site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले भने : जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्था 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको बताएका छन् ।

राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग भएकोप्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा देश नरहेको टिप्पणी गरे । 

Argakhachi Cement Island Ad

सोमबार काठमाडौंमा गैह्रसरकारी संस्था महासंघको ११औँ महाधवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोगको आलोचना भएपछि केपी ओलीले जुलुसमा मान्छे घुसाएको भन्ने तर्क गर्ने गरेको समेत बताए । उनले राजावादीको जुलुस आफूले गराएको र फोटो पनि आफूले राखेको भन्दै कटाक्ष गरे ।
 
प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने फुर्सद नभएको र देश बनाउने अभियानमा अघि लागेको बताए । 

उनले बाह्य अनुदान सहायतामा भर नपरी आफ्नै ढंगले मुलुकको विकासमा लाग्नुपर्ने बताए । बाह्य सहयोग जुनसुकै अवस्थामा रोकिन सक्ने भएकाले अनुदान नआउँदा पनि मुलुक चल्ने गरी आत्मनिर्भर हुने बाटोतर्फ अघि बढ्नुपर्ने धारणा उनले राखे । 

प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए । 

सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै उनले विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने स्पष्ट गरे । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्