site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तीन करोडभन्दा साना आयोजना प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि तीन करोड रुपैयाँभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गरे ।

उनले ठूला रूपान्तरणकारी तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड दिए । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरूको भूमिका बढाउनुपर्ने र एक पटकका लागि सिडमोनी दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका आयोजना तथा कार्यक्रमहरू हस्तान्तरण गर्नुपर्ने बताए ।

Argakhachi Cement Island Ad

बजेट निर्माणसम्बन्धी बैठकमा खानेपानीमन्त्री प्रदीप यादव, संघीय मामिलामन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव, राजस्व सचिव,  खानेपानी सचिव, संघीय मामिला सचिव, विभागीय प्रमुख लगायत सहभागी थिए ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धमा अर्थ मन्त्रालयले यसअघि भौतिक, सहरी, ऊर्जा, स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल गरिसकेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्