
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्मा प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरूले राखेको विषयलाई प्रधानमन्त्रीले गम्भीर भएर संवाद गर्नुपर्ने उल्लेख गरे ।
"भिजिट भिसा प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्छ, त्यसमा मुछिएका सबैमाथि छानबिन हुनुपर्छ," उनले भने, "अख्तियारले यस विषयमा गृहमन्त्रीमाथि अनुसन्धान गरे स्वभाविक रूपमा पद त्याग गर्नुपर्छ । तर, हाल कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको छ ।"
कर्मचारीमाथि अनुसन्धान भइरहँदा उजुरी नै नपरेको गृहमन्त्रीको राजीनामा माग गर्नु उचित नभएको उनको भनाइ छ । उनले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई गाँसेर सदनमा आवेग प्रकट हुन खाजेको जस्तो देखिएको बताए ।