site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रश्नबाट ‘भाग्दै’ झोँक्किए ओली, उल्टै सांसदमाथि प्रश्नैप्रश्न !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नोत्तरकर्ता सांसदसँगै खनिएमात्र होइन कि जवाफसमेत दिएनन् । उल्टो प्रश्नकर्ता सांसदमाथि नै प्रश्नको ओइरो लगाए ।

हिउँदे अधिवेशन सुरू भएपछिको पहिलो प्रश्नोत्तरमा सांसदहरू प्रकाश ज्वाला, प्रतिक्षा तिवारी, प्रतिमा गौतम, वर्षमान पुन, डा. प्रकाशशरण महत, प्रभु हजारा, प्रेमबहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन, श्यामकुमार घिमिरे र प्रभु साहले प्रश्न सोधेका थिए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा लिखित प्रश्नको जवाफ दिने क्रममा ओली सांसदहरूसँग झोक्किए र जवाफसमेत दिन अस्वीकार गरे । प्रारम्भमा केही समय उभिएर जवाफ दिएका ओलीले प्रश्नोत्तरका क्रममा गोडा दुखेको भन्दै कुर्सीसमेत मागेका थिए । उनले कुर्सीमै बसेर केही प्रश्नको जवाफ दिए । 

olibaa-1739708051.JPG
 

ओली प्रश्न : ‘कार्यक्रम रोक्नेले नै प्रगति खोज्ने ?’ 
प्रश्नोत्तर कार्यक्रमका पहिलो प्रश्नकर्ता थिए, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्षसमेत रहेका सांसद प्रकाश ज्वाला । उनले ओलीलाई ‘निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम योजना’ कहिले र कसरी सक्ने भनी सोधेका थिए । 
उनको प्रश्न थियो, “तपाईंले तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटका अभावमा अलपत्र छन् । पालिका अस्पताल कतिका जगमात्रै बसेका छन् । कतिका पिलर अस्थिपञ्जर जस्तै उभिएका छन् । रणनीतिक सडक र पालिका अस्पतालका लागि बजेटको व्यवस्था गरेर काम सम्पन्न गर्ने योजना के छ ?” 

ओलीले प्रश्नकर्ता सांसद ज्वालामाथि नै जसले रोक्यो, उसैले प्रश्न गर्ने जवाफ फर्काएका थिए । ज्वाला यसअघि भौतिक पूर्वाधार मन्त्री भइसकेका सांसद हुन् ।

prakash-jwala-1739708051.JPG
 

ओलीले आफ्नो पालामा शुरु भएका निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पताल आफू बाहिरिएपछिका सरकारले निरन्तरता नदिएको आरोप लगाए । ज्वालामाथितिरै संकेत गर्दै ओलीले भने, ‘‘प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधार मन्त्री हनुहुन्थ्यो कि जस्तो लाग्छ । कार्यक्रम रद्द गर्नेले फेरि त्यसको प्रगति खोज्ने हामीमा अनौठो संस्कार छ ।”

ओलीले अस्पालतको निर्माण सम्पन्न गर्न ठूलो बजेट लाग्ने बताए । उपलब्ध स्रोत साधन ध्यान दिइ सडक निर्माण भइरहेको जवाफ दिएका थिए ।

वर्षमानमाथि पनि प्रश्नैप्रश्न 

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका सांसद वर्षमान पुनले अर्थतन्त्र सुधारका लागि सरकारका नीति र प्राथमिकताबारे प्रश्न सोधे । “अर्थतन्त्रमा शिथिलता आएको छ । जनताको चुल्हो महँगीको मारमा पुगेको छ । पुँजीगत खर्च भइरहेको छैन । युवाहरूको पलायन बढेको बढ्यै छ । समग्र अर्थतन्त्र सुधार गर्न सरकारको नीति र प्राथमिकताहरू के–के छन् ?,” पुनको प्रश्न थियो । 

जवाफमा ओलीले पुनलाई ७ महिनाअघि फर्कन सुझाए । उनले वर्षमान अर्थमन्त्री रहँदाको बेला भन्दा पुँजीगत खर्च धेरै गरिएको दाबी समेत गरे । उनले भने, “देशको अर्थतन्त्रबारे चिन्ता गर्नु भएकामा यसअघिका अर्थमन्त्री समेत रहनुभएका प्रश्नकर्ता माननीयलाई धन्यवाद । ७ महिना अगाडि तपाईं आफैँ अर्थमन्त्री हुनुहुन्थ्यो । त्यस समयभन्दा अगाडि र त्यसयताको मूल्य वृद्धिको अनुपात हेर्न म उहाँलाई अनुरोध गर्दछु । हामीले अब आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नुपर्छ ।” 

ओलीले थपे, “तपाईंको अर्को प्रश्न छ– पूँजीगत खर्च भइरहेको छैन । हो, हाम्रो पूँजीगत खर्च कम छ । तर माननीयज्यू अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी छ । यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च १५ प्रतिशतले बृद्धि भएको छ ।”

उनले अर्थतन्त्रमा एकै दिनमा सुस्तता नहट्ने पनि बताए । सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रुपमा काम गरिरहेको र सुधारका केही नतिजाहरू पनि देखिएका देखिएको ओलीको दाबी थियो । 

वर्षमान पुनकै अर्को प्रश्न थियो, ‘‘विगत सरकारले विश्वविद्यालय, संस्थान आदिमा कायम गरेको मेरिटोक्रेसीप्रति वर्तमान सरकारले ध्यान नदिएको, दलीयकरण र हस्तक्षेप गरेको तथा ती निकायहरूमा व्यवसायिक दक्षताका आधारमा काम गर्ने वातावरण नरहेको देखिन्छ । सरकारले त्यसलाई सुधार गर्न के कस्तो सोच बनाएको छ ?”

ओलीले मेरिटोक्रेसी आलंकरिक भाषणको विषय नभएको जवाफ दिए । “मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन, शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्वविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र ? बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने भइरहेको थियो, आज त्यसको परिणाम विश्वविद्यालय र हाम्रा संस्थाहरूले भोगिरहेका छन् । हामी त्यस्ता संस्थाहरूमा व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेका छौं,” ओलीले भने । 

barsamansamd-1739695998.JPG
 

पुनले सरकारले ल्याएको अध्यादेशप्रति आपत्ति जनाउँदै सत्तापक्षले संसद्मा बहुमत गुमाइसकेको हो भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले ०८० वैशाख २० मा माओवादीकै सरकारले अध्यादेश जारी गरेको सम्झाए ।

“अध्यादेश ल्याएर संसद्लाई किन होच्याएको भन्ने माननीयज्यूको प्रश्नको मैले जवाफ दिइरहनु पर्दैन, किनभने म सम्माननीय सभामुखमार्फत २०८० वैशाख २० गतेको दिन सम्झन उहाँलाई आग्रह गर्दछु । त्यसदिन उहाँ आफैँ सम्मिलित सरकारले संसद् सुरु हुनुभन्दा चार दिनअघि अध्यादेश ल्याएको थियो । अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा । तर आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले नै गरेको छ,” ओलीले लिखितमा भने ।

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८० बैशाख २० गते जारी भएको थियो । 

नागरिकलाई सेवा प्रवाहमा छरितोपन ल्याउन, लगानीको वातावरण बनाउन र अर्थतन्त्रका समस्या हटाएर सुधारतर्फ लैजान अध्यादेश ल्याउनुपरेको र प्रक्रियाबाट पारित हुने जवाफ दिए । ओलीले आफूले केन्द्रीय समितिमा वा संसदीय दलमा ४०/४० प्रतिशत भए विभाजन गर्न सकिने भनी ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोध भएको स्मरण पनि गरे । 

“मैले बिर्सेँ । त्यसको विरोध क–कसले गरेका थियौं कुन्नि । निकै कडै विरोध गरेका थियौंँ । लोकतन्त्र सिद्याउने खोज्यो, संविधान विरोधी प्रधानमन्त्री भनियो,” उनले भने । 

तर, आफूले फिर्ता लिइसकेपछि एमाले विभाजन गर्न अध्यादेश ल्याइएको होइन भनी सोधे । “पछि त मेरै पार्टी फुटाउन २० वा २० प्रतिशत भनेर अध्यादेश जारी गरेको होइन र ?,” ओलीले भने । 

ओलीले कसैको पार्टी फुटाउने ध्येय राखे २० वा २० को प्रावधान राखेर अध्यादेश नल्याउने समेत जिकिर गरे । अध्यादेशको उद्यमी, व्यवसायी, आइटी क्षेत्रका युवाले समर्थन गरेको भन्दै अध्यादेश किन विरोध गरेको आफूले नबुझेको भनाइ उनको थियो । 

झोक्किए ओली, दिएनन् प्रभु साहको प्रश्नको जवाफ 

आइतबारको कार्यक्रमको अन्तिम प्रश्नकर्ता थिए– प्रभु साह । साहले ओलीसँग ८ प्रश्न गरेका थिए । उनले ७० हजार नेपाली युवालाई विदेश पठाएर बगाएको पैसा किन नेपाल नल्याएकोदेखि अध्यादेश अल्पमतमा पर्दा कुन नैतिकताले पदमा बसिरहेको भन्नेसम्मका प्रश्न गरेका थिए ।

साहको एउटा प्रश्न थियो, झण्डै ७० लाखभन्दा बढी नेपाली युवाहरू वैदेशिक रोजगारमा छन् । उनीहरूको श्रम समझौतानुसार प्रत्येक वर्ष झण्डै ४० वर्षभन्दा बढी रेमिट्यान्स आउनुपर्ने हो ?  तर, रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३–१४ खर्ब आउने सम्भावना छ । मेरो प्रश्न छ– हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन ? के नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालोधन साट्न विदेशमा मरिरहेका छन ? होइन भने संख्याको अनुपातमा रेमिट्यान्स किन आएन ?”

oli-1739708190.JPG
 

साहको प्रश्नमा ओली झोक्किए । उनले आफूलाई अपमान गरी प्रश्न सोधेको भन्दै प्रतिप्रश्न गरे, ‘म म्यानपावर कम्पनीको मानिस हुँ र ?’
“उहाँका प्रश्नहरू उहाँका मनमा रहेको विरोध, घृणा आदिले अपमानजनकसमेत रहेका छन् । संसद् जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा युवालाई विदेश पठाएर तपाईंलाई के लाभ भयो जस्ता भाषा । म म्यानपावर कम्पनीको मान्छे हो ?,” ओलीले सोधे, “म सरकारमा आएपछि आठ महिनाामा सुरु भएको हो ? तपाईंले भनेको ७० लाख ८ महिनामा गएका हुन् ?” 

ओलीको जवाफपछि साह उठेर प्रतिप्रश्न गर्न खोजे । सभामुख देवराज घिमिरेले उनलाई बस्न आग्रह गरे । प्रधानमन्त्रीलाई फेरि प्रश्न सोध्न नपाइने भन्दै दोहोर्याएर बस्न आग्रह गरे । 

त्यसपछि ओलीले प्रश्नको उत्तर आफैँ बोकेको भन्दै थप प्रश्नको जवाफ दिन अस्वीकार गरे । “माननीयजीले गर्नु भएका प्रश्नमा खासै जवाफ दिइरहनु परेको छैन । सबैको उत्तर आफैंले बोेकेर आउनुभएको छ । यहाँलाई धेरै धन्यवाद छ,” ओलीले भने ।

नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि पहिले नै प्रश्न पठाइन्छ । तर, त्यसको जवाफ नदिइएकोप्रति साहले आक्रोश पोखेका छन् । 

“जनताका सरकारसँग जोडिएका प्रश्नको उत्तर दिइनुपथ्र्यो । उहाँले संसद्को अपमान गर्नुभयो, नियमावलीको अपमान गर्नुभयो । प्रश्नोत्तर भन्ने कार्यक्रमको धज्जी उडाइदिनुभयो,” उनी भन्छन्, “लोकतन्त्र हो भने जनताको प्रश्नको जवाफ दिन सक्नुपर्छ ।”

prabhu-shah-1739708299.JPG
 

बैठकपछि सञ्चारकर्मीसँग उनले प्रश्नकै प्रतिप्रश्न बनाएको बताए ।  उनले आफूले नियमापत्ति गर्न खोज्दा सभामुखले रोकेको आरोप लगाए । 

चार दिनअघि हात पारेको प्रश्नको जवाफ नदिएर ओली भागेको भन्दै आपत्ति जनाए । “प्रश्न गर्दा मजाक बनाउन कोसिस गर्ने, प्रश्नबाट भाग्ने र त्यसको प्रतिवाद गर्न नदिने व्यवस्था भयो त्यो चिन्ताको विषय हो,” उनले भने । उनले प्रश्नोत्तरको भविष्यमाथि प्रश्न उठेको समेत बताए । 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro