
काठमाडौं । ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् । उनी सोमबार बेलुकी नेपाल आइपुगेका हुन् ।
साइमन यूईएफएका प्रो–लाइसेन्स प्रशिक्षक हुन् । साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायिक फुटबल खेलेका थिए । उनले सन् १९९६ को इङ्लिस लिग कपको उपाधिसमेत जितेका थिए ।
प्रशिक्षकको रूपमा ग्रेसनले लिड्स युनाइटेडलाई इंग्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराउनुका साथै लिड्स, हर्डसफिल्ड र प्रेस्टन नर्थलाई च्याम्पियनसिपमा उकालेका थिए ।
ग्रेसनले भारतको इन्डियन सुपर लिग (आईएसएल) टोली बेंगलुरु एफसीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा बेंगलुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो । इंग्लिस फुटबलका अनुभवी प्रशिक्षकको आगमनले टिमलाई झनै बलियो बनाउने अपेक्षा गरिएको छ ।
नेपाल सुपर लिग (एनएसएल)का लागि ललितपुर सिटी एफसीसँग आबद्ध हुन पाउँदा उनि अत्यन्तै उत्साहित भएको र अहिलेसम्म प्राप्त गरेको अनुभवले ललितपुर सिटी एफसी तथा समग्र नेपाली फुटबलमा महत्त्वपूर्ण योगदान पुर्याउन चाहेको ग्रेसनले बताएका छन् ।
यस्तै, ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्नका लागि प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना पनि नेपाल आइपुगेका छन् । एसिया र मध्यपूर्वका विभिन्न शीर्ष लिगमा खेलेको अनुभव बटुलिसकेका उनलाई ललितपुरले तेस्रो विदेशी खेलाडीको रूपमा टोलीमा भित्र्याएको हो ।
प्यालेस्टाइनको राष्ट्रिय टोलीबाट खेल्दै आएका कान्टिलानाले एसिया र मध्य पूर्वका शीर्ष लिगहरूमा व्यापक अनुभव बटुलेकाले क्लबको मिडफिल्ड शक्तिलाई उल्लेखनीय रूपमा बढाउने क्लबले अपेक्षा राखेको छ ।
यसैगरी, हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट पनि ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्नका लागि नेपाल आइपुगेका छन् । उनी पनि सोमबार बेलुकी नै नेपाल आइपुगेका हुन् । सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका छन् ।
बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए । दबाबको स्थितिमा पनि ट्याकलर गर्न सक्ने क्षमताले उनी ललितपुर सिटी एफसीका लागि महत्त्वपूर्ण खेलाडी हुनेछन् । ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ छन् ।