काठमाडौं । अभिनेता सुशील श्रेष्ठले चलचित्र ‘आउट ल : दफा २१९’ कानुन हातमा लिन किन नागरिक बाध्य हुन्छन् भन्ने देखाइएको बताएका छन् । हरेक व्यक्तिका सकारात्मक र नकारातमक पाटो हुने भन्दै उनले कहिले काहीँ व्यक्तिले कसरी कानुन हातमा लिन्छ भनेर सिनेमामा देखाइएको उनले बताए ।
मंगलरबार पत्रकार सम्मेलनमा सुशीलले ‘आउट ल : दफा २१९’मा मनोरञ्जनमात्र नभएर सन्देश पनि भएको बताएका छन् ।
“जब देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको आडमा जे पनि हुन थाल्छ । त्यसपछि एकजनाको व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ,” उनले भने, “याे चलचित्र हामीले मनोरञ्जनका साथै समाजमा सकारात्मक प्रभाव पार्न बनाएका हौँ ।”
फागुन २९ गतेबाट रिलिजमा आउने फिल्म ‘आउट ल : दफा २१९’मा सुशीलले पृथ्वीजंग थापाको क्यारेक्टर निर्वाह गरेका छन् । यो पात्र केही कुरामा राम्रो र केहीमा नराम्रो रहेको उनले प्रष्ट पारे ।
एक्सन गर्न सहज नभएको उनले सुनाए । “एक्सन गर्न निकै नै गाह्रो रहेछ । म छायांकनको क्रममा निकै नै थकित हुन्थेँ । कट भन्ने वित्तिकै निन्द्रा लाग्थ्यो,” उनले भने, “यो चलचित्रको तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठिक भएको छैन ।”
यो चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका छन् । अमित अग्रहरिको लगानी रहेको छ ।