site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
ल्होछार : तामाङ समुदायको सांस्कृतिक र धार्मिक महत्त्व

आज माघ १७ गते तामाङ समुदायको २८६१ औं सोनाम डिल ल्होछार (सर्प वर्ष)को रुपमा मनाइँदै छ । तामाङ समुदायको ल्होछार पनि नेपालको विविध सांस्कृतिक धरोहरको महत्त्वपूर्ण भाग हो । पर्व तामाङहरूको नयाँ वर्षको रुपमा मनाइन्छ । ल्होछारले तामाङ समुदायको मौलिक सांस्कृतिक पहिचानलाई बलियो बनाउँछ र समग्र राष्ट्रिय एकता सामाजिक तथा सांस्कृतिक विविधता, शान्ति र सद्भावको सन्देश पनि दिन्छ ।

ल्होछारको तिथि र प्रक्रिया

ल्होछार पर्व चन्द्र पात्रोमा आधारित हुने हुनाले प्रत्येक वर्ष यसको मिति फरक हुन्छ । यो पर्व शिशिर ऋतु (माघ फागुन)मा पर्छ । तामाङ समुदायको महिनाको मितिभन्दा तिथिमा हेर्ने गरिन्छ जुन औंसीको चन्द्रमालाई ३० दिन र पुर्णिमाको १५ लाई आधा महिना गरी कृष्ण औंसीको भोलिपल्ट १ गतेको रूपमा मान्ने गरिन्छ । त्यसकारण तामाङ समुदायले औंसी र पूर्णिमा बाली रोप्ने, भित्र्याउने र गोर्ने गरिदैन, बार्ने गरिन्छ । औंसी र पुर्णिमा शुभ दिनको रूपमा लिई पूजापाठ गरिन्छ  ।

ल्हो (वर्ष) र प्राणीको प्रतीक

तामाङ समुदायले बाह्र वर्षका विभिन्न प्राणीलाई प्रतीकको रूपमा लिन्छ । जस्तै -

जीवा ल्हो (मुसा वर्ष) 

लाङ ल्हो(गोरु वर्ष) 

ता ल्हो(बाघ/सिंह वर्ष)

या ल्हो (खरायो/बिरालो वर्ष)

डुप ल्हो (ड्रागन वर्ष)

डिल ल्हो (सर्प वर्ष) 

त ल्हो (घोडा वर्ष) 

लुग ल्हो (भेंडा वर्ष) 

प्रे ल्हो (बाँदर वर्ष) 

ज्ह ल्हो (चरा/कुखुरा/पन्छी वर्ष) 

खि ल्हो (कुकुर वर्ष) 

फा ल्हो(बँदेल वर्ष)

यी वर्षहरूको प्रतीक र नामकरण तामाङहरूको परम्परागत विश्वास र संस्कृतिमा आधारित छ । प्रत्येक वर्षका प्राणीले तामाङ समुदायका मूल्य मान्यता र दृष्टिकोणलाई प्रतिविम्बित गर्छ । यस्ता प्रतीकहरूले सामाजिक समन्वय र सामूहिकता प्रवर्धन गर्छ । तिनीले आत्मीयता र परस्पर विश्वासको अर्थ पनि बोकेका छन् ।

पाँच तत्त्वको प्रतीकात्मकता

तामाङ समुदायले ल्हो अर्थात् वर्षलाई पाँच तत्त्वको लिने गर्छन् । ती बाह्र ल्होहरूलाई माटो, फलाम, आगो, काठ र पानीको रूपमा वर्गीकरण गरिन्छ । यी पाँच तत्त्व तामाङ समुदायका धार्मिक विश्वास र जीवनका आधारभूत तत्त्व हुन् ।

साखम (माटो/पृथ्वी): पृथ्वीलाई तामाङ समुदाय सृष्टिको आधार र मातृत्वको प्रतीक मान्दछ । यो बिना जीवन अस्तित्वमा आउन सक्दैन ।

छ्याखम (फलाम): फलामलाई आत्मरक्षाको प्रतीक मानिन्छ । यसले मानव र प्रकृतिको रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

म्हे खम (आगो): आगोलाई जीवन र विनाशका दुवै पक्षको प्रतीक मानिन्छ । यसले मानव जीवनलाई नष्ट गर्न र प्रवर्धन गर्न सक्छ ।

सिंखम (काठ): काठलाई श्वास र जीवनको प्रतीक मानिन्छ । यो जंगल र प्रकृतिका तत्त्वको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

इ/छुखम (पानी): पानीलाई जीवनको प्रगति र स्वच्छता का प्रतीकका रूपमा पूजा गरिन्छ । पानी बिना जीवन असम्भव छ ।

तामाङ समुदायको विश्वास र परम्परामा प्रकृति र त्यसका स्रोतहरूको अत्यधिक सम्मान गरिन्छ । काठ, पानी र जंगललाई तिनीहरूको जीवनको अनिवार्य अंशको रुपमा मानिन्छ । यस समुदायमा काठलाई प्राकृतिक सौन्दर्य श्वासको रूपमा मानिन्छ जसले जीवनको अनिवार्य तत्व हावा र पानीलाई दिएको विश्वास छ । जंगललाई जीवन र शान्तिको प्रतीक मान्दै मानिसको श्वास पनि जंगलसँग जोडिन्छ । जंगलको हरियाली बिना मानिसको अस्तित्व असम्भव छ भन्ने विश्वास छ । पानीलाई पनि एक महत्त्वपूर्ण तत्त्वको रूपमा मानिन्छ जसले जीवनलाई शुद्धता र ताजगी प्रदान गर्छ । पानीबिना मानिसको जीवन असम्भव हुने भएकाले तामाङ समुदायले एक पवित्र तत्त्वको रूपमा पूजा गर्छ ।

साथै, तामाङ समुदायको परम्परामा प्राकृतिक स्रोतहरूको बीचका सम्बन्धहरूलाई पनि विशेष महत्त्व दिइन्छ । पानी र काठको विवाहको विशिष्ट विश्वासले तिनीहरूको जीवन र सांस्कृतिक मान्यतामा गहिरो संकेत दिन्छ ।

उदाहरणका लागि, पानी र काठबीचको सम्बन्धले वैवाहिक निर्णयहरूलाई प्रभावित गर्छ जसमा विशेष ध्यान दिइन्छ । तामाङ समुदायले प्रकृतिलाई दिव्य र पूज्य मान्छ जसमा काठ, पानी, फलाम, आगो र जंगल महत्त्वपूर्ण तत्त्वका रूपमा रहेका छन् । यिनलाई मानव जीवनका आधार मानिन्छ ।

ल्होछारको धार्मिक र सांस्कृतिक महत्त्व

ल्होछार पर्व तामाङ समुदायका लागि एक धार्मिक अनुष्ठानमात्र होइन बरु  सम्पूर्ण समाजको सांस्कृतिक एकता र भाइचारा को प्रतीक हो । यस अवसरमा तामाङ समुदायका सदस्यहरू एकत्रित भएर एकअर्कासँग शुभकामना आदानप्रदान गर्दछन् र एकता र प्रेमको महत्त्वलाई पुनः पुष्टि गर्छन् । ल्होछारको दौरान पारम्परिक गीत र नाच प्रस्तुत गरिन्छ, जसले तामाङहरूको सांस्कृतिक धरोहरको संरक्षण गर्छ ।

ल्होछार बाह्य र सामाजिक उत्सवमात्र होइन । यसले व्यक्तिगत र सामूहिक स्तरमा जीवनको गहिरो अर्थ र उद्देश्यको बारेमा सोच्न प्रोत्साहित गर्छ । यस्ता परम्परागत अनुष्ठानहरूले समग्र समुदायलाई सामाजिक दायित्व, शान्ति र करुणा संगत जीवनको महत्त्व याद दिलाउँछन् ।

विज्ञान र इतिहासको दृष्टिकोण

तामाङ समुदायका ऐतिहासिक र सांस्कृतिक आधारलाई पुरातात्त्विक प्रमाण र वैज्ञानिक अनुसन्धानबाट पुष्टि गर्नका लागि विभिन्न अध्ययनहरू गरिएको छ । उदाहरणको रूपमा, पुरातात्त्विक अनुसन्धानले काठमाडौं उपत्यकामा ३०हजार वर्ष अगाडि मानव बस्ती रहेको संकेत दिएको छ । यस प्रकारका अनुसन्धानले तामाङ समुदायको इतिहास र संस्कृति प्राचीन समयदेखि अस्तित्वमा रहेको प्रमाणित गर्छ ।

ल्होछार संवत् र मञ्जुश्री संवत्

ल्होछार संवत् वा मञ्जुश्री संवत् सम्बन्धी विषय सामान्यत: मिथक र ऐतिहासिक तथ्यहरूको मिलनको रूपमा प्रस्तुत गरिन्छ । विशेषगरी मञ्जुश्री संवत् २८६१ औं वर्ष भन्ने भनाइलाई वैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्दा, यसलाई केवल एक मिथक वा किंवदंतीको रूपमा मात्र लिन सकिन्छ । यो ऐतिहासिक प्रमाण र परिमाणको आधारमा पुष्टि गरिएको छैन । काठमाडौं उपत्यका वा नेपालको प्राचीन सभ्यता बारेमा यस्ता कथनहरू प्राय: विभिन्न सांस्कृतिक र धार्मिक विश्वासमा आधारित हुन्छन् जुन ऐतिहासिक प्रमाणहरूका आधारमा पूरा प्रमाणित गर्न कठिन हुन्छ ।

काठमाडौं उपत्यकामा प्राचीन मानव बस्ती र सभ्यता

जनकलाल शर्माको हाम्रो समाजको एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा प्राचीनतम मानव बस्तीको प्रमाणहरू पाइन्छ । लेनिनग्राड विश्वविद्यालयका पुरात्तात्त्विक डा. शेटेन्कोको पुरातात्विक अनुसन्धानले ई.पू. ३० हजार वर्ष पहिलेको ढुंगे हतियारको प्रमाणलाई उद्धृत गर्दै, तामाङ समुदायको प्राचीन बसोबासको कुरा पनि उठाइएको छ । यसले काठमाडौं उपत्यकामा प्राचीन मानव बसोबासको अस्तित्व र सभ्यता को प्रमाण दिन्छ । यस आधारमा, मञ्जुश्री संवत् र ल्होछार संवत् जस्ता अवधारणाहरूलाई वैज्ञानिक दृष्टिकोणले चुनौती दिन सकिन्छ ।

चोभार र रेडियोकार्बन डेटिङ (C14 dating)

चोभारको चट्टान र काठमाडौं उपत्यकाको अन्य भू-रचनाहरूको अध्ययन गर्दा, रेडियोकार्बन डेटिङ जस्ता आधुनिक वैज्ञानिक विधिहरूले यस क्षेत्रको पुरानो मानव इतिहासको वास्तविक आयु पत्ता लगाउन सहयोग गर्छ । पुरानो प्रमाणहरुको अनुसन्धान रेडियोकार्बन डेटिङको प्रयोगले चोभार डाँडाको पुरानो सभ्यताको पुष्टि गर्न सक्षम बनाउन सक्छ । विशेष गरी, माटो र बलुवालाई अध्ययन गर्दा प्राप्त हुने प्रमाणहरूले मानव बसोबासको प्राचीनता स्पष्ट पार्न सक्छ । यसले मञ्जुश्री संवतको पुष्टि गर्ने आधार निर्माण हुन्छ ।

किराँत वंश र यलम्बरहाङको शासन

प्रागैतिहासिकका राज्यहरु प्राचीन किराँत वंशको ऐतिहासिक महत्त्व र यलम्बरहाङको शासनको अवधिको कुरा पनि महत्त्वपूर्ण छ । किराँत समुदायको इतिहासलाई विश्लेषण गर्दा यसलाई धार्मिक वा सांस्कृतिक दृष्टिकोणबाट मात्र नहेरी ऐतिहासिक तथ्यको रूपमा हेर्नुपर्ने हुन्छ ।

५०८५ वर्षको अवधि, जसलाई किराँत समुदायले मनाउँदै आएको सापेक्षता र प्रमाणलाई स्पष्ट गर्न आवश्यक छ । पुरातात्त्विक प्रमाणहरूको अभावमा यस अवधिको ऐतिहासिक सत्यता प्रमाणित गर्न कठिन हुन्छ । तर त्यसका आधारमा सांस्कृतिक र ऐतिहासिक विश्लेषण गर्न सकिन्छ । अहिले किरांत समुदायले प्राचीन राजा यलम्बर संवत् ५०८५ औं वर्ष मनाएका छन् भने यलम्बर अगाडि महिषापल र गोपाल वंशले शासन गरेको इतिहास छ ।

ल्होछार तामाङ समुदायको सांस्कृतिक धरोहरको एउटा महत्वपूर्ण हिस्सा हो जसले समुदायको ऐतिहासिक र धार्मिक मूल्यहरूलाई उजागर गर्दछ । यो पर्वले तामाङ समुदायको सामाजिक र सांस्कृतिक धरोहरको संरक्षण गर्नुका साथै यसले समग्र समाजलाई एकता, प्रेम र शान्तिको महत्त्व सम्झाउँछ ।

प्रकृतिका पाँच तत्त्वहरूले मानव जीवनको सभ्यताको महत्वलाई दर्शाउने गरिन्छ र तिनीहरूको प्रतीकात्मकता तामाङ समुदायका जीवनका अभिन्न अंशका रूपमा निरन्तरता पाउँदैछन् । यस ल्होछार पर्वको वैज्ञानिक र ऐतिहासिक दृष्टिकोणले पनि तामाङ समुदायको प्राचीनता र सभ्यताको गहिरो प्रमाण प्रस्तुत गर्दछ । अझै ल्होछार पर्वको महत्त्वलाई सामाजिक र सांस्कृतिक प्रभावलाई अझै बढी बुझ्न राष्ट्रिय पर्वको रुपमा प्रवर्द्धन गर्न जरुरत छन् । सम्पूर्ण दाज्यूभाई दिदीबहिनीहरुमा २८६१ औं सोनाम डिल ल्होछारको हार्दिक शुभकामना व्यक्त गर्दछु । थुछेंजे ! जाबाडेम्बा !!

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro