
विराटनगर । प्रधानमन्त्री केपी ओलीले मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा निर्मित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । शनिबार (जेठ २४) हेलिकोप्टरमार्फत कटहरी ओर्लिएका उनले दुई अर्ब रुपैयाँ लगानीमा निर्मित २०० शय्या क्षमताको अस्पताल उद्घाटन गरेका हुन् ।
ग्रामीण भेगमा सेवा दिने उद्देश्यले अस्पताल बनाइएको जीवन विकास समाजका संस्थापक समेत रहेका अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलले बताए । मण्डल स्वतन्त्र उमेदवारी दिएर मोरङ क्षेत्र नम्बर–५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् । नेकपा (एमाले)बाट टिकट नपाएपछि ‘विद्रोह’ गरेर उनी स्वतन्त्र उमेदवार बनेका थिए ।
अस्पताल अध्यक्षमण्डलका अनुसार, यहाँ अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकमार्फत आकस्मिक सेवा दिइनेछ । विशेषज्ञ चिकित्सकबाट दैनिक ओपीडी, निर्मल तथा पेनलेस डेलिभरी, जेनेरल तथा दूरबिनबाट सबै किसिमको अपरेस, बालरोग उपचार र डायलासिस सेवा सञ्चालन गरिनेछ ।
अस्पतालमा हाल २५ शय्याको आईसीयू छ । नौ शय्याको एनआईसीयू छ । १० शय्याको सीसीयू बेड छ । दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकसहित २०० जनशक्ति कार्यरत रहेको मण्डलले जानकारी दिए ।