काठमाडौं । चलचित्र ‘मायावी’ले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको छ । बुधबारदेखि रिलिजमा आउने ‘मायावी’ले सिंगो चलचित्र क्षेत्रलाई नै चलायमान बनाउने नायक राजेश हमालले बताएका छन् ।
प्रिमियरमा कमै मात्र पुग्ने राजेश हमाल वुधबार आयोजित दिवाकर भट्टराई निर्देशित चलचित्रको प्रिमियरमा कीर्तिपुर सिनेप्लेक्स पुगेका थिए ।
“यो फिल्ममा हरेक कुरा छ । फिल्मको कथावस्तुले मन छुन्छ । गीतसंगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ । व्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ,” चलचित्र हेरेपछि उनले भने, “कलाकारले पनि निकै राम्रो काम गरेका छन् । त्यसैले मायावीले बजार तताउने कुरामा विश्वस्त छु ।”
अहिलेसम्म आफूले हेरेको लभस्टोरीमा यो बेग्लै खालको चलचित्र रहेको उनले बताएका छन् । “यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिँदैन । मान्छेको मन नै त हो जता पनि जान सक्छ भन्ने देखाएको छ । यो लभ स्टोरी फिल्म विशेष छ,” राजेशले भने । नायक हमालले चलचित्रको प्रस्तुति निकै मन परेको बताए ।
दिवाकर भट्टराइको अर्को फिल्म ‘नरसिंहाः अवतार’मा राजेशले काम गरेका छन् । “मलाई उहाँ कस्तो मेकर हो भन्ने लागेको थियो । तर, यसको मेकिङ निकै राम्रो लाग्यो । त्यसैले दिवाकरजीलाई वधाई दिन चाहन्छु । फिल्मको सुरुवातदेखि अन्त्यसम्म एउटा गति समातेर अगाडि बढेको छ,” उनले भने, “दर्शकले यो फिल्म मन पराउनुहुन्छ भन्ने लागेको छ ।”
‘मायावी’को प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, पूर्वमिस नेपाल उषा खड्गी, कलाकार सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाललगायत पुगेका थिए ।
‘मायावी’का मुख्य कलाकारहरू दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अंशु महर्जन, नव–नायक समीम खान पनि पुगेका थिए । चलचित्रका मुख्य नायक पल शाह भने अर्को सिनेमाको छायांकनका क्रममा रोल्पामा रहेकाले उपस्थित हुन नसकेको निर्माणपक्षले प्रेस नोटमा उल्लेख गरेको छ ।
चलचित्र हेरेका अधिकांशले कथावस्तु र प्रस्तुतिले आँखा रसाएको बताए । लभस्टोरी कथावस्तुमा एउटा मन छुने कथामा चलचित्र बनेको चलचित्रकर्मीको भनाइ छ ।
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको चलचित्रले पोखराको सेरोफेरोमा रहेर कथा भन्छ । प्रवीन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माता छन् ।