
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले ‘कुलिङ पिरियड’मा भएको शब्दको चलखेल सुविचारित तरिकाले गरिएको षड्यन्त्र भएको बताएका छन् । मंगलबार (असार १७) सिंहदरबारमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा सैद्धान्तिक र राजनीतिक रूपमा समझदारी कायम भएपछि समितिको बैठक नबोलाईकन राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्रतिवेदन बुझाएको उनले उल्लेख गरे ।
“मुख्यसचिव र महासचिवको नेतृत्वमा राष्ट्रियसभा र प्रतिनिधिसभामा जुन देउसी खेलियो, त्यो पृष्ठभूमि सम्झिनुपर्छ,” उनले भने, “राज्यव्यवस्थामा सैद्धान्तिक र राजनीतिक रूपमा समझदारी कायम भयो । सभापतिजी (रामहरि खतिवडा)ले अन्तिम समितिको बैठक नबसीकन प्रतिवेदन बुझाउनुभयो ।”
नैतिक रूपमा समिति सभापति र सचिवले राजीनामा दिनुपर्नेमा उनले जोड दिए । उच्चस्तरीय वा संसदीय छानबिन समिति बनाएर कारबाही गर्नुपर्ने उनले बताए ।
“संसद्माथिको गम्भीर अपराध हो । यसलाई सामान्य रूपमा लिन सक्दैनौँ । जानाजानी समिति सभापति जानकार हुनुहुन्छ भने यो त किर्ते जालसाझी हो,” उनले भने, “उहाँको संलग्नता छैन भने उहाँले हस्ताक्षर गरेको प्रतिवेदनमा कहाँबाट आयो ? नैतिक रूपमा समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ ।”
उनले त्यसबारे छानबिनको अवस्था नबनेसम्म राज्यव्यवस्था समितिको बैठक बस्न नसक्ने बताए ।
०८० फागुनमा संसद्मा दर्ता विधेयकमा ‘संवैधानिक, कूटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवानिवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो । यसबाट संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन । सरकारीबाहेक निजी र गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो ।
समितिबाट पारित विधेयकमा ‘संवैधानिक वा कूटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेक’ भन्ने शब्द राखिएको थिएन । तर, प्रतिनिधिसभामा पुग्दा ‘बाहेक’ भन्ने शब्द राखेको पाइएपछि विवाद छ । न्युज एजेन्सी नेपाल