापमा मुलुकलाई लैजानु कदापि उचित नहुने बताए । रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर सदन अवरोध गर्दै आएको छ ।
ओलीले भिजिट भिसा प्रकरणमा भिजिट भिसामा नै गएकाले प्रश्न उठाएको भन्दै रविमाथि कटाक्ष गरे । ओलीले भने, “कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरू र भिजिट भिसामा गएर उतै दुई–दुई पटक बिहे गरिसकेका व्यक्तिहरू ले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।”
ओलीले रास्वपालाई पेशेवर ‘मास म्यानुपुलेसन’ को संज्ञा समेत दिएका छन् । “संसद्, सरकार, न्यायालयलगायत आफ्नो काम गर्नुपर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरू लाई पेशेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट बचाउनुपर्छ । लोकतान्त्रिक शक्तिहरू ले यो काम गर्नै पर्छ,” उनले भने ।
प्रचण्डलाई प्रश्न : अस्थिरताको पक्षपोषण के का लागि ?
ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न गरे, ‘‘सरकार ढल्छ भन्ने हल्ला पिटेर अस्थिरताको पक्षपोषण के का लागि ?’’ ओलीले विपक्षीलाई स्थिरता कति अप्रिय लागेको भन्ने प्रश्न उनको छ ।
सरकार नढल्ने भएपछि हाम्रो रुचि छैन भन्न भ्याउने भन्दै प्रचण्डमाथि कटाक्ष गरे । “सरकार नढलेपछि त्यति रुचि छैन, सरकारतिर हाम्रो भन्न पनि भ्याइहाल्ने । त्यस्तो अस्थिरताको पक्षपोषण के का लागि हो ? देशका लागि ? राजनीतिक स्थिरतका लागि त पक्कै होइन, हुन सक्दैन,” ओलीले भने ।
उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को सत्ता समीकरण ०८४ सम्मै कायम रहने दाबी गरे । “स्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ,” ओलीको दाबी छ ।
ओलीले प्रचण्डलाई कीर्तिपुर रंगशालाको प्याराफिट बनाउने र फ्लडलाइट जोड्ने काम कहाँ पुग्यो भन्ने प्रश्नको जवाफ दिए । प्रचण्डले सदनमा बोल्दा त्यसबारे ओलीसँग सोधेका थिए ।
ओलीले प्रचण्डलाई सँगै हेर्न जाऔं भन्दै आग्रहसमेत गरे । ओलीका अनुसार, निर्माणका क्रममा प्रक्रियावादले दिएको झन्झट, अवरोधका गलत मनसायसहित हालिएको मुद्दा र अनपेक्षित मौसमको प्रतिकूलताका वावजुद कीर्तिपुरको क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ ।
प्रश्नकर्ता प्रचण्डसँगै ओलीले प्रश्न गरे, ‘‘प्रश्नहरू सुनियो ‘प्याराफिट बन्यो ?’ मेरो जवाफ छ, बन्यो । फ्लडलाइट जोडियो ? जोडिँदैछ टुंगिन आट्यो । कुनै जादु त होइन नि ।’’
उनी ओलीले सुझाव दिए, ‘‘यस्ता प्रश्न गर्ने साथीहरू लाई एक पटक संसदीय समितिका केही माननीय सदस्यहरू ले अवलोकन भ्रमण गरे झैँ कीर्तिपुर रंगशालाको अवलोकन–भ्रमणका लागि सिफारिस गर्छु । सँगै जाने भए पनि जाऔं कुरा मिलाएर हेर्न । यसपटक, प्याराफिट निर्माण र फ्लडलाइट फिट गर्ने काम सकिएपछि अत्याधुनिक रंगशाला निर्माणको दोस्रो चरणको काम फेरि अगाडि बढाइने छ ।”
अनि ओलीका उपलब्धि...
ओलीले आजको बैठकमा सरकार १८ महिने उपलब्धिको फेहस्ति सुनाए । उनले एसईईको परीक्षा र १२ कक्षाको नतिजामा सुुधार भएको सरकारको उपलब्धिको रुपमा सुनाए । सरकारले आर्थिक क्षेत्रमा उत्साहजनक नतिजा ल्याएको दाबी गरे ।
उनले भने, “एक वर्षभित्र तीन दर्जन ऐन कानुनहरू संशोधन भए । यसले देशमा सुशासन प्रवद्र्धन गर्न, सेवा प्रवाह सरल बनाउन, लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको छ, आर्थिक क्षेत्रमा उत्साहजनक नतिजा ल्याएको छ ।”
ओलीले आफ्नो कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको र अर्थतन्त्र ४ खर्ब रुपैयाँले बिस्तार भएको दाबी गरे । “भनिरहन नपर्ला, गतवर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र थियो’’ उनले भने । अघिल्लो आर्थिक वर्षमा पुष्पकमल दाहाल प्रधानमन्त्री थिए ।
सरकार कामबारे फेहरिस्त सुनाउँदै ओलीले भने, “यो सरकार, ब्राण्ड न्यू हैन, भत्किएको रेट्रोफिट गर्न, पारिएको प्वाल टाल्न र झरी–वर्षाले बगाएपछिको नवनिर्माण गर्ने आधार तयार गर्न व्यस्त छ ।”
उनले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने संकल्पकासाथ अघि बढिरहेको बताए । ओलीले भने, “देशका विभिन्न भागमा आएका बाढी पहिरो, खडेरी जस्ता विपत्तिहरूका वाबजुद माथि उल्लेख गरिएका आर्थिक तथा सामाजिक विकासका सूचकहरूमा आएको सकारात्मक परिवर्तनले मुलुक सुशासन र समृद्धिको दिशातर्फ उन्मुख भएको स्पष्ट संकेत गर्छ । वर्तमान सरकारले एक वर्षको समयमा जनताका आशा र अपेक्षा पूरा गर्न हरसम्भव प्रयास गरेको छ,” ओलीले भने ।
होइन, बहुविवाहलाई कानुनी मान्यता
ओलीले सरकारले बहुविवाहलाई मान्यता दिने कानुन ल्याउन लागेको भन्ने चर्चामा प्रष्टीकरण दिए । बहुविवाहलाई कुनै पनि हालतमा कानुनी मान्यता नदिइने बताए ।
सामाजिक जागरण, सामाजिक न्याय, महिला हकअधिकारका लागि लडेर आएको पार्टीको सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने हल्ला कसले चलायो भनि प्रश्न गरे ।
“हल्ला कसले चलायो ? सरकारले थाहा पाएको छैन । मैले थाहा पाएको छैन । कहाँबाट आउँछ त्यो ?,” उनले भने, “बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउन लागिएको छैन । बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन ।”