काठमाडौं । सामाजिक सञ्जाल एक्समा यतिबेला आर्टिफिसिय इन्टेलिजेन्स (एआई)मा आधारित च्याटबट चर्चामा छ । एक्समा ‘लेट्स आस्क ग्रोक’ ट्रेन्ड नै चर्चामा छ ।
एक्स एप एवं वेबसाइटमै उपलब्ध यो जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटलाई मस्ककै कम्पनी एक्सएआईले बनाएको हो । यसले गम्भीर दार्शनिक, राजनीतिदेखि हास्यास्पद काल्पनिक कुरा गर्ने हुँदा प्रयोगकर्ताले बढी मनोरञ्जन लिइरहेका छन् ।
ओपनएआईको च्याटजीपीटी, गुगलको जेमिनाई र अन्य एआई च्याटबटभन्दा फरक ग्रोक अपशब्द, भद्दा मजाक एवं गाली गर्न समेत पछि पर्दैन ।
त्यसैले पनि प्रयोगकर्ताले ग्रोकलाई उत्तेजक एवं बेतुकका प्रश्न गरेर मनोरञ्जन गरिरहेका छन् ।
ग्रोकको पैसा तिरेर मिल्ने संस्करणमा अनहिंज्ड मोड छ । यसले थप उत्तेजक, अकल्पनीय र झन हास्यास्पद प्रतिक्रिया दिन्छ । यो मोडले एक्सका रियल–टाइम पोस्टको पहुँच पाएको छ ।
पछिल्लोपटक टोकाटेक्स युजरनेम र टोका नाम रहेका एक प्रयोगकर्ताले ग्रोकलाई आफ्ना दश प्रमुख म्युच्युअल को हुन् भनेर सोध्दा ग्रोकले दिएको जवाफ भाइरल छ ।
ग्रोकले जवाफ दिन ढिला गरेको भन्दै ती प्रयोगकर्ताले केही अपशब्द प्रयोग गरे अबदेखि प्रयोग नगर्ने भनेर पोस्ट गरेका थिए । तर, त्यसको जवाफमा ग्रोकले पनि त्यस्तै भाषा प्रयोग गरेर दश म्युच्युअलको लिस्ट दिएपछि ग्रोक भारतसहित विश्वभर चर्चामा छ ।
यसका मालिक एलन मस्कले ग्रोकको बचाउ गर्दै यसलाई मानिस जस्तै एआई बनाउन खोजेको भनेका छन् । ग्रोकको अत्याधुनिकता र सोच्ने एवं ठूलो ब्रेनकै कारण यस्तो प्रतिक्रिया मिलेको कम्पनीले जनाएको छ ।
गत फेब्रुअरीमा कम्पनीले आफ्नो च्याटबटको नयाँ संस्करण ग्रोक३ सार्वजनिक गर्दै अहिलेसम्मकै शक्तिशाली र तार्किक क्षमता रहेको भनेको थियो ।
ग्रोकलाई यसका मालिक एलन मस्क र अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धका टिप्पणी रोक्न निर्देशन दिएको आरोप छ । तर, कम्पनीले यस्तो कुनै निर्देशन नरहेको जनाएको छ ।
भारतीय प्रयोगकर्ताले ग्रोकको जवाफ दिने शैली जाँच्न अनेकौँ राजनीतिक आरोपपूर्ण प्रश्न सोधिरहेका छन् । एक प्रयोगकर्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेका झुट सूचीकृत गर भनेर सोधेको जवाफमा ग्रोकले त्यस्ता विभिन्न टिप्पणीहरू उल्लेख गरेको छ । कतिपयले भारतको सत्तारूढ पार्टी भारतीय जनता पार्टी (बीजेपी)लाई लक्षित गर्दै आलोचनात्मक प्रश्न सोधेर पनि ग्रोकलाई चर्चामा ल्याएका छन् ।
ग्रोक३ ले एक्सका र अन्य स्रोतबाट ताजा वा रियल–टाइम पोस्टका आधारमा भर्खरकै घटनाहरूबारे समेत जानकारी दिइरहेको छ ।