site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी सांसदले भने– सरकारले जवाफ नदिए संसद्‌भित्रै आन्दोलन गर्छु
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का सांसद राधेश्याम पासवानले सिरहाको नवराजपुरमा भएको सामूहिक बलात्कारपछि हत्या प्रकरणमा सरकारले जवाफ नदिए संसद्‌मै आन्दोलन गर्ने घोषणा गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा उनले यस्तो घोषणा गरेका हुन् ।

उनले बलात्कारपछि हत्या भएको १५ दिन बितिसक्दा समेत सरकारले कुनै जवाफ नदिएको र अपराधी पक्राउ नपरेको भन्दै आपत्ति जनाए । सरकारले संसद्‌मा बोलेका कुराको कार्यान्वयन नगरे यहाँभित्रै आन्दोलन गर्ने उनले चेतावनी दिए ।

“...सिरहा जिल्लाको नवराजपुरको घटनाको विषयमा १५ दिन भइसक्यो, बलात्कारको घटना भएको,” उनले भने, “अहिलेसम्म सरकारले संसद्‌मा आएर जवाफ दिन सक्नुभएको छैन । न तपाईंको अहिलेसम्म प्रहरीले समात्न सकेको छ । आजदेखि म संसद्‌मै आन्दोलन गर्छु – जवाफ दिएन भने, कारबाही भएन भने । दलित हक, अधिकारको लागि आन्दोलन गर्छु ।”

सिरहाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरकी १७ वर्षीया किशोरी रिंककुमारी सदाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्