site stats
बाह्रखरी :: Baahrakhari
खेल
ह्विलचियर बास्केटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईए)को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमबारबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सम्पूर्ण खेल सम्पन्न भएसँगै सेमिफाइनल प्रवेश गर्ने महिला तथा पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

Argakhachi Cement Island Ad

पुरुषतर्फ समूह ‘ए’ बाट आर्मी समूह विजेता र एपीएफ उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरेका छन् । आर्मीले तीन खेलमा तीन जित हासिल गर्दा आर्मीसँग एपीएफ पराजित हुँदै उपविजेता बन्यो ।

अर्को समूहबाट आयोजक एनएससीआईए समूह विजेता र बीआईए उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा आर्मीले बीआईए र एपीएफले एनएसीसआईएसँग खेल्नेछ ।

महिलातर्फ समूह ‘ए’ बाट राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससीआईए सेमिफाइनलमा प्रवेश गरेका छन् । अर्को समूहबाट डब्ल्यूएसए विजेता तथा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जीब्ल्यूएससी) उपविजेता हुँदै सेमिफाइनल यात्रा तय गरे ।

प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाका अनुसार सेमिफाइनलमा अब डब्ल्यूएसएले एनएससीआईए र निडवानले जीडब्यूएससीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २२:५२
प्रतिक्रिया दिनुहोस्