
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तु उत्खनन गरेर विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताएका छन् । आज काठमाडौंमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले सरकार खानीजन्य वस्तु निर्यात गर्ने गरी अघि बढेको बताए ।
खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन गरेर निर्यात गर्ने विषय बजेटमा राखिएको कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयनमा लगिने उनको भनाइ छ ।
"अब निर्माण क्षेत्रमा नदीजन्य वस्तुहरूको अभाव हुन दिँदैनौँ । वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदीजन्य निर्माण सामाग्री उत्खनन र प्रशोधन गरी आन्तरिक उपयोग गर्नेछौँ, नेपालमा मात्रै नभई निर्यात गर्ने व्यवस्था मिलाउनेछौँ," उनले भने ।
अर्थमन्त्री पौडेलले अहिले यथार्थपरक बजेट ल्याइएकाले विश्वसनीयतामाथि कसैले प्रश्न उठाउन नसकेको जिकिर गरे । उनले पुँजीगत खर्चलाई बढाउने प्रयास गरिएको पनि बताए । तीन करोडभन्दा तलका आयोजना अब कसैले पनि बजेटमा राख्न हिम्मत नगर्ने उनको भनाइ छ । उनले बजेट अनुशासनका हिसाबले यो महत्त्वपूर्ण 'डिपार्च' भएको दाबी गरे ।