
काठमाडौं । जनकपुरमै पांग्रा छुटाएर काठमाडौं आएको बुद्ध एयरको विमानको विषय संसद्मा प्रवेश गरेको छ । बिहीबार विमान उड्ने क्रममा अगाडिको टायर जनकपुरमै खसेको विषयमा छानबिन आयोग बनाउन सांसदले माग गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले जाँचबुझ आयोग गठन गर्न माग गरेका हुन् । “...काठमाडौंमा एउटा पांग्रामा ल्यान्ड गर्यो, त्यसका लागि एउटा जाँचबुझ आयोग गठन गरियोस् भन्ने माग राख्न चाहन्छु,” उनले भने ।
नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ लामु लामा तामाङले एउटा पांग्रा जनकपुरमै छुटेर आयो भन्ने सुन्दा यात्रुको मनमा भुइँचालो नै आएको बताइन् ।
“यो सुन्दा हजारौँ यात्रुको मनमा भुइँचालो गयो होला, मेरो पनि त्यस्तै भयो,” उनले भनिन् ।
उनले रनवेबाट पांग्रा समयमै निकाल्दा अर्को खतरा टरेको पनि बताइन् । उनले हवाई क्षेत्र बेवारिसे बनाएको विषयमा पनि प्रश्न गरिन् ।
बिहीबार बेलुका ५ः४५ को उडानका क्रममा बुद्धको ९ एनएएनएच विमानको अगाडिको एउटा टायर जनकपुरमा नै छुटेको थियो । तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षितरूपमा अवतरण गर्न सफल भएको थियो । विमानमा ६२ यात्रु थिए ।