
काठमाडौं । किर्ते तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेका शनिनरसिंह राणालाई उच्च अदालत पाटनले समेत जिल्लाको फैसला सदर गरेको छ ।
राणाले काठमाडौंको पुतलीसडकमा छापाखाना चलाउने दोलखा घर भएका खिमबहादुर सिवाकोटीको विसं. २०६१ मा हत्या गरेका थिए ।
हत्याको १७ वर्षपछि राणा २०७८ मा पक्राउ परेका थिए । हत्यालगत्तै भारत भागेका राणाले दिलीप केसीको नामबाट नयाँ नागरिकता बनाएर नेपाल फर्किएका थिए ।
प्युठानका राणाले जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २०२५ को जन्म मिति राखेर अर्को नागरिकता लिएको खुलेको थियो । सोही प्रकरणमा जिल्ला अदालत काठमाडौंले राणाविरुद्ध २० वर्ष कैद सजायको फैसला गरेको थियो ।
जिल्ला अदालतको फैसलाविरुद्ध राणाको परिवार उच्च अदालत पाटन पुगेको थियो । उच्च अदालत पाटनले समेत राणालाई मंगलबार जिल्ला अदालतकै फैसला सदर गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीस मनेन्द्रप्रसाद अवस्थी र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई सदर गरेको हो । राणा सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।