
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरण मर्मत गरेको छ । सत्र अस्पतालका ६६१ वटा उपकरण निरीक्षण गरिएकामा ५०० वटा मर्मत गरिएको केन्द्रका बायोमेडिकल इन्जिनियरिङ विभागका प्रमुख उमेश किराँतीले जानकारी दिए ।
ती उपकरण १० वटा अस्पतालका हुन् । केन्द्रले ५०० उपकरण मर्मतमा २३ लाख २० हजार रुपैयाँ खर्चिएको किराँतीले बताए । बजारमा करिब साढे २४ करोड रुपैयाँ मर्मत खर्च लाग्ने उपकरण केन्द्रले २३ लाख रुपैयाँमा मर्मत गरेको उनको भनाइ छ ।
“हामीले नेपालको बजार मूल्य सर्वेक्षण गर्दा हाल मर्मत भइरहेको संख्यामा उपकरण मर्मत खर्च २४ करोड ३० लाख लाग्ने जानकारी पाएका छौँ,” उनले भने ।
केन्द्रले सामान्य तार जोड्नेदेखि थप सामग्री मगाएर जटिल मर्मतसमेत गरेको छ । “कतिपय अस्पतालमा तारसम्म मर्मत नगरेर राखिएका उपकरण पनि भेटियो,” किराँतीले भने ।
सम्झौता गरेकाबाहेक अन्य अस्पतालबाट पनि आग्रह आएमा उपकरण मर्मत गर्न तयार रहेको केन्द्रले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केन्द्रलाई धन्यवाद दिँदै सहकार्य जारी रहने बताएका छन् ।
गत भदौ १८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रबीच मर्मत अभावमा थन्किएका १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्ने सम्झौता भएको थियो ।