
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान युगमा डिजिटल प्रविधिको द्रुत तथा नवीनतम् विकास भइरहेकाले भन्दै यो गतिलाई पछ्याउन सक्नुपर्ने बताएकी छन् ।
नयाँदिल्लीमा जारी राइसिना डायलग कार्यक्रमअन्तर्गत बिहीबार आयोजित डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विषयक सत्रलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । “अब प्रविधिको विकासको द्रुत गतिलाई पछ्याउन नसके पछि परिन्छ । नेपाल पनि प्रविधिसँगै यसले दिने अवस्यम्भावी रूपान्तरणका लागि तम्तयार छ,” उनले भनिन् ।
मन्त्री डा. राणाले नेपाल डिजिटल सार्वजनिक पूर्वाधार निर्माणलाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताउँदै समावेशी तथा रूपान्तरणकारी डिजिटल पूर्वाधार निर्माणमा नेपाल लाग्ने उल्लेख गरिन् ।
उनले भनिन्, “सबैका लागि लाभदायक सुरक्षित र समावेशी डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्नु अहिलेको आवश्यकता हो । जसले व्यक्तिगत तथा सामाजिक स्तरमा देखिने जोखिमहरूलाई न्यूनीकरण गर्नुका साथै दिगो विकास लक्ष्य हासिल गर्न र विश्वभर समानता कायम राख्न सहयोग गर्दछ ।”
डिजिटल सार्वजनिक पूर्वाधारले मानिसहरूबीच विद्यमान डिजिटल डिभाइडको अवस्थामा परिवर्तन ल्याउन, समुदायहरूलाई सशक्त बनाउन सहायता गर्ने उनको भनाइ थियो ।