काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनभन्दा अघि नै पार्टी एकता हुनुपर्ने आफूहरुको अडान यथावत रहेको बताएको छ । नेकपा एमालेले भने आज बस्ने स्थायी कमिटीको बैठकले निर्णय गर्ने बताइएको छ ।
एमालेको स्थायी कमिटीको बैठक दिउसो एमालेका नेता वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दैछ ।
हालसालै सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले पार्टी एकताको कामलाई टुङ्गोमा पुर्याएपछि मात्र सरकार गठनको कामलाई अगाडि बढाउनुपर्ने आफूहरुको अडान कायमै रहेको बताएको छ ।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता संयोजन समितिको नयाँ बैठकले पार्टी एकता र सरकार गठनको कामलाई अगाडि बढाउने बताए ।
वरिष्ठ नेता श्रेष्ठले बाह्रखरीसँग भने, “निर्वाचन पछाडि पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । एमालेको स्थायी कमिटीको बैठक पनि बस्दैछ । हाम्रो त गत ३ गते बैठक बसिसक्यो । पार्टी एकता संयोजन समितिको बैठक राखेर पार्टी एकताको एजेन्डाका बारेमा छलफल हुन्छ । हामीले सरकार गठनभन्दा पहिले पार्टी एकता हुनुपर्छ भनेका छौं ।”
उनले सम्भावना कम भए पनि खाका तयार पारेर एकतालाई सुनिश्चित बनाएर सरकार गठन प्रक्रियातिर जान सकिने धारणा राखे ।
“सरकार गठनको प्रक्रिया पनि रोकिन मिल्दैन, सरकार गठनको प्रक्रिया अगाडि आइपुग्यो भने पार्टी एकता भएको छैन भनेर मात्रै पनि अडान लिनुहुँदैन,” उनले भने ।
उनले पार्टी एकता पहिला भएमा सरकार सञ्चालन गर्न सहिलो हुने विचार व्यक्त समेत गरे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य मणी थापाले एमाले र माओवादी केन्द्रलाई सरकार बनाउनभन्दा पनि पार्टी एकताको लागि बहुमत दिएको भन्दै पार्टी एकताको कामलाई टुङ्गोमा नपुर्याई सरकार गठन गरे जनताले पार्टी एकतामा शंका गर्ने बताए ।
“हामीलाई नेपाली जनताले पार्टी एकताको लागि बहुमत दिएका हुन् सरकार गठनको लागि होइन । त्यसैले पार्टी एकताको कामलाई टुङ्गोमा पुर्याएर मात्र सरकार गठनको कामलाई अगाडि बढाउनुपर्छ,’’ माओवादी केन्द्रका नेता थापाले बाह्रखरीसँग भने, “पार्टी एकताको कामलाई टुङ्गोमा नपुर्याई कुनै पनि हालतमा सरकार गठन गर्नुहुँदैन । हामीले जनतालाई चुनावी तालमेल लगत्तै पार्टी एकता गर्ने भनेका थियौं । सरकार गठन होइन । जनतालाई संशय पैदा हुने काम दुवै पार्टीले गर्नुहुँदैन । सरकार गठन र पार्टी एकताको विषय फरक हो ।’’
उनले नेपालका कम्युनिष्टहरु एक हुन भनेर नै एमाले र माओवादी केन्द्रका साझा उमेदवारहरुलाई देशैभरी नेपाली जनताले जिताएको जिकीर समेत गरे । थापाले भने, “नेपालका कम्युनिष्टहरु एक हुन भनेर नै जनताले हामीलाई बहुमत दिएका हुन । अब दुवै पार्टी एक भइ देशमा स्थिर सरकार र विकास दिनुपर्छ ।’’
नेकपा एमालेले भने आज बस्ने स्थायी कमिटीको बैठकले टुंगो लगाउने भएको छ । माओवादी केन्द्रको बैठकपछि पहिलोपल्ट एमालेको स्थायी कमिटीको बैठक बस्न लागेको हो ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन र पार्टी एकता सँगसँगै हुने बताएका थिए ।
सातबुँदै दुवै पार्टीले मान्नुपर्छ
नेता थापाले अध्यक्ष र प्रधानमन्त्रीको पदको टुङ्गो असोज १७ गतेको ७ बुँदेमा नै भइसकेको भन्दै दुवै पार्टीले पदको विषयमा किचलो गर्न नुहने बताए । उनले भने, “प्रधानमन्त्री र पार्टी अध्यक्ष पदको विषय त असोज १७ गते नै भइसकेको थियो । अहिले मिडियामा आएको कुरा सबै हल्ला हो । एमालेले ठूलो पार्टीको नाताले तीन वटै पदको लोभ गर्न मिल्दैन । असोज १७ गतेको सात बुँदेमा प्रष्ट रुपमा उल्लेख गरिएको छ । असोज १७ गतेको सातबुँदेलाई दुवै पार्टीका नेता तथा कार्यकर्ताले आत्मसात गर्नुपर्छ ।”
उनले पार्टी एकता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको समेत बताए ।
फाइल तस्बिर रासस