
प्रेम अनन्त छ । शब्दमा भन्न सकिँदैन । यसमा कुनै प्रकारको संघर्ष गर्नु पर्दैन । अहिले भागदौडको जिन्दगीमा मान्छेमा शुद्ध प्रेम र भाइचारामा कमी आएको छ । आज प्रेम स्वार्थमा मिसिएको छ । अहिलेको युगमा प्रेम लेनदेन र व्यापारजस्तो हुन पुगेको छ । पहिलेजस्तो शुद्ध र पवित्र प्रेम भेट्टाउन गाह्रो छ ।
अहिलेको समयमा प्रेमलाई विभिन्न अवस्थामा जोड्ने गरिएको छ । घरघडेरी, बैंक ब्यालेन्स र दौलतसँग तुलना गरिन्छ ।
प्रेम मनको भावनासँग सम्बन्धित छ । यद्यपि, प्रेम भावना मात्र होइन, यो त मान्छेको अस्तित्व हो । जो मान्छेसँग प्रेम छ, त्यसले नै प्रेम बाँड्न सक्छ । शान्ति, खुसी, आनन्द प्रेमका रूप हुन् ।
खासमा मान्छको मुस्कान नै पहिलो प्रेमको रूप हो ।
प्रेमका विभिन्न रूप हुन्छन् । कहिले प्रेम क्रोधमा हुन्छ । प्रेममा रिस, अहंकार र विभिन्न अवस्था व्यक्त भइदिन्छ । शुद्ध पवित्र प्रेममा गहिरो विश्राम हुन्छ । मनको गहिराइसम्म हुन्छ ।
एउटा व्यक्ति के हो ? शरीर मनको मिश्रण हो । प्रेम कुनै वस्तुभन्दा पर छ । हामीले देखिरहने हरेक कुरा परिवर्तनशील छ । तर, प्रेम अपरिवर्तनशील छ । कुनै कुरामा फस्नु माया हो ।
प्रेमभित्र दिव्यता भक्तिपूर्वक श्रद्धा हुन्छ । साँचो प्रेम भगवान्को आशीर्वादसरह हो, जहाँ कि भगवान्को जस्तो दिव्यता मिसिन्छ । प्रेम त दिइन्छ कसैलाई, तर लिइँदैन । प्रेम जति गरिन्छ, त्यति नै हामी भित्र खुल्दछौँ । प्रेम शुद्ध ज्ञान हो ।
मान्छेको चेतनाबाट प्रेम प्रस्फुटन हुन्छ । कहिले बच्चाको रुवाइजस्तो । बच्चाहरू कसरी रुन्छन्, दिल खोलेर । हाँस्न पनि दिल खोलेर हाँस्छन् । हामी भन्ने गर्छौं– बच्चा भगवान्को रूप हो ।
साहित्यकार सेक्सपियर भन्छन्, ‘थोरैलाई विश्वास गर र सबैलाई प्रेम गर । जति नै नराम्रो होस्, अपराध गर्ने खुँखार मान्छेभित्र पनि केही न केही प्रेम हुन्छ ।’
सबैलाई प्रेमका साथ हेरौँ त, संसार कति राम्रो देखिन्छ ! हामी हिंसामा हैन, प्रेममा बाँच्न चाहन्छौँ ।
सुखमय भविष्यका लागि हामीभित्रको प्रेम अनिवार्य छ । प्रेम नगर्नाले हामी संकुचित हुन्छौँ । प्रेम बाँड्नाले प्रेम फैलिएर जान्छ ।
प्रेम सप्ताह चलिरहँदाको यो बेला सबै प्रेमका साथ बाँचौँ । यही नै मानव जीवनको अस्तित्व हो ।
(बिर्तामोड)